१२ असार २०८१ बुधबार
image/svg+xml
कला

देवसागरका अधुरा चित्र

उनी सानै उमेरदेखि चित्र बनाउँथे। सादा काजगमा रंगीविरंगी चित्र कोर्थे। चित्रकला उनको जीवन जिउने सहारा पनि बन्यो।

२८ वर्षको उमेरमा आँखाको ज्योति गुमेसँगै उनको जिउने सहारा गुमेको छ। १२ वर्षदेखि देवसागर लामाका चित्र मात्र हैन सिंगो जीवन अपुरो बनेको छ। ‘आँखाको ज्योति गुमेसँगै कुची मात्र हैन जिउने सहारा पनि गुम्यो,’ भक्तपुरको सूर्यविनायकस्थित डेरामा रहेका लामाले भने, ‘यी अपुरा चित्रहरू अब कहिल्यै पूरा हुने छैनन्।’

भक्तपुरमा चिउरा कुट्दै गरेका नेवार महिला, जापानको प्रसिद्ध तोयामा क्यासल, नेपालको समग्र भूगोल चिनाउने चित्रलगायतका उनका केही अपुरा चित्र हुन्। ‘कुनैमा अनुहार बनाउन बाँकी थियो, कुनैमा मान्छे देखाउन बाँकी छ,’ उनले भने, ‘अधुरा चित्रमा के कमी छ थाहा छ। तर, त्यो कमी पूरा गर्न भने सक्ने छैन।’ लामाले २०५७ सालदेखि क्यानभासमा विभिन्न खाले चित्र बनाएर बेच्थे। चित्र बेचेर पेट भर्दै आएका उनको २०६७ सालमा आँखाका ज्योति गुमेको हो। ‘यसबीचमा थुप्रै चित्र बनाएर बेचे,’ उनले भने, ‘तर केही चित्र घरमा त्यत्तिकै थन्किएका छन्।’

चित्र कोर्न नसके पनि मनको क्यानभासमा कल्पनाको आकृति बनाउन भने कहिल्यै नछाडेको उनले सुनाए। ‘हरेक क्षण मनमा चित्र जन्मन्छ,’ उनले भने, ‘त्यो चित्र आफैं नियाल्छु र मनभित्रै हराउँछ।’ उनलाई जीवन पनि सिंगो क्यानभास जस्तो लाग्छ। प्रकृतिले कोरेका दुखसुखका आकृतिले यी क्यानभासहरू भरिएको उनी सुनाउँछन्। ‘मेरो मनको क्यानभासमा दुखको रंग बढी घोलिएको छ,’ उनले भने ‘जीवन सहज होला भन्ने आशमा अगाडि बढ्दै छु।’

आँखाको ज्योति गुमेपछि केही समय त चरम अभावमा जीवन गुजारेको उनले सुनाए। ‘घर पुग्ने बाटो मात्र हैन, जीवन अगाडि बढाउने गोरेटो पनि भेटिन्, उनले भने, ‘जीवन साथीको सहयोगले अहिले केही सुधार भएको छ।’ उनीहरू पती–पत्नी मिलेर फुटपाथमा कपडा पसल राखेका छन्। ‘यसैबाट सन्तानको पढाइ खर्च जुटाउँदै छौ,’ देवले भने, ‘जीवनमा केही उज्यालो भएको महसुस हुँदै छ।’ अम्बिका तामाङसँग २०६५ मा वैवाहिक जीवनमा बाँधिएका देवका अढाई वर्ष र १२ वर्षका दुई सन्तान छन्।

आँखाको ज्योति गुम्दा ६ महिनाकी छोरी जेसुम त (गहना) अहिले १२ वर्षकी भइसकिन्। उनको अर्को छोरो डेसाङ (स्वागतम) अढाई वर्षको भए तर उनले ती सन्तानलाई समेत नियाल्न पाएका छैनन्। उनले जोसिँदै भने, ‘यो दुनियाँमा आफ्नो मुटुको टुक्रा हेर्नै नपाउनेमध्ये म पनि एक हुँ। जिन्दगीको बाटो सोचेजस्तो सरल हुँदैन रहेछ। यद्यपि अनेक कुइनेटाहरू छिचोल्दै अगाडि बढ्नुमै जिन्दगीको सार्थकता भेटिँदो रहेछ।

चिकित्सकले आँखाको नशा सुकेकाले दृश्य गुमेको भन्ने जवाफ दिएको उनले सुनाए। ‘विगतमा केही ठाउँमा आँखा बनाउने प्रयास गरेको हुँ,’ उनले भने, ‘तर अस्पतालले अब सकिन्न भन्ने जवाफ दिएपछि चुप लागेर बसें।’ उनलाई थाहा छ अब आँखाको ज्योति फर्कने सम्भावना निकै कम छ।

त्यसैले उनी सन्तानलाई शिक्षाको ज्योति दिन लागिपरेका छन्। ‘छोरीले गलामा ‘स्टेथोस्कोप’ लगाएर मेरो आँखा जाँच गर्दे गरेको दृश्य अहिले मेरो मनको क्यानभासमा कोरिरहेको छ,’ उनले भने, ‘आशा गर्छु यो चित्रचाहिं अधुरो रहने छैन।’

प्रकाशित: २६ माघ २०७८ ०६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App