२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

अलेना

लघुकथा

प्रेम पुन मगर

बाध्यताको अगाडि कसको के लाग्दो रहेछ र। हामी जहानपरिवार चार जना त्यो पनि चार ठाउँमै छुट्टिएर बसेको धेरै भएको थियो।

बल्ल अस्ति बडा दशैंमा दाजुभाउजूको हातको टिका थाप्न  जन्मघर गयौं।

आधा उमेरसम्म न्यानो दिएको हाम्रो जन्मघर विचरा  खण्डहरमा परिणत हुँदै थियो। बारीहरू पूरै जंगल भएका थिए।

मेरी आमाले लुगा झुन्ड्याउने गरेको अलेना भित्तामा अझै थियो। घर छोड्दा भएका सामानहरू–फडुवा, फाली, कोदालो, बञ्चरो, खुकुरी, छिना, झिर, कर्द, आँसी, दँराटी, आरी, मार्तोल, सानो हाते घन सबैमा खिया लागेको रहेछ।

यो देखेर म भावुक भएँ। तैपनि मन अन्यत्र मोड्न मैले हतारमा भनें, ‘ओह, आमाको अलेना अझै चुँडिएको रहेनछ नि!’

यो सुनेर छोराले भन्यो, ‘खोई बाबा अलेना?’

म बोल्न नपाउँदै छोरीले छक्क पर्दै सोधिन्, ‘बाबा, के अलेना भनेका के हो?’

भित्तामा लामो गरी टाँगिएको पुवा (सिस्नुको  बोक्रा, अल्लो) बाट बाटिएको (जिउरो) डोरीलाई सिकाउँदै मैले भने, ‘यी यो के त!’

मेरो कुरा सुनेर छोरोले भन्यो, ‘ए, यो त डोरी हो नि! कहाँबाट हुनु अलेना।’

‘यसैलाई ठेट भाषामा अलेना भन्छन् नि। खासमा यस्ता ठेट भाषा त धेरै छन्। तिमीहरूले जान्दैनौ होला!’

मैले भन्दै गएँ, ‘यी हेर, यो मैले बनाएको हँसिया (आँसी) राख्ने खुर्पेटो, यो अन्न ल्याउने थुन्से, यो साना सामान राख्ने फुर्लुङ, यो केही काँचो चिज सुकाउने पेरुँगो, यो कुखुरा राख्ने झेरुँगो, यो औषधिजन्य जडीबुटी जस्तै सिलाजित चिप्लेकिरा, चिराइतोको धुलो,  बिरे नुन, हिङ, मह जस्ता सामान राख्ने कोर्की, यो बिस्कुन सुकाउने मान्द्रो, यो अन्न सुकाउने  झापा, यो लामो समयलाई अन्न भण्डार गर्ने भकारी, यो जुवामा राख्ने सोइला, यो ठुला सामान र लत्ताकपडा राख्ने मदुस, यो मही मत्थने मदानी, यो सेल रोटी झिक्ने झिर, यो घिउ राख्ने भुट्नेरो, यो मुसा समात्न प्रयोग हुने मुसेउरो, यो देउदेवतालाई बत्ती बाल्ने पाला...।

त्यतिकैमा भारी मन सहित धुलो बढाल्दै गरेकी उनले भनिन्, ‘लल सबै सफाइमा  लाग त, बल्ल जम्मा भएर आएको समय छ।’

छोराछोरीले भने, ‘हे भगवान्, हामी पुर्ख्यौली घर आएका हौं कि दुनियाँको अर्कै कुना?’

प्रकाशित: २२ माघ २०७८ ११:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App