२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

जिउँदो हुँदा नहेर्ने सन्तान मरेको दिन हेर्न आउनेछन्

मुक्तक

क्याप्शन

निर्मलरमण पराजुली

    १) मुक्तक

देश छोडेर विदेशतिर पाइलाहरू चाल्दैछु म,

पसीना बेचेर परदेशमा घरको चुल्हो बाल्दैछु म।

चर्को घाम जोखिम काम साहुको गाली खाँदै,

वर्षौंदेखि यसैगरी जहानबच्चा पाल्दैछु म।

     २) मुक्तक

सालैपिच्छे यताउति भन्दै उमेर गन्दागन्दै,

आफ्नै आयु घटिराछ आजभोलि भन्दाभन्दै।

पत्तो छैन कहाँ अनि कतिबेला प्राण जाने,

बिदा हुनुपर्छ एकदिन, जिउने बाटो खन्दाखन्दै।

     ३) मुक्तक

जिउँदो हुँदा नहेर्ने सन्तान मरेको दिन हेर्न आउनेछन्,

सबै जना भेला भई वरिपरि मलाई घेर्न आउनेछन्।

बाँचुञ्जेल एकैसरो टालोसम्म नदिने सन्तानहरू,

जनैको साँचो खोज्ने निहुँमा कात्राले बेर्न आउनेछन।

     ४) मुक्तक

भोक लाग्दा खाना छैन, छैन बस्ने घर,

घाम अस्ताउँछ राति हुन्छ, लाग्न थाल्छ डर।

बाबुआमा छैनन् मेरा माया गरी पाल्ने,

मेरा लागि सडक बाहेक छैन केही भर।

      ५) मुक्तक

निष्पट्ट यो जिन्दगीमा, तिम्ले प्रेमदीप बालेपछि,

मेरो साथमा सँगै जिउन, तिम्ले पाइला चालेपछि।

कति खुसी भयो जीवन,भनी साध्य कहाँ छ र,

मेरो घरमा तिम्रा हातका, चुरा बज्न थालेपछि।

प्रकाशित: २२ माघ २०७८ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App