लक्ष्मीप्रसाद पौडेल
१) मुक्तक
उठाउनु छ आफ्नो बोझ आफैं अरूको के भर पर्नु यार,
कमाउनु छ चार आना जग्गा बाबुको के भर पर्नु यार।
इमानदारीले जोडिंदैन सम्पत्ति भन्नेलाई देखाउनु छ,
सुका जोड़े रुपैयाँ बन्छ बेइमानी पो के छ र गर्नु यार।
२) मुक्तक
उमेर बढ्दै जाँदा केही हुन्छ भन्ने सरोकार थियो,
कतिखेर आयो गयो बालापन निराकार थियो।
यौवन खोज्दै बित्यो यौवनको आकार आफ्नै जस्तो,
उस्तै साँचो मिल्यो मिलेन अनेक थरी परिकार थियो।
३) मुक्तक
इँटा निस्कियो भट्टाबाट गिलो माटो पाक्यो पाकेन,
आकाश छोयो केटै थियो तर मान्छे बाँच्यो बाँचेन।
चैत्रसितको हुरीले वर्षका पानाहरू त फर्कायो,
सम्झनलायक केही सुनौलो अक्षर कुँद्यो कुँदेन।
४) मुक्तक
थियो ऊ भनेर कुनै माला बुन्यो कसैलाई लगायो कि,
ज्ञानको कुरा मनले मात्रै गुन्यो कसैलाई पढायो कि।
बिलाउँछ एकदिन बाँच्छ उसको नाम सबै यस्तै भन्छन्,
नाम बाँच्ने कुनै काम जगले देख्यो कसैलाई देखायो कि।
प्रकाशित: २० माघ २०७८ ०७:४६ बिहीबार