२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

माइलाको छोरो

लघुकथा

कोषवल्लभ रेग्मी

खड्किनी बजैका तीन छोरामध्ये जेठो पहिला नै मास छर्न गएको थियो।

माइलो र कान्छालाई हुर्काइबढाइ गरिन्। पहिला माइलाको बिहे भयो। त्यसको वर्ष दिन नबित्दै कान्छाले पनि जोडी बाँध्यो।

दाजुभाइको त राम्रै मिल्ती थियो तर अर्काका छोरीहरू मिल्न सकेनन्। आखिर बेग्लाबेग्लै बस्नुपर्ने भयो। कान्छालाई बजैले रोजिन्। माइलो नै निस्कनुपर्ने भयो। आँगन पल्लापट्टि झुप्रो बारियो र त्यतै बस्न थाल्यो।

समय बित्दै गयो। माइलाको छोरो ‘सोमे’ आठ लागेको थियोे भने कान्छाको छोरो पनि महिनाले मात्रै कान्छो थियोे। सँगै पढ्न जाने र खेल्ने गर्थे।

एक दिन बजै बजार जान तयार भइन्। उनले कान्छाको छोरालाई पनि साथै लाने विचारले भनिन्,‘ए नाति, तँ पनि तयार हो बजार जान!’

बजैका कुरा सुनेर नाति भिमे फुर्कियो र उफ्रिंदै उसको दौतरी सोमेलाई भन्यो, ‘एई, म त बजार जाने बजैसँग। तँ पनि हिंड्।’

‘जानेजाने’भन्दै सोमे पनि फ्याङ्ले गन्जी भिरेर दौडियो।

बजैले परै टक्टक्याइन्,‘तँ जानू पर्दैन। भिमे मात्रै जान्छ।’

‘आ,आमा जाओस्। रहर गरिहाल्यो। भिमेसँगै जान्छ र आउँछ नि।’ माइलाले सोमेलाई जग हाल्यो।

बजै केके भुत्भुताउँदै थिइन्। सोमे र भिमे अघि लागिहाले।

बाटामा बजैले चक्लेट किनिन्। उनले नाति भिमेलाई एक मुठी दिइन्।

–पैसा ल्याको छस्?

‘अहँ’ सोमेले मुन्टो हल्लायो।

‘ला खा!’ बजैले २ वटा चक्लेट सोमेको हातमा दिंदै भनिन्, ‘कस्तो बाउ रहेछ! दुईचार रुप्पे त दिएर पठाउनुपर्छ नि।’

बेलुकीपख फर्कने बेलामा गैराघरेले सोधे, ‘यी ककसका छोरा हुन् दिदी?’

खड्किनी बजैले सोमेपट्टि हेर्दै भनिन्, ‘यो मलाई दुख दिन आएको नि माइलाको छोरो अनि योचाहिँ मेरो नाति।’

गैराघरे जेठाले के कुरा बुझेर हो लामो सास फेर्दै अर्कापट्टि फर्किए।

प्रकाशित: २० माघ २०७८ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App