२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

साकुरामा पलाइरहेका ऐंजेरुहरू

नियात्रा

डा. दामोदर पुडासैनी ‘किशोर’

तिमीलाई भेटेपछि पलाउन थालेका छन् फरक सोच जिन्दगीका केस्रा केस्राहरूमा।

मेरो अचेतन मनले धेरै अघिदेखि खोजिराखेको रहेछ शायद तिमीलाई र तिमी जस्तैलाई।

शान्त छ्यौ। शीतल छ्यौ। जता हेर्‍यो त्यतै मुस्कुराइरहिछ्यौ। अरूले दुःख र पीडा भनेकालाई पचाइरहिछ्यौ। आग्रह छैन। पूर्वाग्रह छैन। घाम जस्ती छ्यौ, भर्खर झुल्केकी। जून जस्ती छ्यौ, शारदी पूर्णिमाकी। पसिनाका धाराझैं सफा नदी र झरनाहरू बगिरहेछन्। काखकाखमा चलिरहेछन् अर्गानिक बयेलीहरू । छुन सकेका छैनन् विकासे बहानाका विकृतिहरूले।

जन्मजात प्राकृतिक, जीवनभर अर्गानिक। त्यसैले मरिमेट्न थालेको छु म, तिम्रो चाहनामा।

सोझी छ्यौ, सिधा छ्यौ, निरपेक्ष छ्यौ र टाढा छ्यौ अनुवर्तनबाट। जन्मेपछि केही पनि प्राकृत नभेट्ने आजको जमानामा तिमीजस्ती अर्गानिक प्रेयशी पाउँदा सिमाना भत्केका छन् मेरा रङ्गीन खुशीहरूको।

आत्तुर छु म तिम्रा जिन्दगीका रेखा र रङ्गका राजलाई निरूपण गर्न।

छोटो समयको संगतमा पनि निरव्ययी प्रेमिका मानेको छु मैले। तिम्रो अनुपम आनिबानीले बिस्तारै पग्लिंदै गएका छन् मेरा घोर निराशाहरू। सबलभन्दा बढी निर्बलसँग, सम्बृद्धभन्दा बढी विपन्नसँग र खुशीका बगैंचाहरूमा मुस्कुराइरहेकाहरूसँग भन्दा बढी घोर दुःखमा फसेकाहरूबाट धेरै कुरा पाउन सकिन्छ संसारमा। तिमीलाई भेटेपछि अनुभूति हुन थालेको छ मलाई त्यो प्रदेशको पनि।

राज्यको आँखा नपरेका तिम्रा कित्ताकित्ता अस्मिताहरू नियाल्दैछु म चाखपूर्वक।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छु म। जिल्लाका नेताहरूको जमघट छ। कार्यालय प्रमुखहरूको उपस्थिति छ। सिडिओ सावलाई पार्टी खुवाउने तालिका बनाउँदैछन् कार्यालय प्रमुखहरू, सिडिओको आशीर्वाद आफूमा झरोस् भन्दै धूप–धूवाँर गर्दैछन् नेताहरू। कुखुराको अण्डा, डालेचुकको सर्बैत, कोेदाको एकपाने, फापरको पीठो, शुद्ध शिलाजीत यस्तैयस्तै खोलिंदैछन् कोसेलीहरू। गमक्क छन् सिडिओ साब। उनी नेताहरूलाई पुलिसको बल देखाएर र कर्मचारीहरूलाई अख्तियारको धाक  फिँजाएर आफूलाई बलशाली सावित गर्न न्वारनदेखिको बल निकालिरहेछन्। सिंहदरबारको मिचाहा प्रवृत्ति त्यो अनकन्टारमा झांगिएको छ अझ बेसरी।

ढोकाबाट एउटा मान्छे चारहात खुट्टा टेक्दै भित्रियो। मान्छे कम जनावर बढी देखिंदैथ्यो ऊ। उसले मुखमा घाँस च्यापिरहेथ्यो र पिठ्यौंमा बडेमानको ढुङ्गा बोकिरहेथ्यो। उसको आङमा भेडाका भुत्ला जस्तो कपडा र सुरुवाल थियो। ती दुवै यति टालिएका थिए कि  खास कपडा कुन हो चिन्न मुस्किल पर्थ्यो। अन्दाजी सत्तरी वर्षको लागेको थियो मलाई। वास्तविक उमेर चालीस बतायो उसले। उसले जन्मेदेखिनै ननुहाएको जस्तो देखिन्थ्यो, शरीरमा जमेका फोहोरका टाटा देख्दा। क्पाल पनि जीवनभर काटेको जस्तो लाग्दैनथ्यो। लट्टा परेको कपाल हुरीपछिको सिरुपाखो जस्तो देखिन्थ्यो। अनिद्राका धब्बाहरूले चुसेजस्तो देखिन्थ्यो उसको अनुहार।

‘प्रभु, मेरो ‘मस्टा’, म अन्यायमा परें, मेरो सर्बैस्व गुम्नेभो’ ‘न्याय बक्सियोस्’-सिडिओको पाउँ समात्यो। उसको आँखाबाट झरेको आँसुभेलले भुईंको सल्लाको काठ भिजेर रातो देखियो।

‘के अन्याय पर्‍यो तँलाईं?’-जनता जनावर र आफू भगवान् ठान्दै कुर्लिए सिडिओ। दम्भका पहाडहरू दह्रा बनेर उठिरहेथे कोठाभरि।तीन दिनअघि भेडा चराउने निहुँमा गाउँको ‘धामी’सँग झगडा परेछ उसको। मस्टोलाई भनेर ऊ र उसका सारा परिवार नष्ट गराइदिने र उसको घर बारी र भेडा चौंरी नास पारिदिने बताएछ धामीले।

‘मस्टो र धामीलाई त्यसो नगर्न भनिदिनुपर्‍यो हजुरले, नत्र म बरबाद हुने भएँ’-बलिन्द्रधारा आँसु बगाउँदै रोयो बिचरा। डाँडाफयाको ठकुरी रहेछ ऊ।

‘झगडा किन गरेको त तैंले?’- पिटौंला जसरी झम्टिए सिडिओले। ऊ आत्तिएर काम्न थाल्यो थुरथुर।

‘ओहो, डाँडाफयाको धामी त सारै कडा छ। ऊ रिसायो भने मस्टा लगाएर जे पनि गर्न सक्छ’- बरगाउँको एउटा काङ्ग्रेसी नेता बोल्यो।

देवताको आडमा गाउँका टाठाबाठाले शोषण गर्ने परम्परा देख्दा चकित भएको छु म।

‘कहाँ धामीले जे मन लाग्यो त्यही गर्न सक्छ, डराउनु पर्दैन’- मैले उसलाई तानें र कुर्सीमा बस्न आग्रह गरें। ऊ कुर्सीमा बस्न मानेन। भुईंमै बसिरहयो।

‘सक्छ हजुर ऊ रिसायो भने जे पनि गर्नसक्छ, उसले गाउँका धेरै मान्छेलाई भेदिसकेको छ’- आफ्नो विश्वासमा टसमस भएन ऊ।

‘म पनि त्योभन्दा ठूलो धामी हुँ। धामीले केही बिराम गर्न सक्तैन तिम्रो। गाउँ फर्क र आनन्दसँग बस। झगडा गर्नु भने राम्रो होइन’- म बोलें।

उसले मेरो कुरा विश्वास गरेन। ‘बडासापहरू अर्कालाई सधैं दिल्लगी गर्छन्’- ऊ बोल्यो। उसको सोचाइमा सिडिओले मात्र समाधान गर्न सक्छन् सबै कुरा।

‘केही गर्देऊ साप’- सिडिओ अघिल्तिर फेरि शिर निहुर्‍यायो उसले।

‘ठीक छ, धामी र मस्टो दुवैलाई तिम्रो केही नबिगार भनुँला, केही बिगारेमा धामीलाई थुनिदिन्छु म केही चिन्ता लिनु पर्दैन’- आश्वस्त पार्ने वाक्य बोले सिडिओले।

बल्ल विश्वास मान्यो। कुर्नेस गर्‍यो सिडिओलाई। पछि हट्दै-हट्दै बिदा भयो ऊ।

चेतना र प्रविधिले संसार अर्कै बनिसक्यो। तिमी भने अझै धामी र मस्टोको जालमा अल्झिरहिछ्यौ।

तिम्रो त्यति गहिरो सुधोपन कल्पनाभन्दा बाहिरको भेटिरहेछु मैले।

‘सर, जाऔंजाऔं पैंसठ्ठी नम्बर बङ्करमा पसौं’- सिमकोट एयरपोर्टमा हतारहतार हिंडिरहेका भेटिए दुई कर्मचारी।

‘किन, के भयो र सिमकोट हान्ने केही सूचना आयो कि कसो?’ एउटा दुर्घटनाको आशंका जन्मियो ममा। कालोनीलो भएँ म। कतै माओवादी आक्रमणको शिकार बन्न लागियो कि भन्ने डर मडारियो मनभरि।

‘होइन-होइन, त्यस्तो होइन मोज मस्ती गर्ने बङ्कर क्या’- मलाई सम्हाल्न खोजे एक कर्मचारीले।

सिमकोटका होटलहरूलाई फोन नम्बरको अन्तिम दुई अङ्कका आधारमा  होटललाई बङ्कर नम्बर दिंदारहेछन् कर्मचारीहरू। होटलभित्र छिरेपछि खान, पिउन, बस्न, छिल्लिन सबै पाइने भएकाले बङ्कर नाम दिएका रहेछन्। दिउँसैदेखि जिल्लाका ठूलादेखि सानासम्मका प्रायः सबै कर्मचारी पालो मिलाईमिलाई कुनै न कुनै बङ्करमा छिर्ने रहेछन्।

‘पिउने बानी छैन, मासु पनि चल्दैन भो बङ्करमा नपसुँ होला’-तर्कन खोजें म।

‘जिल्लाका सबै कर्मचारी भेट हुन्छ, कत्ति मरिमेट्नु हुन्छ सर काम भनेर रातमा पनि, अघिपछि त गर्नु भएकै छ नि जाउँ आज’-कसिलो आग्रह गरे एक लेखापाल मित्रले।

बङ्करभित्रको संसार पनि बुझ्नु थियो मलाई। हामी बङ्कर नम्बर पैंसठ्ठीभित्र छिर्दा जिल्लाका प्रशासन, प्राविधिक, सुरक्षा, लेखा सबै समूहका कर्मचारीहरूले खचाखच भैसकेको रहेछ। बाहिर सानो दूलो जस्तो ढोकाभित्र छिरेपछि भित्र मझेरीमा आगो बलिरहेको भेटियो। वरिपरि कुर्सी, मुडा र भुईंमा बगे्रल्ती छरिइरहेथे कर्मचारीह। हरेकको हातमा रक्सीको ग्लास थियो । सबैजना चैते हावाले हल्लाएको बैंसका हाँगा भैसकेका थिए।

‘आप्पोई, यो सार ता यतिका दिनपछि पो आयो हाम्रो होटलमा, यता बास्नुुस सार’- म सिमकोट पुगेको दिन थाहा पाइसेकेकी रहिछन् साहुनीले। जिल्लामा को कर्मचारी आयो, के गयो, कसले के गरिरहेछ, त्यो सबै जानकारी हुने रहेछ होटल साहूनीहरुलाई।

जिल्लाका उच्च पदस्थ कर्मचारीहरू अँगेना वरिपरि घेरामा, त्यसबाहिर अधिकृत कर्मचारीहरू, त्यस बाहिर राजपत्र अनङ्कित कर्मचारीहरू र त्यसबाहिर कार्यालय सहयोगी एवं रातका पालेहरू बस्ने चलन रहेछ होटलभित्र। मलाई पनि अँगेना नजिकै बसाइन् साहुनीले।

‘के ल्याऊँ सार, लोकल ल्याऊँ कि, चाइनिज ल्याऊँ कि, विदेशी?’

‘म त त्यस्तो पिउँदिन। चिया बनाइदिनुस् एक कप।’

‘सार पनि कास्तो जिस्किने राइछ, बेल्का पनि चिया खान बाहुला कुकुरले टोकेको छा र?’

‘साँच्चै हो, म रक्सी पिउँदिन।’

‘अनि सितनचाहिं के खाने त याकको भुटुवा कि कुखुराको सेकुवा?’

‘म त मासु पनि खान्न बरु बन्दा फ्राइ गरिदिनुस् न।’

‘लौ यो सार त आचम्मकै रै’छ, मालेखाको सार रे ना राक्सी खाने ना मासु। यस्तो मान्छे जिल्लामा हिंड्नु पानि बेकार छा। पोहोर आउने मालेखाको सार त कास्तो माजाको थियो। काहिले त दिनरातै एकै ठाउँमा बासेर पिइरहन साक्ने। एक बासाईमा दुई बोतल राक्सी त सिनित्त पाथ्र्यो बिचरा। यसपालि आउँदैन त्यो सार?’ पारार आउने दुई जना त त्योभन्दा आझ मज्जाको थियो। जाने बेलामा मलाई बक्सिस मात्र बाह्र हजार दिएका थिए  उनीहरूले। कायौं रात त मेरै होटलमा सुते। उनीहरू झन् कत्ति मज्जाका।’ साहुनी अलि रिसाइन् मसँग।

रक्सी, मासु केही नलिएपछि होटलको व्यापार नास्ति । बन्दा र चिया बेच्दा दुःख मात्रै हुने फाइदा नहुने, अनि किन नरिसाउन् उनी। महालेखाका लेखापरीक्षकहरू जिल्ला पुगेपछि रक्सी र मासुको छेलोखोलो चल्छ, होटलहरूमा बिलको तङ्गिन बढ्न थाल्छ। त्यसले जिल्लामा खुसीयाली बढ्छ भन्ने राम्ररी बुझेकी रहिछन् साहुनीले। म जस्तो ग्राहक उनका लागि बाढीले बगाएको पत्करभन्दा बेकम्मा हुनु स्वाभाविक नै थियो।

‘यस्तो जिल्लामा तीनधर्के सर खटाउनचाहिं नहुने हो महालेखाले पनि।’- झुम्मनवीरहरूमध्ये एक बोले। माछामासु नखाने वैष्णवहरूले तीनधर्के टिको लगाउने भएकाले त्यसो भन्दा रहेछन् उनीहरू।

‘देखिहाल्नु भो’ सर हुम्लामा आगोले पोल्दैन, हिउँले पोल्छ। जाडोमा त माइनस पच्चीस डिग्री खप्नुपर्छ। जता हेर्‍यो त्यतै हिउँ। जता टेक्यो त्यतै हिउँ। हावामा हिउँ। घाममा हिउँ। हिउँबाट बच्न पनि त चाहियो नि ‘आराक’ - अर्का झुम्मनले अर्को एक ग्लास सुठ्ठयाएर र साहुनीको पुठालाई औंलाले गिजोल्दै सोधे- ‘कि कसो ‘आँगा?’

त्यो झुम्मन समूहको सदस्यता मैले पनि नलिई नहुने तर्क धुवाँधार ओर्लिरहेथ्यो त्यहाँ।

‘हेर्नुस् सर, ‘डी’ एरिया’मा कोच्चिनुपरेको छ। ‘सी’ एरियामा टेकियो भने उतैबाट माओवादीले कहाँ पुर्‍याउँछन् थाहा छैन। कुन बेलामा ‘डी’ एरियामा पनि माओवादी पसे भने ज्यान त गयोगयो अहिलेसम्म कमाएको पनि सबै नबुझाई सुखै छैन। पैसा बुझाउने र माओवादीलाई सहयोग गर्ने नत्र हदैसम्मको कारबाही गर्ने धम्की त कति आइसक्यो कति। यता माओवादीलाई सहयोग गर्‍यौ भने जागिर खोसिदिन्छौं भन्दछन् सिडिओ र डिएसपी तर उनीहरू नै माओवादीलाई लुकीलुकी आर्थिक सहयोग गर्छन्। माओवादीले केही गरे आफूले थाहा नपाएको बहाना गर्छन्।

कुन बेला सरकारी सेनाको गोलीको निसाना बन्नुपर्ने हो कि माओवादी छापामारहरूको बारुदको छर्रामा शरीर छिन्नभिन्न पर्ने हो केही ठेगान छैन। बाँचुञ्जेल केको टेन्सन, मजासँग रक्सी धोक्यो, छोट्टी च्याप्यो र यस्तो दुर्गममा पनि पीर लिएर बाँच्ने हो र?’ आधा ग्लास सुरपानी घुट्क्याए एक मित्रले। उनी निकै अघिदेखि आगो ताप्ने बहानामा एउटी छोट्टीलाई गिजोलिरहेका थिए। माओवादीहरूले सरकारी प्रशासन बस्ने सिमकोट एरियालाई ‘हेर्नुस् सर, ‘डी’ एरिया’मा कोच्चिनुपरेको छ। ‘सी’ एरियामा टेकियो भने उतैबाट माओवादीले कहाँ पुर्‍याउँछन् थाहा छैन। कुन बेलामा ‘डी’ एरियामा पनि माओवादी पसे भने ज्यान त गयोगयो अहिलेसम्म कमाएको पनि सबै नबुझाई सुखै छैन। पैसा बुझाउने र माओवादीलाई सहयोग गर्ने नत्र हदैसम्मको कारबाही गर्ने धम्की त कति आइसक्यो कति। यता माओवादीलाई सहयोग गर्‍यौ भने जागिर खोसिदिन्छौं भन्दछन् सिडिओ र डिएसपी तर उनीहरू नै माओवादीलाई लुकीलुकी आर्थिक सहयोग गर्छन्। माओवादीले केही गरे आफूले थाहा नपाएको बहाना गर्छन्।

कुन बेला सरकारी सेनाको गोलीको निसाना बन्नुपर्ने हो कि माओवादी छापामारहरूको बारुदको छर्रामा शरीर छिन्नभिन्न पर्ने हो केही ठेगान छैन। बाँचुञ्जेल केको टेन्सन, मजासँग रक्सी धोक्यो, छोट्टी च्याप्यो र यस्तो दुर्गममा पनि पीर लिएर बाँच्ने हो ररु’ आधा ग्लास सुरपानी घुट्क्याए एक मित्रले। उनी निकै अघिदेखि आगो ताप्ने बहानामा एउटी छोट्टीलाई गिजोलिरहेका थिए। माओवादीहरूले सरकारी प्रशासन बस्ने सिमकोट एरियालाई ‘डी’ एरिया र त्यस बाहिरको ग्रामीण क्षेत्रलाई ‘सी’ एरियामा विभाजन गरेका रहेछन्। ‘डी’ एरिया र त्यस बाहिरको ग्रामीण क्षेत्रलाई ‘सी’ एरियामा विभाजन गरेका रहेछन्।

‘तिमीहरू गाउँ सचिवलाई हो सबैभन्दा पहिला मार्ने माओवादीले’-आराकले राकिइसकेका अर्का झुम्मनवीर चिच्याए पल्लो कुनाबाट। उनी हुम्लाकै रहेछन्। उनी बोलेपछि अरूले कुरा काट्ने साहस कमै गर्दारहेछन् भन्ने छनक देखियो। गाउँमा विकास निर्माण गरेको भन्ने नकली बिल सिमकोटमै बसेर बनाउँछौ। गाउँमा बाटो पनि छैन, पुल पनि छैन, कुलो पनि छैन र विद्यालय भवन पनि छैन तर यस्तै बङ्करमा बसेर सबै तयार गरेको कागज बनाउँछौ।

क्वाप्लाक्क पार्छौ रकम। बूढाबूढी, असहाय र अपाङ्गलाई सरकारले दिने भनेको भत्ता पनि हात र खुट्टाका औंलाले ल्याप्चे ठोकेर झ्वाम बनाएका छौ अनि खोज्दैनन् त माओवादीले तिमीहरूसँग हिसाव अनि काटिदैनौ त तिमीहरू’- बङ्कर बिस्फोट गराउने सुरमा चिच्याए उनी। बीचबीचमा रक्सी थपेर भ्याइनन् साहुनीले।

‘तिमीहरू बनका पनि त कम्ता छैनौ नि। यार्सागुम्बा, पाँचऔंले, कुटकी, पदमचाल, जटामशी, नीर जस्ता जडीबुटीहरूले छपक्क ढाकिएको छ हुम्ला। बर्सेनि व्यापारीहरूले करोडौंको जडीबुटी ओसार्दछन् तलतिर र तिब्बततिर। उनीहरूसँग मिलेर तिमीहरू नै तस्कर गर्छौ जडीबुटीको तर वर्ष भरमा राजस्व देखाउँछौ पन्ध्रबीस हजार। हुन त अरू कार्यालयको पनि के काम गरेका छन् र जिल्लाका लागि। सिमकोटमा बसे। बिल बनाए। जिल्लाको नाममा आएको रकम झ्वाम पारे। अलिअलि टाठाबाठा नेताहरूलाई चटाइदिए अरू ब्रिफकेसमा हालेर जताबाट आयो उतै लगे। कार्यालयहरू त झुठ्ठा बिल भर्र्पाई र कागज बनाएर रकम झ्वाम पार्ने कारखाना मात्र भएका छन्, के गर्नु त्यसै आएको छ र माओवादी’- लरबरिएको स्वरमा भए पनि सत्य कुरा ओकल्ने प्रतिस्पर्धा छ त्यहाँ।  

मद्य, मांस र सुन्दरीहरूको सल्बलाहट झन्–झन् जागिरहेछ बङ्करभित्र।

‘खाने अन्न नपाएर पेट दाम्रिएको छ हुुम्लीहरूको तर कसरी हुन्छ रक्सीको यत्रो छेलोखेलो?’- हुम्ला पुगेदेखि नै मेरो मस्तिष्कमा एउटा प्रश्न पञ्चमुखी हिमालझैं  उचालिरहेथ्यो। ऐन मौकामा जिज्ञासा शान्त परिएन भनै प्रश्नको गाँठाले क्षति पुर्‍याउँछ मन र ज्यानलाई – मैले बुझेको पनि त्यही हो। ल्फोरमा प्रश्न फिँजाएँ मैले।

‘यो सब खाद्य संस्थान र प्रशासनको चर्तिकला हो हजुर’- उत्तरहरू क्रमशः ओर्लन थाले मझेरीभरि।

‘चामल दिन तोक लगाउने प्रशासन, चामल दिने खाद्य। याङजी, मिङमा, पासाङ फुती, पेमा, छोटी, आङदाली, फुरदिकी जस्ताहरूले चाहे भने सिमकोटमा घाम नै रोकिदिन सक्छन्, आँधीबेहरी ल्याइदिन सक्छन्। उनीहरूले चाहे कालालाई सेतो र सेतालाई कालो बनाइदिन सक्छन्। किनकि जिल्लाका ठूलाबडालाई मासु, रक्सी, क्याँट मात्र होइन ज्यानको तातो पनि उनीहरू नै दिन्छन्। ‘छ्यान छोडनेहरूले ओछ्यान पाएपछि के गर्छन् के गर्दैनन् कि कसो?- साहुनीको पिठ्यौ मुसारे एक जुँगामुठेले।

‘आप्पोई यत्रो मान्छेको अगाडि पो भित्तो पोत्न खोज्दो रहेछ यो सार त’- पिठ्यौको हात समातिन् साहुनीले। क्या गार्नु, वेपार त गर्नै पर्‍यो। त्यसै नगरे त कासरी चाल्छ त बेपार?’ साहुनीले कुरा लुकाइनन्।

अगेनामाथि झुन्ड्याइएको सिंगै गोरुको सुकुटीबाट अलिकति छुट्याइन् साहुनीले र भुट्न थालिन्। त्यो तुन्द्रुङ्ग झुन्डयाइराखेको सिङ्गो गोरु देख्दा मलाई निकै अघिदेखि टीठ लागिरहेको थियो। एकपटक काटिएर मात्र नपुगेर हरेक रात काटिंदै–भुटिंदै प्लेट प्लेटमा अवतरण हुनुपर्ने नियति थियो उसको। जिल्लाका कर्मचारी र साहुनीको वास्तविक चरित्र र सजीव नाटक हेर्ने साक्षी मात्रै ऊ र ऊ जस्ता पात्रहरू थिए बङ्कर–बङ्करमा। सधैं चिसोको चकचक भएकाले कुहिने डर छैन, गन्हाउने गुञ्जाइस रहँदैन।

‘खाद्यले चामल ल्याउँछ प्लेन चढाएर तर जनताले पाउँदै पाउँदैनन्। पाइहाले भने आठदश किलो मात्र। त्यो पनि कैयौं दिन कुरेर हाकिमहरूलाई औषधि, बक्खु र फुरु कोसेली चढाएर। खास चामल त बिजुली पानी बनाएरै सकिन्छ। सिमकोटका छोटीहरुले सर्वैस्व सुम्पेपछि चामल उनीहरूकै पकडमा हुने नै भयो। बहुपति प्रथा छ। एउटी बहिनीको बल्लतल्ल बिहे भयो भने कैयौं छोट्टी बैला बस्नुपर्छ। होटल खोल्यो। जिल्लाका हाकिम र कर्मचारीसँग घनिष्ट सम्बन्ध जोड्यो। खाद्यबाट एक सयमा किनेको चामलबाट दुई हजारदेखि तीन हजार फाइदा निकाल्यो। गोरखालीहरूलाई नचायो यसैगरी सकिन्छ चामल।

यसैगरी रित्तिन्छ कर्मचारी र छोट्टीहरूको बैंस। प्रायः कर्मचारीको एकेक वटी छोट्टीहरू त रिजर्भ नै छन् सर यहाँ। यता बसुञ्जेल अर्धाङ्गिनी यताबाट हिंडेपछि परदेशी ठान्ने सुविधा भएपछि को नलोभियोस् यता बस्न। हुन पनि यो सुत्केरी गाउँ हो हजुर सबै पटकपटक बलजफ्ती सुत्केरी हुन्छन्, नजन्मदै मर्ने नियति बोकेकाहरू यिनकै पेटमा आइपुग्छन् बरा।’

लेखा समूहका एउटा कर्मचारी स्वस्थानी वाचन गर्दैैछन् त्यतातिरको।

तिमीभित्र लुकेका रहस्यहरू खोतल्नमै उत्सुक छु म। जीवन अर्कालाई सुम्पेर, अर्काकै खेलौना, अर्काकै मोजमस्तीमा तिम्रा दिनरात बितिरहेको थाहा पाउँदा झसक्क झस्कें म एकफेर।

पस्न र फस्न गाह्रो, ती दुवै भएपछि निस्कन अझ गाह्रो रहेछ तिमीमा। शुरूमा कट्टर, बीचमा रहर र अन्त्यमा रत्तिएको रातु गाई पो बन्दारहेछन् कर्मचारीहरू तिम्रो स्पर्शले।

‘जागिरको तीस वर्षे अवधिमा हिमालतिरै हुर्काइयो पच्चीस वर्ष, रिटायर्ड भएपछि पनि घरतिर झर्ने मन छैन अब’- एक प्राविधिक कर्मचारीले तिमीसँग रत्तिएको खोले रहस्य।

दश वर्षभन्दा बढी हुम्लामै जागिरमा बिताउनेहरू पनि दशभन्दा बढी नै भेटिए त्यही बङ्करभित्र।

‘भिज्न सक्नुपर्छ, दुर्गममा जत्तिको जागिर खान सजिलो सुगममा छैन’- सत्र वर्ष हुम्लामा जागिर खाइसकेका भुक्तभोगी हाकिमले खुशी खोले। ‘केन्द्रमा बस्नेहरू दुर्गम भनेपछि नामनै सुन्न आत्तिन्छन्। बेलाबेलामा केन्द्रलाई दुर्गम जागिरे व्यथाको नाटक सुनायो। आवतजावतको कठिनाइको फलाको हाल्यो, खानपानको ख-याङखुरुङको खल्याङमल्याङ मच्चायो, नेताले डसेका, जनताले हेपेका कथाकुथुङ्ग्री जोडिदियो। अझ अहिले त माओवादी समस्याको नाटक सुनाइदिएपछि जिब्रो काढ्छन् उतैबाट। अस्ति मात्र विभाग र मन्त्रालयका ठूलाबडालाई राम्रैसँग तर्साएँ मैले।

अहिलेसम्म सात पटक अपहरणमा परिसकें भनिदिएँ, तलव भत्ता त लेवी बुझाउँदैमा ठिक्क छ भनिदिएँ। मलाई सुगममा सरुवा गरिदिनुपर्‍यो भनें। उल्टो उनीहरूले जसरी भए पनि तपाईं त्यहाँ बसिदिनुपर्‍यो भने। उनीहरूले त्यसबापत विदेश जान मलाई नै मनोनयन गरिदिएछन्। यहाँ जिल्लाभरिका गाउँहरूमा काम गरेको देखायो, नेताको स्तर अनुसार कसैलाई गोल्डस्टार जुत्ता ल्याइदियो, कसैलाई एकजोर दौरा सुरुवाल भिराइदियो, कसैलाई बेलाबेलामा सुर बढ्ने सलाइन पानी चढाइदियो कसैकसैलाई गाउँमा एक दुईवटा योजना लगिदियो अनि जिल्लाका सबैलाई बनायो थैथै आफू बन्यो सबैको हाईहाई। पैसा सरकारले पठाइहाल्छ अर्गानिक छोट्टी र अर्गानिक छयाङ यहीं पाइहालिन्छ अनि किन अन्मरिनु शहरबजार भन्दै। तपाईं त हिसावकिताव जाँच्न आउनुभएको मान्छे, काम नगरे पनि बिल भर्पाई चाहिए जत्तिको बनाएका छौं है हामीले’- रंग न ढंग हरिबंग बन्दै खल्यातखुुलुत्त रित्तिए हाकिम।

मुड्कीमाथि मुड्की घुस्सामाथि घुस्सा, लात्तीमाथि लात्ती-मारमुङ्ग्री पो चल्न थाल्यो पल्लो कुनामा। लठ्ठीले हानाहान, कुर्सीले ठोकाठोक, यो भित्ताबाट ऊ भित्तामा पेलमपेल, डाङडाङ र डुङडुङ। जुहारी चलिरहेछ गालीको। कामै नगरी लिएको पैसा एक्लै हसुर्ने? एकातिर औंलो ठडिंदैछ। मेरो जिल्लामा काम नभएको पैसा तिमी कर्मचारीलाई दिनुपर्ने? अर्को आवाजको पारो चढिरहेछ।

‘हाम्रो जिल्लाको विकास खान आएका त हौ नि तिमी कर्मचारीहरू। तिमीहरू भएर नै विकास नभएको हो हाम्रो जिल्लाको’- नेता पड्किए।

तिमीहरू पनि के कम छौ र भाषणमा जनताका लागि काम गर्ने भन्छौ। आखिर काम नै नगरेकालाई गरेको भनेर रकम एक्लै कुम्ल्याउँछौ। तिमी नेताहरूले गुम्बाका मूर्तिहरू चोरेर बेचेको पनि हाम्लाई थाहा छैन र? लुकाईलुकाई प्रतिबन्धित औषधि र जनावरका छाला बेचेको हाम्लाई थाहा छैन र? जिल्लाका सोझा केटीहरूलाई विदेश पुर्‍याएर बेच्ने पनि तिमीहरू नै हौ, तिब्बतमा डलर लगेर बेच्ने, भारतमा युयान तस्करी गर्ने पनि तिमीहरू नै हौ’- हुर्मत नै लिनेगरी कड्किए कर्मचारी। अब कसले मार्ने हो, कस्को अँठ्ठिने हो किलकिले। बङ्कर त विष्फोट हुन ठिक्क परेको बम पो बन्यो एक्कासि। बक्खु लगाउनेलाई एक समूहले र ज्याकेट लगाउनेलाई अर्को समूहले समातेका छन्। बक्खु र ज्याकेटको आमाचकारी गाली सुनी नसक्नु छ। बिजुली पानीले भोल्टेज बढाएपछि परिणाम त्यस्तो निस्किनु कुन आश्चर्य भयो र?

देखेभन्दा फरक भोग्दैछु म तिमीलाई। बङ्कर बाहिरभन्दा बङ्करभित्र कत्ति फरक छ्यौ तिमी। नेपालीहरूले साँचो बोल्न अँध्यारो र आराक नै चाहिने रहेछ कि क्या हो - सोच्दै छु म।

‘नेता भन्दैमा ठग्न पाइन्छ त? बोलेको कुरा त पुर्‍याउनपर्‍यो नि। सज्जनहरूभन्दा ठगहरू बीचमा हुनुपर्छ बोलीको पक्का पक्की। नत्र कसरी चल्छ कालो कारोबार’-दुई पक्षको झगडाको गाँठो फुकाए एक कर्मचारी।

चिनियाँ सिमाना हिल्सादेखि सिमकोटसम्म सडक बनाउन अघिल्लो वर्ष छ ठेक्का लगाएको रहेछ जिल्ला विकासले। ठेक्का अनुसारको सबै काम सकिएको भनेर भुक्तानी लिएको रहेछन् ठेकेदारहरूले। सडक कहीं पनि खनिएको छैन। काम नै गरी भुक्तानी दिनु भ्रष्टाचारपूर्ण काम हो–नारा लगाएछन् सर्वदलीय नेताहरूले। सबै दलका नेताहरू एक महिना स्थलगत रूपमै बसेर निरीक्षण गर्न पाउने, त्यसबापत नेताहरूले पनि कर्मचारी सरह दैनिक तथा भ्रमण भत्ता पाउने निर्णय रहेछ जिल्ला विकास कार्यालयले। सडक नै खनेको छैन, नेताहरूले स्थलगत रूपमा निरीक्षण गरेको भनेर जिल्ला विकाससँग दैनिक तथा भ्रमण भत्ता र ठेकेदारसँग रिसबैत लिए भन्ने गुनासो रहेछ जनताको।

ठेकेदारले खनेकै हो तर हिउँले खाएपछि भीर बनेको हो सडक भन्ने ठहर दिएछन् नेताहरूले। बक्खुधारी नेताले जिल्लामै बसीबसी हिल्सामा बसेको भनेर खाएको दैनिक तथा भ्रमण भत्ताको दशांस दिन्छु भनेको रहेछ ज्याकेटधारी कर्मचारीलाई। वर्षौ नदिएपछि विष्फोट भएको रहेछ त्यो दिन।

बोलेको दिने ठहर भो। नेता र कर्मचारी अबदेखि सिङ जुधाउने साँढे नबन्ने सहमति भो। त्यसबापत कर्मचारीले एक र नेताले एक ग्यालेन हँसुवा झोल खुवाए। झोलले सबैलाई हँसायो। साहुनी त साक्षात् चन्द्रमा बनिन् अन्तिमतिर।

जिन्दगीका कैयौं रात जापानको टोकियो, ओशाका, नारिता, अन्नाका साइतामा जस्ता शहरमा बिताएँ मैले। सुरक्षा, शान्ति र समृद्धिका आँकुराहरूका स्पर्श दिइरहे ती रातहरूले। कैयौं रात कतार, युनाइटेड अरब इमिरेट्स, साउदी अरेवियाका मरुभूमि र शहरहरूमा खर्चिएँ मैले। सधैं शीतल, जाँगर र सहयोगका बहावहरूमा रमिरहें म। फ्रान्स, अमेरिका, स्वीटजरल्याण्ड, जर्मनी, बेल्जियम र बेलायतका कुनाकानी कुदिरहें म कैयौं रात। खानपीन गर्नेहरूको जमात भेटियो, नाचगान गर्नेहरूको लहर भेटियो, मान्छेको खोजीमा हिंडिरहेकाहरूको जमात भेटियो तर झगडा कतै देखिएन।

कसैलाई अन्धकारको हिलो छ्याप्ने प्रयास कतै देखिएन। बरु भेटियो सहयोग, सद्भाव र सक्रियताको साकुरा जतासुकै। हाम्रोमा भने रात र रक्सी भेटिनेबित्तिकै किन रगडाइ शुरू हुन्छ, किन रडाको मच्चिन्छ सबैतिर। रातको सदुपयोग गर्न नजानेसम्म सुध्रन सक्तैन हाम्रो उज्यालो कसैगरी। ढकमक्क साकुरा पूmलेकी तिमीभित्र किन पलाइरहेछन् यस्ता ऐंजेरुहरू।

निमिट्यान्न पार्न चाहन्छु म रात खल्बल्याउने ख्याकहरूलाई।

रात एक बजेको आवाज निकाल्यो भित्तेघडीले। मलाई लैजाने दुई कर्मचारीलाई उठाएँ मैले। हामी  तीन बाहिरियौं बङ्करबाट। 

गुम्लुङ्ग हिउँ ओडेर सुतिसकेको रहेछ सिमकोट एयरपोर्ट। छाना, आँगन, करेसाबारी, भीर पाखा, चौर, भञ्ज्याङ, चुचुरा, बाटा, पाटा जतासुकै छोपिएको छ हिउँको कपासे डङ्गुरहरूले। सल्लाका हाँगाहरूमा हिउँको मुजुरा पलाइरहेछ। स्याउका दानाहरूमा हिउँका डल्ला फलिरहेछ। हिउँका लठिबज्रे झपटले लत्याकलुतुक लुकेका छन् फापरका बोटहरू हिउँका लाप्साहरूभित्र। जता हेर्‍यो त्यतै देखिदैंछ  चाँदीको चमचम। सुलसुलाउँदै झरिरहेछ चाँदीको लेदो सल्लिबीरे खोल्साहरूबाट। फुसफुसे कुहिराको कापकापबाट चोरेर चुमिरहेछिन् चाँदनीले चाँदीका उबडखाबड अवयवहरूलाई।

रातमा बढी रङ्गीन र रुपौली भेटें मैले तिमीलाई।

‘ए, के हो त्यो ठोक गोली’- गस्तीमा हिंडेका पन्ध्रमध्ये एकको आवाज र पेस्तोल दुवै तेर्सियो हामीतिर। निमेषमै घेरामा पर्‍यौं हामी। तिमीहरू माओवादी हौ कि क्या हो, कञ्चट छेडिदिऊँ एकएक गरेर, आमाचकारी गाली बर्सियो गोली बनेर। उनीहरूमध्ये कसैका पनि खुट्टा ठीक ठाउँमा टेकिएका थिएनन्, ललकारमै बोली लर्बराइरहेथ्यो। हामीमाथिको आक्रमणभन्दा आफ्नै असुरक्षाको डर सङ्ग्रालिरहेथ्योे उनीहरूको अनुहार र आवाजमा।

‘हामी पनि कर्मचारी हौं नि हवल्दार सा’प। चिन्नुभएन म जिविसको एकाउन्टेन्ट, उहाँ महालेखाको हाकिम’-चिनाजानीको बिस्कुन छर्नुभयो मित्रले। नचिनेकोमा दुःख मनाउनुभयो। स्यालुट ठोकाठोक भयो।

क्वाटरको बार्दलीमा उभिंदा बङ्करबङ्करबाट निस्किरहेको सुनिदैथ्यो कल्याङमल्याङ आवाज। खादकतिर हो कि लादेवाडातिर हो एकनासले सुनिदैथ्यो देउडाको अनन्त सिम्फोनी।

आफ्नै टाउकोमाथि उभिएजस्तो लाग्दैछ चाँदनीचुचुरे पञ्चमुखी हिमाल। चिसो वायु बहिरहेछ तर चन्द्रमाको रोशनीसँगै मिसिंदा बेग्लै मादकता फैलिरहेछ। त्यही मादकतामा लठ्ठिएर क्वार्टरको झ्यालबाटै सुमसुम्याइरहेछु र्‍वायल डेलिसियस स्याउका दानाहरू।

शान्त सिमकोटमा फेरि कोलाहल उठ्यो एयरपोर्ट माथितिरबाट। फेरि आमाचकारी शब्दहरू बर्सिन थाले, फेरि तँतँ र मम उफ्रिन थाले। यो शान्त संसारमा किन सुन्नुपर्छ यस्ता भालुकाँडे आवाजहरू।  ड्याम्म गोली हो कि के हो पड्केको आवाज आयो एकपटक।

‘कतै बङ्कर नम्बर पैंसठ्ठीमा नहोस् त्यस्तो’- केहीबेर बसाइको माया पलाउँछ ममा।

तिमीलाई बिटुल्याउनेहरूको किन जगजगी छ हँ सिमकोटमा?

प्रकाशित: १९ माघ २०७८ १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App