निर्मला बराल
‘ऐया आमा, यसरी मुर्दासरी भएर ओछ्यान परेको यतिका वर्ष भैसक्यो! द्वन्द्वकालको घाउ लिएर बाँच्नुभन्दा त बरु मर्नु नै उत्तम हुने थियो! आखिर मर्ने त मरेर गए, के गर्नु बाँचेर! यही दिन देख्न र सुन्न रहेछ त!
नेपाल आमाको अस्मिता बँचाउन गाह्रो भयो। हे प्रभु, देशलाई स्वर्ग बनाउँछौं भन्दै बिगुल फुके। न स्वर्ग बन्यो देश बरु अनाहकमा निर्दोषहरूको ज्यान मात्र गयो! आखिर स्वार्थ पूरा गर्न देशमा द्वन्द ल्याएका रहेछन्। बल्ल पो थाहा भयो!’
सन्ते त्यसरी एक्लै बरबराइरहेको सुनेर श्रीमती भान्सा कोठाबाट कराइन्, ‘होइन बिरामी मान्छे किन यसरी चिन्ता गरेर बस्नुहुन्छ, झन् बिमार बढ्ने भो अब!’
‘भन्छेस् नि, के गर्नु? यो पिठ्यूँमा लागेको घाउभन्दा मातृभूमिको घाउ धेर दुखेको छ आज मलाई!’
छोराले भन्यो, ‘बुवा अब चुनाव आउन धेरै दिन छैन। फेरि हजुरले आफ्नो काँधमा जसको हतियार बोक्नुभयो। तिनै नेताहरू मूलधार राजनीतिमा पुगेका छन्। चुनावमा भोट माग्न आउँदैछन् रे। सबै हिसाबकिताब मागौला नि! तिनीहरूसँग मैले कुरा गर्न जान्या छु। अब त जायज कुराहरू गर्न पछि हटिन्न! बुवा पनि धक नमानी बोल्नुस् है मनका लागेका सबै कुरा, तपाईंको औषधोपचार खर्च, मेरो पढाइ खर्च। पूरा नभए चुनावमा भोटै हालिन्न, कुरा सफा!’ आफ्ना नेताहरू घरदैलोमा आउने कुरा सुनेर सन्तुका आँखामा खुशीका आँशु टिल्पिलाए। तर, आज बित्यो, भोलि बित्यो, पर्सि बित्यो र महिनै बित्यो तर उनीहरू आएनन्।
पछि थाहा भयो नेताहरू बीचमा एक मध्यरातमा आएछन् र सोझा गरीबनिमुखालाई रुपैयाँ बाँडेर चुनाव प्रचार गरेर गएछन्।
प्रकाशित: १७ माघ २०७८ ०८:५२ सोमबार