मिसु श्रेष्ठ
फुपू सासू लगायत पाहुना आउने कुराले निकै उत्साहित थिइन् उपमा। घरका सबै आआफ्ना काममा लागे। खाना तयार गरी भान्सा सफा गर्दै गर्दा आमाजु आइपुगिन्। एकैछिन भलाकुसारी भयो।
फुपूहरू गाडीबाट ओर्लेको समाचार आयो। अलि पर आमाजू र सासूको खासखुस सुनियो। घरि अनामिकाको अनुहार घरि आपसमा हेराहेर गरेको देख्दा उपमाको मनमा चिसो पस्यो।
नजिक गएर कुरा सुन्न उचित नठान्दा नठान्दै नजिक पुगी।
‘किन, के भयो? केही समस्या पर्याे कि?’
‘होइन–होइन, त्यस्तो केही होइन।’
‘पाहुनाहरू आइपुगे। खाना सब तयार भयो हैन?’
‘भयो आमा!’
‘ल तिमी घाममा बस्नु हामी खाना खुवाउँला नि है! बिहानदेखि पकाउँदापकाउँदा गाह्रो भयो होला!’
केही छैन, म खुवाइहाल्छु नि तपाईंहरू सबैलाई।’ ऊ सासूको आत्मीयतामा पुलकित हुँदै बोली।
पाहुनाको आगमनले रौनक थपियो।
पाहुनालाई खाना खुवाउने तयारीमा जुटेकी सासू आमाले आमाजूलाई बोलाइन्। ससुरा, देवर र पतिसँग गफ गर्दै गरेकी उपमालाई अलि पर तानेर आमाजूले भनिन्, ‘उहाँहरूले खाएर बाहिर नआउन्जेल भित्र नआउनु ल! तिमीलाई पकाउन लाएका छैनौं भनेका छौं। अलि कट्टर छन्, निन्दा गर्छन् क्या!’
खानाको तारिफसँगै हाँसो गुञ्जिँदै थियो। उपमाका पतिपत्नी साथै भान्सामा पुगे।
‘केही थपूँ कि मैले पनि?’
उसको पति गुनासो गयो, ‘हेर्नुस् न बुहारी भएर पाहुनाको सत्कार नगरेर बाहिर पो बस्छे।’
– पाहुनाहरू हेराहेर गरे।
उपमा लारिंदै बोली, ‘आमाले नै एकछिन आराम गर्नु भनेर बाहिर बसेको। हेर्नुस् न फुपू देखिसहँदैनन्।’
‘हो त, मैले नै आराम गर्नु भनेको नि बुहारीलाई।’ आमा बोलिन्।
‘लौ त उसो भए बाहिरै बसौं।’ पतिले विश्वास गर्यो।
– ‘फुपू, नुन–खुर्सानी बढी त छैन नि दाल तरकारीमा? मलाई अलि च्वास्स मनपर्छ।
यहाँ त त्यस्तै बानी पारिसकें है ममी? हजुरहरूलाई असर गर्ला कि भनेर पिरो नुनिलो कम नै गरेकी थिएँ।’ बाहिर जाँदाजाँदै उपमा बोली।
प्रकाशित: १५ माघ २०७८ १४:३६ शनिबार