नेपालको इतिहासमा विं.सं. १९०३ असोजमा जंगबहादुर राणाले सयौं निर्दोष देशभक्त राष्ट्रवादी सैनिकको हत्या गरी तानाशाही पारिवारिक शासन चलाउने उद्देश्यले कोतपर्व मच्चाएका थिए।
यो कोतपर्वको विद्रोह गर्न सन् १८७६ को अप्रिलमा गोरखा निवासी लखन थापाले केही विद्रोही युवा साथमा लिई सामूहिक रूपमा खुलेआम जंगबहादुरको विरोध गर्दै गाउँगाउँ घुमेका थिए। जंगबहादुरको तानाशाही आदेशले लखन थापा र उनका साथीहरूलाई पक्रेर मनकामनादेवी मन्दिरअगाडि झुन्ड्याइएको थियो।
त्यसैले नेपालको राजनीतिक इतिहासमा लखन थापालाई पहिलो सहिदका रूपमा मानिएको छ। एकतन्त्रीय राणाशासनका विरुद्ध १९९७ सालमा दशरथ चन्द, गंगालाल, धर्मभक्त, शुक्रराज शास्त्री लगायत सहिद भए। ती अमर सहिदको बलिदानस्वरूप २००७ सालमा नेपालमा एक सय चार वर्षको एकतन्त्रीय राणाशासन समाप्त भई प्रजातन्त्र आएको थियो। त्यो प्रजातन्त्रलाई पनि २०१७ पौष १ गते हत्या गरियो।
२०१७ सालमा हत्या गरिएको प्रजातन्त्रलाई पुनस्र्थापना गर्ने आन्दोलनको सिलसिलामा २०१७ सालदेखि २०४६ सालसम्म कैयौं सहिद भए। ती अमर सहिदमा शुभचन्द्र मिश्र, साकेतचन्द्र मिश्र, कामेश्वर–कुशेश्वर, लीला दाहाल, राम र लक्ष्मण उपाध्याय इत्यादि छन्, जसको बलिदानस्वरूप आज हामीले प्रजातन्त्रको उपभोग गर्न पाएका छौं।
प्रजातान्त्रिक आन्दोलनमा यसरी सयौँ सहिद भए, तर राम र लक्ष्मणजस्ता युवाले जुन अदम्य साहस र वीरता प्रदर्शन गरी नेपाली कांग्रेसको आह्वानमा सोलुखुम्बुमा सशस्त्र आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका थिए, त्यो निकै कारुणिक र हृदयस्पर्शी छ।
सहिद राम र लक्ष्मणको जन्म २००५ वैशाख ५ गतेका दिन तत्कालीन उदयपुर जिल्लाको सदरमुकाम उदयपुरगढीमा पिता विष्णुप्रसाद पौडेलको जुम्ल्याहा माहिला छोराका रूपमा भएको थियो। उनकी आमाको नाम दुर्गादेवी पौडेल थियो। उनका पिता त्यतिबेला उदयपुरगढीको माल अड्डामा खरिदार थिए। उनीहरूको पुख्र्यौली घर काठमाडौंको हाँडीगाउँमा थियो।
२००७ सालको क्रान्तिमा महोत्तरी–सप्तरी क्षेत्रका कमान्डर रूद्रप्रसाद गिरीको नेतृत्वमा कृष्णप्रसाद भट्टराईसहित ३५ जना मुक्तिसेनाको डफ्फाले २००७ कात्तिक २७ गतेका दिन उदयपुरगढीमाथि आक्रमण गर्न जाँदा विष्णुप्रसाद पौडेलले मुक्तिसेनालाई साथ दिई सघाएका थिए। मुक्तिसेनाले सजिलैसित उदयपुरगाहमाथि कब्जा जमाई त्यहाँ रहेको १७ हजार रूपैयाँ पनि हात पार्यो।
त्यस क्रान्तिमा साथ दिएका हुनाले राणा शासकले विष्णुप्रसाद पौडेल र उनका जेठा छोरा पाँच वर्षीय वेदप्रसाद र दुई वर्षीय राम र लक्ष्मणलाई पक्रेर ल्याउनु भनी प्रहरीलाई आदेश दिए। राणाका फौज र प्रहरीले उदयपुरगढीमा उनको घर घेरा हाली फायरिङ गर्न थाल्दा बडो मुस्किलले आफ्नो परिवार र साना बच्चा राम र लक्ष्मणसहित लिएर भाग्न उनी सफल भए।
उनले आफ्नो परिवारलाई भारतको जयनगर लिएर गए। २००७ सालको क्रान्ति सफल भई फागुन ७ गते प्रजातन्त्रको घोषणापछि विष्णुप्रसादले आफ्ना परिवार लिएर सिराहाको बस्तीपुर गाउँमा आई बस्न थालेका थिए। त्यहाँ उनलाई मित्रलाल गिरी, रुद्रप्रसाद गिरी र मोतीलाल मिश्र जस्ता प्रजातन्त्रका सेनानीले ठूलो सहयोग गरेका थिए।
२००९ सालतिर विष्णुप्रसाद बस्तीपुरबाट आई नजिकको लहानबजारमा घडेरी किनी बसोबास गर्न थाले र त्यहीँ औषधिपसल पनि खोले। जेठा छोरा वेदप्रसाद, माहिला जुम्ल्याहा राम र लक्ष्मणलाई स्थानीय पशुपति माध्यमिक विद्यालयमा पढाए। पछि ९ कक्षादेखि बस्तीपुर हाइस्कुलमा पढ्न थाले र त्यहाँबाट २०२१ सालमा एसएलसी पास गरे। बस्तीपुरमा पढ्दा त्यहाँको राजनीतिक वातावरणले उनीहरूलाई ठूलो प्रभाव पार्यो।
खासगरी त्यतिबेला बस्तीपुरका २००७ सालका कमाण्डर रूद्रप्रसाद गिरी जेलमा बन्दी थिए भने मित्रलाल गिरी लगायत धेरै कार्यकर्ता प्रवासमा राजनीतिक जीवन बिताइरहेका थिए। मित्रलाल गिरीका छोरा प्रदीप गिरी २०१७ सालमा बस्तीपुरबाट एसएलसी पास गरी पढ्न बनारस गएका थिए। बनारस र बस्तीपुरबीच राजनीतिक गतिविधिको आदान–प्रदान भइरहन्थ्यो।
नेपाली कांग्रेसको संघर्षशीलता र प्रजातन्त्रको पुनः प्राप्तिले राम र लक्ष्मणको मस्तिष्कलाई उद्वेलित पारिरहन्थ्यो। त्यसैले २०२१ सालमा महेन्द्र मोरङ कलेज विराटनगरमा पढ्न जाँदा सधैँ राजनीतिक आन्दोलनमा अग्रसर रहे। यसले गर्दा कलेज अध्ययन क्रममा बढी जेल–जीवन बिताउनुप¥यो। यतिसम्म कि जेलबाटै राम र लक्ष्मण दुवैले बीएको परीक्षा दिई उत्तीर्ण भए।
एक दिन बिरामी परेकाले प्रशासनको आदेशमा दुवै भाइलाई हतकडी लगाई अस्पताल लगिएको दियो। अस्पतालबाट फर्कंदा बाटोमा साथमा रहेका प्रहरीलाई छक्याई भाग्न सफल भए। भागेर जोगबनीको काँडेतार पर्खाल नाघी उनीहरू फारबिसगन्ज (भारत) मा रहेको नेपाली कांग्रेसको क्याम्पमा पुगे। पञ्चायती सरकारको नृशंस हत्याकाण्डपछि विद्रोही भई भूतपूर्व सैनिक कप्तान यज्ञबहादुर थापा पनि त्यहाँ पुगेका थिए, उनी त्यहीँ पार्टीको गतिविधिमा संलग्न थिए।
त्यहाँ उनीहरूले नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना तयारी भइरहेको थाहा पाए। केही दिनपछि दुवै भाइले सप्तरीका कांग्रेस नेता इन्द्रदेव सिंहको सहयोगमा दरभंगामा बिएल पढ्न लागे। पढाइभन्दा राजनीतिक क्रियाकलापमै बढी समय व्यतीत गर्ने उनीहरू एक दिन गोप्य रूपले सप्तरीको कोइलाडी गाउँमा आई लहानमा आफ्ना पिता विष्णुप्रसाद पौडेललाई बोलाई भेट गरी सारा योजना बताए।
उता बनारसमा बिपी कोइरालाको रणनीति अनुसार नेपालका पहाड़ी इलाका ओखलढुंगा र सोलुखुम्बुमा सशस्त्र आन्दोलन गरी कब्जा गर्ने उद्देश्यले फारबिसगन्ज क्याम्पमा कप्तान यज्ञबहादुर थापा र राजनीतिक अधिकृत महेश कोर्मोचाले नेपाली कांग्रेसको योजना अनुरूप बनारस पुगी बिपी कोइराला र गिरिजाप्रसाद कोइरालासित भेटी सशस्त्र आन्दोलन गर्ने पूर्वतयारी गर्न थाले। त्यस आन्दोलनको सैनिक कमान्डर यज्ञबहादुर थापा र राजनीतिक कमिसनर राम र लक्ष्मण बनाइए।
पूर्वतयारी अनुरूप सशस्त्र आन्दोलनका सिपाही बनारसबाट नेपाल प्रवेश गर्ने सिलसिलामा जयनगरबाट आन्दोलनकारीको डफ्फा नेपाल सिमानाभित्र प्रवेश गरी कमला नदीको किनारै किनार ओखलढुंगातर्फ बढ्न थाले। बिनारोकटोक ओखलढुंगाभन्दा माथि बढेपछि एउटा नदीनेर पुग्दा सरकारले सुइँको पाई सदरमुकामबाट सेना पठायो, तर उनीहरू यसअघि नै नदी तरेर पारी पुगिसकेकाले सरकारी सेनाको प्रयास असफल भयो।
उता सोलुबजारमा रहेका सेना अफिसरसँग विद्रोहीको भित्री सम्पर्क थियो। पूर्वयोजना अनुसार विद्रोहीले सदरमुकाम पुगेर सामान्य लडाइँ गर्नासाथ सेनाले आत्मसमर्पण गर्ने र त्यसपछि हतियारयुक्त पुलिस जवानलाई संगठित गरी स्थानीय सरकार गठन गरिने भएको थियो। विद्रोहीका सफलताका दिन नजिकिँदै थिए। विद्रोहीले आफू आइपुग्नै लागेको खबर आफ्नो पक्षमा रहेका सरकारी सेनाकहाँ पुर्याए, तर सरकार हलचलपूर्ण अवस्थामा रहेकाले तत्काल निर्णय गर्न उनीहरू पनि डराए।
त्यसैले सोलुबजारबाट सरकारी सैनिक अफिसरले पूर्वयोजना विपरीत विद्रोहीलाई दुई दिन बाटोमा पर्खने सल्लाह पठाए। त्यो सल्लाह मान्नु नै विद्रोहीका लागि सबभन्दा ठूलो घातकसिद्ध भयो। यसरी आफूसित मिलेका सरकारी सैनिक पनि सरकारको पक्षमा गएकाले उनीहरू दलबलसहित त्यहाँको टिमुरे जंगलभित्र पसे। काठमाडौंबाट आएका थप सैनिक शक्तिले विद्रोहीलाई जंगलमा नै घेर्न पुगे।
यस्तो संकटपूर्ण अवस्थामा टिमुरे जंगलभित्र ओढारमा बसेर विद्रोही आफ्ना कमजोरीको मूल्यांकन गर्दै थिए। सेनाले आफूमाथि हमला गर्न थालेपछि स्थिति बिग्रेको कुरा थाहा भयो। विद्रोही पक्षका सैनिक कमान्डर यज्ञबहादुर थापा र राजनीतिक कमिसनर राम–लक्ष्मणबीच सुरुदेखि नै सेनासम्बन्धी र अन्य विषयमा मतभेद उठेको थियो।
नेपाल पस्नासाथ उनीहरूको टिमबाट एकजना फरार भएकाले निजलाई कारबाही गर्न राम र लक्ष्मणबाट माग भइरहेको थियो। यसरी आफूबाट बाहिर गएपछि टिमुरे जंगलभित्र तिनीहरूले असहाय महसुस गरिरहेका थिए।
सरकारी सेना र विद्रोहीका बीच घमासान गोली चल्यो। सरकारी सेनाका शक्तिअगाडि विद्रोहीको शक्ति क्षीण हुँदै गए पनि राम र लक्ष्मणको साहस कम भएन। आखिर यिनीहरू पञ्चायती सत्ताको गोलीबाट टिमुरे जंगलमनै २०३१ पुसमा सहिद भए।
केही दिनपछि आफ्नो छोरा सशस्त्र विद्रोहमा सहिद भएको खबर सुनेपछि खरदार विष्णुप्रसाद पौडेल बेहोस भई मुर्छा परे। पुत्रशोकमै उनको २०३२ सालमा मृत्यु भयो। २०३६ सालमा जनमत संग्रहको अवसरमा लहानमा भएको आमसभामा बिपी कोइरालाले बहो भावविह्वल भएर राम र लक्ष्मणको संस्मरण गरेका थिए।
पञ्चायती सेनाको गोलीबाट टिमुर जंगलमा राम र लक्ष्मणका साथै विद्रोही सेनामा रहेका अगमसिंह राई पनि सहिद भएका थिए। त्यस काण्डमा पक्रिएपछि राजविराज जेल चलान गर्ने निहुँमा टोकसेलघाटमा पञ्चायती सरकारद्वारा हत्या गरिएका हर्कबहादुर कार्की, रामबहादुर सुनुवार, भीमबहादुर कटुवाल, अमरबहादुर खड्का र नेत्रबहादुर कार्की पनि सहिद भए।
यसरी कलिलो उमेरमा सहिद भएका राम–लक्ष्मणलाई लोकतान्त्रिक गणतान्त्रिक सरकारले कुनै मूल्यांकन गरेको छैन। तसर्थ उनीहरूको सालिक लहान नगरपालिका क्षेत्रभित्र निर्माण गरी सहिदप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्न आवश्यक छ।
प्रकाशित: १५ माघ २०७८ ०५:०२ शनिबार