२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

छनोट

लघुकथा

प्रकाश खड्का  ‘अभियान

प्यारा भाइबहिनी हो, ‘अथक प्रयास र यस स्कुलका शिक्षकशिक्षिकाको सहयोगले,महानायकको बालभूमिकामा सगुनलाई लिने निर्णय गरेका छौ।’

कलाकार छनोट संयोजकले उद्घोष गरेपछि चारैतिर तालीको गडगडाहट सुनिन्थ्यो। सबैले मलाई शुभकामना र आशीर्वाद दिनुभएको थियो। म अत्यन्त हर्षित थिएँ।

हिजोसम्म थोरैले चिन्थे। आज टोल बजारका सबैले मेरै कुरा गर्थे। शरीरमा छुट्टै स्फूर्ति आएको थियो। मेरो दिनचर्या फिल्म हेर्ने, रिहर्सल गर्ने, साथीभाइलाई अभिनय गरेर देखाउने आदि गरेर बित्थ्यो। खोई किन हो, मेरो शरीरमाथि अभिनयको भूत चढेको थियो।

पढाइ बिग्रेर होला, शिक्षकले भन्नुभयो,‘सगुन,अभिनय त अतिरिक्त क्रियाकलाप हो। तिम्ले अभिनयभन्दा पढाइलाई ध्यान दिनुपर्छ। यस्तै हो भने तिमी गुल्टिन बेर लाग्दैन। होस् गरे है।’ भनेर सम्झाउनुभएको थियो। साथीहरू पनि अर्तीउपदेश दिन खप्पिस थिए। म भने ईर्ष्याले जलेर यस्ता कुरा गर्छौ भनेर उनीहरूलाई चिढाउँथे।

जब शिक्षकले आर्थिक अभावको कारण सिनेमा नबन्ने सूचना  पढेर सुनाउनुभयो तब म छाँगाबाट खसे जस्तो भएँ। डाँको छोडेर रुन थाले। किन हो, अरूले सञ्झाउँदा गिल्ला गरेको अनुभूति हुन थाल्यो। बाटो हिंड्दा गिज्याए जस्तो भान भयो। पछि नराम्रो संगतमा परे। दुर्व्यसनी गर्न थाले। कतिपटक त पक्राउमा पनि परेथे।

हल्लिंदै स्कुल पुगेथे। सबै साथी एकै ठाउँ भेला भएका थिए। उनीहरूलाई देखेर पागल जस्तै म, ‘जिन्दगी रंगमञ्च हो साथी, कहिले खुसी वर्षा भएर दर्किन्छ, कहिले दुख बाढी भएर बस्ती जम्मै डुबाउँछ। कसैले ललिपप दियो भन्दैमा उसको पछि लाग्यौ भने बेचिदिन्छ। हो उसले तिम्रो जिन्दगी सपना देखाएर बेचिदिन्छ।’ यत्तिकैमा प्रहरीले लागुपदार्थ दुर्व्यसनको आरोपमा पक्राउ गर्दै मलाई लछार्दै थियो।

मेरो कानमा शिक्षकले भनेको कुरा गुन्जदै थियो,‘कुनै समयको होनहार विद्यार्थी खुसीलाई लिन नजानेर र दुखलाई झेल्न नसकेर आज यो हविगत भयो।’

पुलिसको भ्यान गुड्दै थियो। साथीहरू एकोहोरो मलाई हेरिरहेका थिए। म भने घरि हत्कडी हेर्दै घरि स्कूल नियाल्दै आँसु बगाउँदै थिएँ।

प्रकाशित: १२ माघ २०७८ ०३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App