सुनिता गिरी
आकाश अनन्त छ
मौन छ
र भन्छौ, ’‘त्यहाँ ईश्वर छ ’
ईश्वरको बासस्थान त्यो अनन्तकाशमा
फेरि किन रुन्छ जूनतारा?
र खस्छ कहिले चिसो, कहिले तातो आँसु
हाम्रो कमजोर छातीमा।
मलाई थाहा छ,
ईश्वर होइन
त्यहाँ युगीन दुखका पहाड पर्वतहरू छन्
बस्ती छ, शोक छ, रोग छ
त्यहाँ आँसुका अस्मेल नदीहरू छन्
ताल छ, वेदना छ, भोक छ ...।
हेर !
कस्तरी त्यो बादल
रुँदै उक्लिरहेछ माथिमाथि
कस्तरी यो बतास
दुख्तै हुँइकिरहेछ उँभोउँभो
यति कठोर र लामो उकालोभन्दा माथि
धेरैधेरै माथि छ शून्य आकाश
भन्छौ, ‘त्यहाँ पवित्रता छ’
पवित्रस्थलको त्यो विराट शान्तिमाथि
फेरि किन धावा बोल्छ क्रूर चटयाङ?
र बिजुली चम्किन्छ हाम्रो निर्दोष आँखामा
प्रिय सखी !
यो धर्ती, त्यो आकाशमा
कहीं छैन सुख
कहीं छैन स्वतन्त्रता
कहीं – कतै छैन ईश्वर
छ भने कि आँखामा छ
कि मेरो आत्मामा छ
छ भने कि तिम्रो आँसुमा छ
कि मेरो दुखाइमा छ
अब हामीले
एक अर्कालाई हेरेर केहीबेर मुस्कुराउनु छ
अब हामीले
एक अर्कालाई डोर्याएर परसम्म हिंड्नु छ
जहाँसम्म सँगै पुग्छौं हामी
त्यहाँभन्दा माथि उही आकाश छ
र एक अन्तिम चोटि त्यतै हेरेर
एकसाथ सोच्नु छ तिमी र मैले
‘त्यो स्निग्ध आकाशमा अवश्य केही त छ।’
प्रकाशित: १० माघ २०७८ १०:२८ सोमबार