इलामे साहित्यानुरागीबीच सधैं चर्चाको विषय बन्नेगरेका साहित्यकार विष्णु नवीनका तीन कृति एकैपटक प्रकाशित गरिएको छ। उनको ८३औं जन्मजयन्ती (माघ ९) अवसर पारेर प्रकाशित कृति नवीनकै सन्तान स्काई नवीनलाई हस्तान्तरण गरियो।
विष्णु नवीनले लेखेर पनि प्रकाशन गर्न नपाएका ‘सोझा नवीनका बाङ्गा निबन्ध’, ‘धेरै कुरा एकै ठाउँमा’ र ‘केही सोधी केही खोजी’ कृति प्रकाशित गरिएको हो। इलाम नगर साहित्य, संगीत तथा कला प्रतिष्ठानले साहित्यकार नवीनका कृति प्रकाशन गरेको प्रतिष्ठान सचिव दिवाकर भण्डारीले बताए। ‘विष्णु नवीन साहित्यमा इलामले बिर्सिन नसक्ने नाम हो,’ उनले भने, ‘उनले प्रकाशन गर्न नभ्याएका कृति प्रतिष्ठानले प्रकाशन गरेको छ, यी कृति सिंगो नेपाली साहित्यका सम्पत्ति हुन्।’
साहित्यकार नवीनको जन्मजयन्ती अवसरमा साहित्यकार, कलाकारलगायतले उनको प्रतिमामा माल्यार्पणसमेत गरे। निकै चोटिलो, आक्रोशित र व्यङ्ग्यात्मक कविता लेखेर चर्चामा आएका साहित्यकार नवीन समाजका विकृति–विसंगतिविरुद्ध कडा रूपमा प्रस्तुत हुनेगरेको उनका समकालीन बताउँछन्। उनी समाजमा हुनेगरेको विभेद अन्त्य गर्न कहिले साडी–चोलो, कहिले चुरा–पोतेसमेत लगाएर बजारमा निस्किने गरेका थिए।
१९९५ माघ ९ मा इलाममा जन्मिएका साहित्यकार विष्णु नवीनको २०४० साल चैत १८ मा निधन भएको थियो।
आर्थिक रूपले विपन्न परिवारमा जन्मेका साहित्यकार विष्णु नवीनको जीवन सधैं अभावै अभावमा बितेको थियो। तर, साहित्यमा अत्यन्त रुचि भएका उनले नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरेको साहित्यकार युद्धप्रसाद वैद्य बताउँछन्। उनका ‘श्रीमतीसँग एक दिन, हास्यव्यग्य संग्रह–२०२२, उनको स्मृतिमा, खण्डकाव्य २०२४, छात्तीमा नआएका कुरा–हास्यव्यग्य संग्रह–२०२९ र लोग्ने–स्वास्नी–कथासंग्रह, २०३८ यसअघि प्रकाशित छन्।
प्रकाशित: ९ माघ २०७८ १४:२८ आइतबार