१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

नेपाली राष्ट्रियता, अवधारणा र विकास

‘राष्ट्रियता’ शब्दलाई सामान्यतया थोरै शब्दमा परिभाषित गर्न सकिँदैन। यस शब्दले वहन गर्ने अर्थगत व्यापकताको पनि सीमा छैन। व्यक्तिगत, सामाजिक अनि राष्ट्रिय पहिचानका आधार जति पनि हुन सक्छन्, ती राष्ट्रियताका पनि आधार हुन सक्छन्। पहिचानका पनि अनेक पक्ष हुन्छन्।

राष्ट्रको तुलनामा सामान्य मानिसको परिचय अत्यन्तै क्षीण हुन सक्छ तर एउटै व्यक्ति पनि राष्ट्रको लागि सार्वकालिक महत्त्वको विषय वा केन्द्र बन्न सक्छ। जब व्यक्ति राष्ट्रको समुत्थानका खातिर आफूलाई समर्पित गरी राष्ट्रभाषीको हृदयमा सम्मानित रहन पुग्छ, अनि ऊ व्यक्ति नभएर राष्ट्रिय मानव सम्पदाको रूपमा रहन्छ। त्यस्ता केही व्यक्तिको माध्यमबाट पनि राष्ट्रले चिनारी पाउन सक्छ।

अर्कातिर, समाजको आफ्नै विशेषता र विविधता रहन्छ। अनेकौं समाजभित्रका विविधताद्वारा नै राष्ट्र बन्ने हुँदा राष्ट्रको पहिचान वा परिचयका आधार समाजमै सन्निहित रहन्छन्। राष्ट्रिय पहिचान राष्ट्रियताको साझा आधार बन्दछ। शब्दार्थिक असीमितताकै कारण राष्ट्रियताप्रतिका बुझाइ, यसका अथ्र्याइँ, व्याख्या वा परिभाषा पनि अपूर्ण नै प्रतीत हुन्छन्। यस्तो प्रतीत हुने कारण स्वयं यस शब्दको अमूर्तता पनि हो।

अमूर्तताको व्याख्या र परिभाषा भइरहन्छ, त्यसले कहिल्यै पूर्णता पाउँदैन। अमूर्ततामा भावनात्मकता प्रबल रहन्छ। ‘राष्ट्रियता’ शब्दमा भावनात्मक पक्षका साथै बौद्धिक विश्लेषणात्मक दृष्टिकोणको पनि सम्मिलन रहन्छ। तसर्थ राष्ट्रियता सर्वथा अमूर्त मात्र रहँदैन।

विशेष गरी राष्ट्र-राष्ट्रका बीच हुने पारस्पारिक सम्बन्धका स्थितिका आधारमा निर्माण हुने मनोवैज्ञानिक प्रभाव ती राष्ट्रका कूटनीतिक सम्बन्धद्वारा निर्धारित रहन्छन्। यस्ता सम्बन्धमा उतारचढाव वा आरोहअवरोह भइरहन्छन्। त्यसकै आधारमा राष्ट्रियताका भावनामा पनि उतारचढाव हुन सक्छन्। राष्ट्रियताको केन्द्रबिन्दुमा राष्ट्रिय स्वाभिमानको रक्तवाहिनी भने प्रवाहित भइरहन्छ।

नेपाली बृहत् शब्दकोश (२०४०) मा राष्ट्रियताको शब्दार्थ दिइएको छ- ‘राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना, राष्ट्रप्रेम, राष्ट्रको स्थिति वा आफ्नोपन।’ अत्यन्तै संक्षिप्तमा उल्लिखित शब्दकोशीय राष्ट्रियताबोधक शब्द स्वयंमा सांकेतिक मात्र हुन्।

राष्ट्रियताको बीजांकुर सामूहिक वा साझा पहिचानको उद्देश्यबाट प्रकट हुन्छ। सामूहिकताको भावना मानव विकासक्रमको प्राथमिक चरणदेखि नै विकसित हुन थालेको मान्न सकिन्छ। सामूहिक पहिचानको खोजी आनुवंशिक रूपमा समुदायको अस्तित्वको आरम्भसँगै भएको अनुमान पनि गर्न सकिन्छ। प्राचीन गणराज्यहरूको अस्तित्व सामुदायिक पहिचानकै विकसित स्वरूप थियो। राष्ट्रियताको भावनालाई समाजशास्त्रीय अध्ययन र दृष्टिकोणसँग जोडेर पनि बुझ्न सकिन्छ। समाज विकासकै क्रममा कालान्तरमा आधुनिक समाज वा राज्यको उदय हुँदै आयो।

जन्मभूमिप्रतिको आफ्नोपन वा प्रेमकै विस्तारित दृष्टिकोण देशप्रेम हो भन्न सकिन्छ। देश र राष्ट्रको आधुनिक बुझाइ भने फरक छ।

देश राजनीतिक अधिकारबाट वञ्चित मानिसहरूको उपस्थितिमा पनि अस्तित्वमा रहन सक्छ। राजनीतिक अधिकार मूलतः शासन प्रणालीमा निहित हुन्छ। जनतालाई राजनीतिक अधिकारको प्राप्ति प्रजातान्त्रिक व्यवस्थामै हुन्छ। तसर्थ राजीतिक रूपमा अधिकारविहीन जनताको उपस्थितिले मात्र राष्ट्र बन्दैन, तर देशको अस्तित्व भने रहन्छ। त्यस अवस्थामा देशप्रेम त हुन्छ, बृहद जन एकताको भावनाको अभावमा त्यो बलियो भने रहँदैन।

निरंकुश शासन व्यवस्थामा शासकको स्वेच्छाचारी निर्णयद्वारा दमित जनतामा देशप्रेम कुण्ठित रहन जान्छ। फलतः राष्ट्रियताको भावना पनि कमजोर हुन्छ। भौगोलिक अखण्डतासहितको सार्वभौमसत्ता एवं राजकीय सत्ता सहितको मुलुकभित्रका आमजनताका लागि विचार अभिव्यक्तिको स्वतन्त्रता, विधिको शासन, राज्य प्रणालीमा जनप्रतिनिधित्व तथा समानता लगायतका लोकतान्त्रिक तत्त्वसहितको सुनिश्चित राज्यव्यवस्थाले मात्रै देशलाई ‘राष्ट्र’को श्रेणीमा प्रतिष्ठापित गर्दछ भन्ने राजनीतिशास्त्रीको मत रहेको पाइन्छ।

प्राचीन पूर्वीय राज्यव्यवस्थामा पनि शासकद्वारा जनप्रतिनिधित्व गराइन्थ्यो भन्ने ऐतिहासिक अभिलेख पाइन्छन्। ती जनप्रतिनिधिले सामान्यतः शासकका आज्ञापालकका रूपमा काम गर्थे। शासक वा राजाहरू समाजद्वारा ईश्वरका प्रतिनिधिका रूपमा मान्यता प्राप्त थिए। राज्यहरूका विस्तार गरिँदै आए। शत्रुद्वारा जोगिनका लागि राज्यमा किल्लाहरूको निर्माण हुन्थ्यो।

वैदिककालदेखि नै दक्षिण एसियाली भूखण्डमा स्थापित राज्यहरू र तिनका शासन प्रणालीमा आधुनिक राज्यप्रणालीमा प्रयोगमा रहेका सार्वभौम, राष्ट्र जस्ता शब्द प्रयोगमा रहेको विद्वान् बताउँछन्। डा.प्रेम खत्री र डा.पेशल दाहालले लेखेका छन्, ‘ऋग्वेदिक युगको अन्त्यतिर नै ससाना जनपद एकअर्कामा विलिन भएर शक्तिशाली राज्यको रूपमा देखापर्न थालिसकेका थिए।

अब आएर भने महत्त्वाकांक्षी राजाहरूले छिमेकका जनपदलाई जितेर आफ्नो अधीन गराई साम्राज्यको विस्तार गर्न थाले। त्यसैले उत्तर वैदिक कालको प्रारम्भदेखि नै राज्यको निमित्त सार्वभौम, अधिराज्य, राष्ट्र जस्ता शब्दहरू प्रयोग भएको पाइन्छ। (नेपाली संस्कृति र सभ्यता)।’

विद्वानका विचारअनुसार वैदिक कालमा राज्य विस्तार हुन थालेसँगै राज्यप्रणालीमा सार्वभौम, अधिराज्य वा राष्ट्रजस्ता चिन्तनको प्रयोग हुन थालेको थियो। यसबाट राष्ट्रिय भावनाको प्रारम्भिक चेतना त्यसै अस्पष्ट समयदेखि नै अंकुरण हुँदै आएको हो भन्ने बुझ्न सकिन्छ। महामुनि वाल्मीकिले रामराज्यको वर्णन गर्दै ‘जननी जन्मभूमिश्च’ जस्ता देशप्रेमका सुक्ति ईशापूर्व कैयौं शताब्दीपूर्व नै लेखेको विश्वास गरिन्छ। कौटिल्यजस्ता दार्शनिकले समय अनुसार राज्यका नीति–नियमबारे व्याख्या गरे।

पाश्चात्य जगत्मा युनानी दार्शनिकले आदर्श राज्यको परिकल्पना गरे भने पुनर्जागरणकालीन युरोपियन विचारकले राज्य, सम्प्रभुता, राष्ट्र आदिबारे आधुनिक चिन्तनको आधारशिला खडा गरे। पाश्चात्य जगत्लाई राष्ट्र, राष्ट्रप्रेम वा राष्ट्रियतासम्बन्धी दृष्टिकोण पुनर्जागरणकालीन दार्शनिकद्वारा प्राप्त भयो।

अठारौँ शताब्दीतिरका युरोपियन राज्यक्रान्तिले ती दृष्टिकोणलाई विस्तारित गरे। तर यस सम्बन्धमा पूर्वीय चिन्तनको जरा  हजारौं वर्ष पहिल्यै रोपिइसकेको थियो भन्ने बुझ्न सकिन्छ। यसबाट के पनि अनुमान गर्न सकिन्छ भने राज्यहरूको अस्तित्व वा निर्माणको आरम्भ एुियाली भूभागमै ईशापूर्व  हजारौं वर्षपहिले भयो। राज्यको उत्पत्तिसँगै राष्ट्रवादी भावनाको पनि अंकुरण हुन थालेको भन्ने अनुमान पनि गर्न सकिन्छ।

देशप्रेम, देशभक्ति र राष्ट्रियताका मर्महरूमा भिन्नता रहेको अनुभूत हुन्छ। देशप्रेम र देशभक्तिलाई वैयक्तिक अनुभूतिको वृत्तमा राखेर पनि मूल्यांकन गर्न सकिन्छ। तर राष्ट्रियताले राष्ट्रियस्तरमै रहेको राष्ट्रवासीको साझा अनुभूतिसँग निकटता राख्दछ। देशभक्तिपूर्ण समर्पणका कार्यबाट राष्ट्रियताको संरक्षण हुन्छ। इतिहासमा वीर नेपालीले देशभक्तिको अनुपम उदाहरण प्रस्तुत गरे र साझा राष्ट्रिय भावनाको बीजारोपण गराए।

काव्यिक जगत्मा देशभक्ति र राष्ट्रियतालाई सँगसँगै अथ्र्याइएको पनि पाइन्छ। देशभक्ति र राष्ट्रियता अलगअलग विवेचनाका विषयवस्तु हुन सक्छन्। यस सम्बन्धमा नेपालका शीर्ष कूटनीतिज्ञ एवं वरिष्ठ साहित्यकार प्रा.यदुनाथ खनालले भनेका छन्, ‘कविताको विवेचनामा देशभक्ति र राष्ट्रियतालाई पर्यायवाचक शब्दको रूपमा बढ्दो प्रयोगले काव्यिक मर्यादा नाघेको अनुभव हुन्छ। देशभक्तिले मानिसलाई मानवत्वको तहमा स्पर्श गर्दछ।

देशभक्तिमा जन्मभूमिप्रति, जननीप्रति जस्तै भाव उत्पन्न हुन्छ-जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि। रविन्द्रनाथ लेख्छन्- ‘त्यो स्वतन्त्रताको स्वर्गमा मेरो देश बिउँझोस् ।’ तर राष्ट्र शब्द ऋग्वेदसँगै प्राचीन र त्यसको विशेषण ‘राष्ट्रिय’ पाणिनिको सूत्रमा प्रतिपादित भए पनि हामीले प्रयोग गर्ने अर्थमा राष्ट्रियता आधुनिक चेतना हो। यो राजनीति भावना हो जसले मुख्यतया राजनीतिक सतहमा उत्तेजना गर्दछ। युरोपमा पनि यो चेतना अन्दाजी दुई सय वर्षभित्रको आधुनिक विकास हो।’

प्रा. यदुनाथ खनालद्वारा एउटा साहित्यिक लेखका सन्दर्भमा व्यक्त गरिएको उक्त विचारले राष्ट्रियतामाथिको एक महत्त्वपूर्ण चिन्तनको धरातललाई उद्बोधन गरेको छ। उनको विचारबाट बुझ्न सकिन्छ, देशभक्ति र राष्ट्रियताको मर्म एकै होइन।

देशभक्तिले मानिसको मानवीय अन्तरचैतन्य अर्थात् मानवत्वलाई प्रभाव पार्दछ। ‘राष्ट्र’ शब्द ऋग्वेद जत्तिकै प्राचीन छ। ‘राष्ट्रिय’ शब्द पनि त्यत्तिकै पुरानो हो। ‘राष्ट्र’ र ‘राष्ट्रिय’कै मर्ममा राष्ट्रियताको भाव सुरक्षित छ, यद्यपि राष्ट्रियताको वर्तमान अर्थ्याइँ र बुझाइमा यो आधुनिक चेतनाद्वारा प्रस्फुटित राजनीतिक भावना हो। राष्ट्रियताको अर्थगत विवेचनाका लागि प्रा. खनालको उक्त विचार महत्त्वपूर्ण मान्न सकिन्छ।

देशभक्तिको चेतना व्यक्तिगत रूपमा अनुभूत गरिन्छ। त्यस्तो चेतना व्यक्तिको भावनात्मक गहिराइबाट उत्पन्न हुन्छ भने राष्ट्रियताको चेतना भावनामूलक हुन्छ नै, सँगसँगै बढी बौद्धिक र राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति एवं परिणतिहरूद्वारा पनि निर्धारित हुन सक्छ।

राजनेता बिपीले ‘आमजनताको सामूहिक मनोभावना एवं मुलुकका राष्ट्रिय समस्यालाई समाधान गर्ना खातिर उत्पन्न राष्ट्रिय एकताको भावना राष्ट्रियता हो’ भनेका छन्। उनले राष्ट्रियतालाई मूलतः मुलुकका साझा समस्या र तिनका प्रति आमजनतामा रहेको ऐक्यबद्धताको भावनाको रूपमा अर्थ्याएका छन्, ‘राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लक्षित गर्ने शब्द हो समय–समयमा प्रकट हुने व्यापक समस्यालाई सामूहिक रूपमा समाधान गर्नुपर्दा सहजै उत्पन्न हुने एकताको जनभावना नै राष्ट्रियता हो ।’ बिपीले प्रजातन्त्र र राष्ट्रियतालाई एकअर्काका परिपूरक तत्त्वको रूपमा विस्तृत चिन्तन गरेका छन्।

पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को संज्ञा दिएका छन्। राष्ट्रियताको सन्दर्भमा नेपालको भूराजनीतिक अवस्थाले विशेष अर्थ राख्दै आएको कुरा उनको यस भनाइबाट प्रष्ट बुझ्न सकिन्छ। उनकै शब्दमा नेपाल सबै नेपालीको फूलबारी हो नै। फूलका बीज अंकुरित हुँदै समयक्रममा विकसित हुँदै आए। सामाजिकीकरणका प्रक्रियामा ती अन्तर्घुलित हुँदै आए।

सामाजिक, सांस्कृतिक अन्तर्घुलनका अनेक चरण पार गर्दै ती नेपाली जाति भएर अनुगुञ्जित र अनुबन्धित रहँदै आए, आएका छन्। नेपाली जातीयताको सुदूर मुहानमा भने आर्यवंशीय र मंगोलवंशीय मानिसको नश्लीय वंशधारा प्रवाहित हुन थालिसकेको विभिन्न अन्वेषणबाट थाहा हुन्छ।

तिनका बीच अनवरत रहँदै आएका पारस्परिक सामञ्जस्यता, सहयोगिता, सहिष्णुता र अखण्डित विश्वासका कारण तिनले भावनात्मक सम्मिलनको अविभेद्य स्वरूप प्राप्त गर्दै आए। त्यही सम्मिलनको निरन्तरताले नेपाली राष्ट्रियताको जन्म गराएको भन्ने चिन्तन प्रा. जगमान गुरुङको रहेको छ, ‘नेपालमा खासगरी आर्य वंश र मंगोल वंश र भारोपेली भाषा परिवारको भाषा बोल्ने एवं भोट बर्मेली भाषा परिवारको भाषा बोल्ने दुई वर्गका मानिसले बसोबास गरी आएका छन्।

अतः यी दुई वर्गका जनताबीचको भावनात्मक एकता एवं मानसिक सम्मिलन नै नेपाल राष्ट्र हो र यही भावनात्मक एकता एवं मानसिक सम्मिलनप्रतिको प्रतिबद्धता, समर्पण तथा निरन्तरता नै नेपाली राष्ट्रियता हो।’

नेपाली राष्ट्रियताको सन्दर्भमा यसको मुहानदेखि वर्तमानसम्मको यो एउटा मानवशास्त्रीय दृष्टिकोण पनि हो। यसमा इतिहासको अज्ञात कालदेखि आ–आफ्ना आनुवंशिक एवं भाषिक वैशिष्ट्यका साथ एउटै भूगोलका सहकार्यकारी निवासी बीच मौलाउँदै आएका साझा विश्वासको धरातलमा नेपाली राष्ट्रियताको गजुर खडा भएको यथार्थलाई डा. गुरुङले उल्लेख गरेका छन्। डा. गुरुङका अनुसार नेपाली राष्ट्रियताको अभेद्य धरोहरको निर्माणमा राजनीतिक व्यवस्थाले भन्दा आमजनताका पारस्परिक सहअस्तित्वप्रतिका अन्तहीन विश्वासले सर्वाधिक भूमिका खेलेका छन्।

राष्ट्र र राष्ट्रियतालाई अलगअलग गरेर बुझ्न सकिँदैन। राष्ट्रप्रतिको सहज र निष्ठापूर्ण, प्रेम, राष्ट्रभक्तिको भावना, राष्ट्रियरूपमा ऐतिहासिक घटनाक्रमबाट निर्मित र सघन बन्दै आएको साझा गौरवको अनुभूति राष्ट्रियताको अर्को आयाम हो। राष्ट्रियताको विशिष्टिकृत अर्थमा भूगोलको महत्त्व कमै रहे पनि मानिसको उत्पत्ति वा जन्मका आधारमा भूगोलले  महत्त्व राखेकै हुन्छ। मानवविहीन भूगोलको सम्बन्ध राष्ट्रियतासँग रहँदैन। त्यो देश पनि बन्दैन।

राष्ट्र भनेकै राष्ट्रियताको आधारभूत तत्त्व भएको राजनीतिज्ञको भनाइ छ। जुनसुकै देशका मानिसमा हुने ऐक्यबद्धताको भावना नै राष्ट्रियता हो। आफ्नो राष्ट्रप्रतिको ममता जहाँ बसे पनि मेटिँदैन। राष्ट्रियता मानवीय अस्तित्वको भावनात्मक आधारका रूपमा रहेको कुरा प्राडा रामप्रसाद उपाध्यायले बताएका छन्, ‘मानिस देशभित्र होस् वा बाहिर उसको मनमा स्वजाति, धर्म र संस्कृतिप्रतिको ममता रहिरहन्छ।

देशभित्र रहेर पनि उसमा देशभक्ति छैन भने ऊ जिउँदै मरेको समान हुन्छ। आफ्नो जन्मभूमिको सम्मान नगर्ने मानिस पशुतुल्य हुन्छ। जसरी पशुपक्षीले आफ्नो आहार जता देख्यो उतै दगुर्छ। त्यसैगरी राष्ट्रियता बिनाको मानिस जताततै दगुरी रहन्छ। त्यसैले जननी जम्मभूमिश्च स्वर्गादपि गरियसी भनिएको हो।’

प्राडा उपाध्यायको यो एउटा सांस्कृतिक, आध्यात्मिक अवधारणा हो। वास्तवमा अतीतदेखिका सांस्कृतिक वा सनातन सांस्कृतिक विश्वासलाई सम्मान गर्दै पारस्परिक मैत्रीभावका साथ बाँच्ने साझा आधार भनेकै देश हो, राष्ट्र हो। शारीरिक तृष्णा भनेको मृगतृष्णाजस्तै हो। त्यस निम्ति दगुर्ने मानिसले आफ्नै परिचय पनि गुमाउँछ। राष्ट्रप्रतिको निस्वार्थ प्रेम रहे मात्र उसको परिचय रहन्छ, त्यो परिचय नै उसको राष्ट्रियता हो।

यसैगरी नेपाली राष्ट्रियता राष्ट्रको बहुआयामिक पहिचानसहित गौरवशाली राष्ट्रिय सभ्यताको ज्योतिर्मय पताकाका रूपमा नेपाली जनमानसभित्र बाँचिरहेको देख्छन् प्राडा भीम खतिवडाका अनुसार, सघन राष्ट्रवाद जनताको एकीभूत भावनाको जयगान हो। त्यही तिनको स्वाभिमान र अस्तित्वको मंगलगान हो।

जाति, राष्ट्र, ‘म’बाट ‘हामी’ अनि ‘मेरो’बाट ‘हाम्रो’तर्फको संस्करणपछिको एकनाद हो। तिनको भाषाप्रेम, रीतिरिवाज, परम्परा, आस्था आदिभित्रको वैविध्य एकताको सुन्दर रङभित्र इन्द्रेणी चमक भरेर हाँसेको हुन्छ राष्ट्रियता बनेर।

राष्ट्रियताले व्यक्तिको होइन सामूहिकताको भावनालाई सम्मान गर्दछ। नेपाली समाज सांस्कृतिक रूपमा वैविध्ययुक्त छ तर त्यही समाजभित्र पारस्परिक सहिष्णुता एवं समभावको सौन्दर्य पनि छ। नेपाली समाजका यिनै सांस्कृतिक रङद्वारा राष्ट्रियतारूपी इन्द्रेणी अग्लिएको छ भन्ने प्राडा खतिवडाको आसय रहेको बुझिन्छ।

नेपाललाई बाह्य संसारमा चिनिन मद्दत पुर्‍याउने प्राकृतिक सम्पदा छन्। जस्तै प्रकृति प्रदत्त उच्च हिमालय पर्वत शृंखला र त्यसमा पनि विश्वकै अग्लो हिमालका कारण भौगोलिक रूपमा नेपाल प्रसिद्ध बनेको छ। यस्तै अन्यत्र नपाइने पर्वतीय वा अन्य भौगोलिक र प्राकृतिक सम्पदा नेपालमा पर्याप्त छन्। तिनमाथि नेपालीले गर्व पनि गर्छन्।

सगरमाथा नेपालको हो भन्दा नेपालीलाई गर्वानुभूति भएन भने उसभित्र ‘नेपाल’ मुस्कुराउन पनि सक्दैन। प्राकृतिक जडिबुटी, नदीनाला लगायतका सम्पदाको समुचित व्यवस्थापन गरी तिनबाट राष्ट्रहितका लागि धेरै कार्य गर्न सकिन्छ। ती आर्थिक समुन्नतिका माध्यम बन्न सक्छन्। प्राकृतिक सम्पदाको पर्यटकीय व्यवस्थापन गरी राष्ट्रिय समृद्धिको स्रोत बनाउन सकिन्छ। अनि मात्र हाम्रा प्राकृतिक सम्पदामा गाँसिएको हाम्रो साझा भावना वा राष्ट्रियता हाम्रा लागि अझ गौरवको विषय बन्न सक्छ।

नेपाली राष्ट्रियता प्रकृति र संस्कृतिप्रतिको अपनत्वमा जीवन्त रहँदै आएको छ। प्रकृतिप्रदत्त सम्पदा सगरमाथा वा महाज्ञानी गौतम बुद्ध नेपालका गौरव हुन्, तर राष्ट्रियता तिनका अतिरिक्त हाम्रो संस्कार संस्कृति र सभ्यताको योगफल हो भन्छन् विद्वान् श्याम श्रेष्ठ, ‘गौतम बुद्ध र सगरमाथाले मात्र राष्ट्रियता बनेको होइन।

नेपाली संस्कार, संस्कृति र सभ्यताको कुल जोडका कारण नै संसारका अरू देशहरूभन्दा नेपाल पृथक् देखिएको हो, त्यो नै हाम्रो राष्ट्रियता हो ।’ हाम्रो संस्कृति र सभ्यताकै कारण नेपाल अन्य मुलुकभन्दा पृथक् पहिचानका साथ देखिन सकेको हो र त्यसमै हाम्रो राष्ट्रियताको भावना पनि अन्तर्निहित रहेको उनको आसय देखिन्छ।

हरेक राष्ट्रमा त्यहाँको स्वाधीनता, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको प्राप्ति र संरक्षणका लागि जीवन उत्सर्ग गर्ने, महान् परिवर्तनका लागि नेतृत्व गर्ने र देशवासीलाई नयाँ चेतना र विचारबाट सुसज्जित बनाई राष्ट्रिय सभ्यतालाई नै नयाँ बाटोमा डोर्‍याउन शीर्ष योगदान पुर्‍याउने मानिसप्रति सबैको सम्मान रहन्छ।

सबै स्वतन्त्र मुलुकमा कमबेसी त्यस्ता व्यक्ति रहन्छन्। लिंकन, मण्डेला, गान्धी, शेक्सपियर, बुद्ध, कन्फ्युसियस, मार्क्स आदिका नामबाट उनीहरूका जन्मभूमि देश गर्व गर्दछन्। बुद्ध नेपालमा जन्मनुमा हाम्रो गौरव छ। विपी, पुष्पलाल, अरनिको, भानुभक्त, देवकोटा आदि प्रतिभा देशका गौरवका रूपमा रहेका छन्।

अन्य क्षेत्रका कैयौं प्रतिभाशाली नेपाली पनि नेपाली राष्ट्रियताका मानव सम्पदाका रूपमा सम्मानित रहेका छन्। राष्ट्रियताका प्रतीकका रूपमा मानव धरोहरहरूको नाम लिँदा कुनै पनि पूर्वाग्रह वा संकीर्णता राखिनु राष्ट्रकै लागि असम्मानजनक विषय हुन सक्छ भन्ने कुरालाई बिर्सनु हुँदैन।

यसरी नेपालमा राष्ट्रियता अतीतदेखि नै जीवन्त रहँदै आएको नेपालीपन, सामाजिक–सांस्कृतिक एकता र सहअस्तित्वको प्रत्याभूति, सन्तुलित वैदेशिक सम्बन्ध एवं राष्ट्रिय अखण्डताप्रतिको अविचल विश्वास, राष्ट्रिय समस्यामाथिको सहभावना र तिनलाई समाधान गर्नेतर्फको साझा प्रयत्न लगायतका अनेक राष्ट्रिय चिन्तनद्वारा सिञ्चित साझा नेपाली चेतना एवं नेपाली गर्वानुभूतिका रूपमा विकास भइरहेको महसुस गर्न सकिन्छ।

प्रकाशित: ८ माघ २०७८ ०१:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App