कवितामा नाङ्गो वैचारिकता मात्र नभई वेदना र अनुभूति हुनुपर्नेमा उनले जोड दिए। ‘संवेदनाले वैचारिक परिपाटी पाएपछि राम्रो कविता अझ राम्रो हुन्छ,' दिवसले जोड दिँदै भने, ‘अरुले भनिसकेका कुरा, शैली र अभिव्यक्ति दिने कविता असल कविता होइनन्। कविताले पहिले कहिल्यै नदेखिएको स्वरुप देखाउनु पर्छ।'
कविताले निजत्व देखाउन सक्यो भने त्यसले विशिष्टता ल्याउने र त्यस्ता कवितालाई अरुले नस्विकारी धरै नपाउने दिवसको धारणा छ। ‘शब्दहरुको याक्सा' यस्तै गुण बोकेको संग्रह भएको स्वीकार्दै दिवसले भने, ‘म उनलाई सामान्य कवि भन्दिनँ।' कविले आफ्ना रचनामार्फत् आफ्नो भाषा, संस्कृति, अस्तित्व, पहिचानलाई व्यापक विस्तार दिएकोमा प्रशंसा गरे।
उनले भने, ‘हरेक जातिका कविले यस्तै विशेषतायुक्त सिर्जना ल्याउन सके समग्र नेपाली भाषा, साहित्य र संस्कृतिकै उन्नयन हुने उनले बताए। मुनाराज जस्ता कविलाई आफू सहदृयताका साथ अँगाल्न चाहेको पनि बताए।
समालोचक अभि सुवेदीले आफू लामो समयदेखि व्यग्र रुपमा एउटा शक्तिशाली कविको उदय हुने सपना पालेर बसेको र आज त्यो सपना पूरा भएको घोषणा गरे। शेर्माका कविताहरु पढ्दा आफू आनन्दको अतिरेकले रोएको पनि बताए। ‘पहिले म धेरैपटक रोएँ। तुलसी दिवसहरुका कविता पढेर मज्जैले रोएँ। त्यसपछि लामो समयसम्म कविता पढेर रोएको थिइनँ तर आज बिहान जब मैले यो कवितासंग्रह पूरै पढेर सिध्याएँ, कविताले समातेछ कि क्या हो, म त रोएँ', सुवेदीले भने।
सेर्माका कविताले मिहिन कुरालाई खेलाँची नगरी प्रस्तुत गरेकोमा प्रशंसा गर्दै उनले भने, ‘कवि आविष्कार हो भन्ने मलाई लाग्थ्यो, आज पनि लागिरहेको छ र सेर्मा नेपाली कविता क्षेत्रमा एउटा नयाँ आविष्कार हुन्।'
संविधान नबन्ने छाँट आइसकेका बेला, उहिल्यै असफल भइसकेको बहुमतीय प्रणालीकै पक्षपोषण भइरहेका बेला कविहरुले आवाजविहीनहरुको आवाज बनेर झन् बढी सशक्त रुपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको मुकारुङले बताए। यो बेला तिनै सीमान्तकृतहरुका आवाज मुखरित गरेकोमा सेर्मालाई धन्यवाद पनि दिए।
५१ वटा कविताको यस संग्रहलाई स्रष्टा प्रकाशन झापाले बजारमा ल्याएको छ।
प्रकाशित: २८ पुस २०७१ २२:३१ सोमबार





