९ माघ २०७८ आइतबार
कला

ग्रीष्मको नीलो बतासको सौन्दर्य

नियात्रात्मक लेखनमा आफ्नै शैलीले पहिचान स्थापित गरिसकेका दामोदर पुडासैनी ‘किशोर’को पछिल्लो नियात्राकृति ‘ग्रीष्मको निलो बतास’ बजारमा आएको छ, जसमा उनले खप्तड क्षेत्र भ्रमणलाई विषय बनाएका छन्।

सुरुका यात्रा निबन्धमा विदेशका चिल्ला सडक, सुखसुविधा, मरुभूमिका चाखलाग्दा कथालाई मूल वस्तु बनाउने किशोरले पछिल्ला कृतिमा नेपाली स्थल, नेपाली माटो र नेपालकै कुनाकन्दराको भ्रमणबाट प्राप्त अनुभूतिजन्य तथ्यको कलात्मक प्रस्तुति दिन थालेका छन्।

उनले नेपालका पश्चिमी क्षेत्रका उच्च पहाडी भूभाग वरपर बस्ने नेपालीका संस्कृति, आनीबानी, व्यवहार, सोचाइ, पेसा, त्यहाँको भौगोलिक विकटता, विकटताभित्रको सुन्दरता, त्यहाँका रीति, कुरीति, विश्वास, अन्धविश्वास सबै खोतलेर सबै नेपालीभाषीमाझ राखेका छन्।

हुन त सम्पूर्ण साहित्य अनुभवकै आलंकारिक दस्तावेज हो। विधापिच्छे अनुभवका भिन्नाभिन्नै बान्की प्रस्तुत हुन्छन् साहित्यमा। नियात्रा विधामा यात्राबाट प्राप्त अनुभव र संस्मरणलाई नै मूल वस्तु बनाइने हुँदा अनुभवजन्य तथ्यको प्रस्तुति ज्यादा प्रत्यक्ष रहन्छ। यात्राका कोरा अनुभव, मिति, तिथि र घटना वर्णन छाडेर यात्रास्थलका मानिस, प्रकृति र संस्कृतिका पाटालाई आलंकारिक भाषामा प्रस्तुत गर्ने पुडासैनीको मौलिक शैली यस कृतिमा पनि देखिन्छ।

यात्रास्थलबारे जानकारी प्रस्तुत गर्ने क्रममा अनुभूतिको गहिराइमा भएका विविध ज्ञान मथिएर नौनीरूपी विचार उजागर भइरहेछन् कृतिभरि। ती वैचारिक वाक्य जीवन र यात्राले सिकाएका, देखाएका र अनुभवबाट बनेका हुन्।

कृतिमा पर्यावरणमैत्री, महिलामैत्री, स्वदेशप्रेम, मानववाद र श्रममैत्री विचारको बाक्लो उपस्थितिले यसको गुणवत्ता बढाएका छन्। निबन्ध विधाको मूलमा विचार नै रहने हुँदा यी विधामैत्री बनेका छन्। तिनले पाठकलाई कान्तासम्मित उपदेश दिन्छन्। कृतिको माध्यमबाट पाठकले भाषिक अलंकारको गुलियोमा डुबेको विचारलाई स्वाद मानीमानी ग्रहण गर्नेछन्।

२३ विभिन्न शीर्षकमा विभाजित यस कृतिको सुरुमा लेखकले खप्तड क्षेत्रको यात्रागर्भबारे जानकारी दिने क्रममा यात्रा मान्छेका चुनौतीको विषय भएको बताएका छन्।

सुरुको परिच्छेदमा आफ्ना लागि यात्राको महत्व दर्शाउने क्रममा काठमाडौंको प्रदूषण र विकृत यथार्थको जानकारी दिँदै पर्यावरणमैत्री भावलाई मूल स्वर दिएका छन्। नेपालका उच्च पहाडी भूभागमा यात्रा गर्नु अझै पनि चुनौतीपूर्ण रहेको वर्तमान सन्दर्भमा लेखकले खप्तड क्षेत्र लगायत त्यस्ता ठाउँको भ्रमणलाई ‘काँचो रगतको अभिलेख’ भनेका छन्।

नेपालका जुनसुकै ठाउँका यात्रामा यात्रीले भोगिरहनुपर्ने साझा समस्या छन्। तीव्र गतिमा चल्ने सवारीसाधन, तिनमा चर्को आवाजमा बज्ने गीत, गाडी चलाउँदाचलाउँदै मोबाइलमा कुरा गर्ने चालकले सचेत यात्रुलाई त्रसित पार्छन्।

बेलाबेला पहिरो गएर रोकिनुपर्ने सडक, सडकछेउका गाउँमा परेका व्यक्तिगत समस्याका लागि पनि सडकै बन्द गरेर जुलुस निकाल्ने प्रवृत्ति, होटलदेखि शौचालयसम्मको समस्या आदिलाई लेखकले यी निबन्धमा मीठौ शैलीमा उनेका छन्।

भालुवाङको भातको प्रसंग होस् या बिचपानीको होटल या झिँग्रानाको होटल– सबैतिर सबैजसो यात्रीले भोगेका समस्यालाई औँल्याएर यिनको समाधान भए नेपालको पर्यटन उद्योग सपार्न सकिने लेखकको राय छ।

कृतिमा आफू यात्रामा रहँदा सहयात्रीका सोचाइ, व्यवहार, जीवनका उकालीओराली समेत खोतलेर तिनका माध्यमबाट नेपाली समाजका वास्तविक समस्या र यथार्थलाई बाहिर ल्याउन पनि लेखक सफल भएका छन्।

लेखकलाई समाजमा बढेका कुव्यवस्थाप्रति आपत्ति छ भन्ने देखिन्छ। नेपाली समाजमा विद्यमान साइत, कुसाइतबारेका विश्वास, शकुन अपशकुनका कुरा, देवता र भूतका कुरा पनि यस कृतिमा मुख्य अन्तर्वस्तुका रूपमा आएका छन्।

चौथो पाठमा डडेल्धुरातिर उकालो चढ्दै गर्दा भाकल गर्ने र निर्दोष जनावरको बलि दिएको सन्दर्भलाई अन्तर्वस्तु बनाएर रीतिका नाममा प्रचलित कुरीतिको उजागर गर्नु उनको ध्येय भएको बुझिन्छ। भ्रमणका क्रममा चिसोलाई बहाना बनाएर फोहोरी भई बस्ने, फोहोर राख्नेप्रति गुनासो गर्छन् लेखक र मानव सभ्यताप्रति प्रश्न ठड्याएका छन्।

सेती किनारका खेत रोपेको देख्दा हर्षित भएका लेखक कालागाडमा धामी कामेर बिरामी उपचार गरेको देख्दा दुःखी भएका छन्। सुदूरपश्चिममा व्याप्त देवता र धामीप्रतिको (अन्ध)विश्वास उजागर गरी मानववादको वकालत गर्नु उनको मूल उद्देश्य देखिन्छ।

भ्रमण परिवेशको आत्मीकरण गरी त्यसमा शब्दपुष्पले गाँसेर सिँगारिदिने उनको निजी प्रवृत्ति यस कृतिमा झन् जीवन्त बनेर आएको छ। यस क्रममा कतै कतै शिष्ट शृंगारको पनि प्रयोग भएको छ। एउटै दृश्यलाई लेखकले विभिन्न शब्दजालमा पारेर आफ्नोपनमा रिँगाएका छन्।

खप्तड क्षेत्र भ्रमणको मूल विषय भएको हुँदा कृतिमा सुदूरपश्चिमका बाटोघाटाको यथार्थ वर्णन, त्यहाँको लेकमा जीवननिर्वाह गर्नेहरूका अनन्त कथाव्यथा, लेकमा जीवन बाँच्नेहरूले औषधि पानी, खाद्यान्न जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनुपर्ने अवस्था, पुरुषहरू तास र रक्सीमा झुम्ने, महिलाहरू घर र कृषिलगायत सबै काममा बिहानदेखि बेलुकासम्म व्यस्त हुनुपर्ने जस्ता समस्यालाई पनि लेखकले यस संग्रहमा प्रस्तुत गरेका छन्।

दुर्गम क्षेत्रको यात्रामा जंगली जनावरको भय, हिमाली क्षेत्रमा जीवन धान्न संघर्ष गर्दागर्दा नसकेर थाकेका, विकल्पको खोजीमा लागेका तर विकल्प नपाएका मानिसका कथाव्यथा, लेकमा गोठ राख्नेको कहानी, कामको खोजीमा भारततिर भौँतारिने र एड्स लिएर फर्कनेका कथा मात्र नभई त्यहाँका बासिन्दाहरू चेतनातिर उन्मुख हुन थालेको अवस्थालाई पनि कृतिमा उतारिएको छ।

भ्रमणस्थलमा भेटिएका पात्रका डोट्याली लबजका साथै महिनौँ ननुहाई लेकमा भेडा चराउनेको कथा कृतिका रोचक पक्ष हुन्। खप्तड आश्रममा पुगेपछि खप्तड बाबाको दरबारसँग भएको सम्बन्ध मार्फत शक्तिसम्बन्धले संकथनमा पार्ने परिवर्तनलाई पनि लेखकले उजागर गरेका छन्। श्रमको सुन्दर पक्षको चित्रण गर्नु, श्रमको गुणगान ठाउँठाउँमा भेटिनु, लेकमा विकास र पर्यटनका सम्भावना औँल्याउनु कृतिको मूल मर्म हो।

भ्रमणस्थलका परिवेश र पात्र आदिको निजात्मक आलंकारिक वर्णन, त्यसमार्फत प्रस्तुत सबल मानववादी, श्रमवादी, पर्यावरणवादी वैचारिकताले यस नियात्रा कृति पठनीय र सङ्ग्रहणीय बनेको छ।

प्रकाशित: १ माघ २०७८ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App