२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

दीक्षा बनिन् वाइवाई मिसेस नेपाल वर्ल्ड

वाइवाई मिसेस नेपाल वर्ल्ड–२०२१ को उपाधि काठमाडौंको बाफलकी दीक्षा केसीले प्राप्त गरेकी छन्। विवाहित महिलाहरूबीच भएको नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता उक्त उपाधि शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा घोषणा गरिएको थियो।

‘प्रतियोगितामा प्रमुख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको ‘उपाधि जिते तपाईंले कुन सामाजिक मुद्दालाई अगाडि ल्याउनुहुनेछ ?’ भन्ने प्रश्नको निर्णायक प्रश्नको सटीक जवाफ दिँदै दीक्षा वाइवाई मिसेस नेपाल वर्ल्डको उपाधि प्राप्त गर्न सफल भएकी हुन्। उनले ग्यालेक्सी जम्बो वासमती राईस लेडी विथ कम्प्यासनको उपउपाधि पनि आफ्नो बनाइन्।

वाइवाई मिसेस नेपाल वर्ल्डको उपाधि हात पारेपछि दीक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यसै वर्षदेखि वाइवाई मिसेस नेपाल वर्ल्डको विजेतालाई मिसेस वर्ल्डमा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले सो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागी हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराए।

माइती नेपालकी अध्यक्ष कोइराला प्रमुख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक रहेको प्रतियोगितामा नायिका उषा रजक मिसेस नेपाल इन्टरनेसनल र पविता गिरी एमएस इन्टरनेसनल भए। उनीहरूले उपाधि चुमेबापत सन् २०२२ मा सिंगापुरमा हुने क्रमशः मिसेस इन्टरनेसनल र एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। उषा रियो मस्ट ट्यालेन्टेड र सिजी सिमेन्ट मस्ट बोल्डको विजेता पनि भइन्।

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनिता लामा मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप, राजश्री थापा मिसेस नेपाल वर्ल्ड सेकेन्ड रनर्सअप र मनिता प्याकुरेल मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप भए। त्यसैगरी माधुरी कर्ण एआरएस डेन्टल क्लिनीक बेस्ट स्माइल, वाइवाई डाइनामिक भ्युअर्स च्वाइस र प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रलाय मिसेस टुरिजम एम्बेस्डर, लक्ष्मी जोशी आईएमई पे पब्लिक च्वाइस अवार्ड, सोनु मगर ढुंगेल रश्मीलाज फेसियल हाउस बेस्ट हेयर उपउपाधि विजेता भए।

त्यस्तै सुमिता लामा नेपाल आइस बेस्ट र्‍याम्प वाक र एन्ड पिक्चर्स मस्ट फोटोजेनिक, माला सुनुवार मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट, नारायणी अटो बिजनेस मस्ट डिसिप्लिन्ड, पवित्रा बानियाँ हरपल फुड्स मिसेस कन्जिनियालिटी, जयन्ती राई सिल्कवेयर फेसन आइकन, मनिता प्याकुरेल असम बेस्ट पर्सनालिटी, सुष्मिता खड्का सफ्टी मस्ट ब्युटिफल, राजश्री थापा क्विक्स मस्ट कन्फिडेन्ट, सुमित्रा पौडेल उप्रेती काठमाडौं वर्ल्ड स्कुल मस्ट क्रियटिभ र मोनिका न्यौपाने होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधि विजेता भए।

कार्यक्रममा अभिनेत्री गौरी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिएको थियो। उनको सम्मानमा बिनु शाक्य र श्रीलक्ष्मी थापाले उनले अभिनय तथा नृत्य गरेको विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन्। यसअघि मिसेस नेपालको मञ्चमा रिबन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा सम्पन्न कार्यक्रम नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो। प्रतियोगिता पूर्वमिसेस नेपाल चन्दा थापा गिरीको सहकोरियोग्राफी तथा आकाश गिरी र गंगा महर्जनको संयोजनमा सम्पन्न भएको हो।

प्रकाशित: १९ पुस २०७८ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App