१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

भाकल

लघुकथा

गंगा खड्का

‘ओहो भाउजू! आजकाल त निकै धर्मकर्ममा जुट्नुभएको छ नि त? आज पनि तयारी हेर्दा त मन्दिर प्रस्थानकै लागि जस्तो देखिन्छ नि?’ मैले मेरी फुपूकी  बुहारीलाई गाडीमा भेटेपछि सोधें।

उहाँले निकै जोसिएर भन्नुभयो, ‘हो नि, दुइटै छोरा विदेश जाने भन्छन्। रहर गरिहाले, उनीहरूको भिसा लागोस् भनेर भाकल गरेकी थिएँ, हिजो दुवैको भिसा आयो अनि आज भाकल पूजा गर्न हिँडेको।’

केही महिनापछि मेरो पनि विवाह भयो। उहाँसँग भेट नभएको नि दसौँ वर्ष भइसकेको थियो। एकदिन मनकामना मन्दिरमा  उहाँसँग मेरो भेट भयो। उहाँ पहिलाको जस्तो हँसिली–खुसिली देखिनु हुन्नथ्यो। उहाँको अनुहारको रङ पूरै उडेको थियो।

‘अहो!  भाउजू पनि यहाँ?’ मैले अनायासै प्रश्न तेर्साएँ।

‘के गर्नु त नानी, पहिला छोराहरू विदेश गए  केके  नै  हुन्थ्यो जस्तो गरियो। अहिले वर्षौं भइसक्यो,  घरको दैलो टेकेका छैनन्। उतै बिहेवारी गरेर बसेका छन्। न घरको माया छ तिनीहरूलाई न त बाउआमाको। त्यसैले छिट्टै फर्केर आऊन् भनी मातासँग  प्रार्थना गर्न आएको।’

प्रकाशित: १४ पुस २०७८ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App