डा. विदुर चालिसे
–‘छेक्दा रोकिन्न, हेर्दा देखिन्न तर चलिरहन्छ के हो?’
–‘घुस!’
–‘अरूलाई उज्यालो दिनेले आफैं जल्नुपर्छ चाहिँ के हो त!’
–‘प्रज्ञा!’
यी महान् उक्तिहरूमध्ये एउटाले उच्च जीवनको सादा विचार बोकेको छ। अर्काेले उच्च विचारको सादा जीवन आदर्शलाई बोकेको छ। गाउँगाउँमा आतंक मच्चाउने लडाकुलाई एक दिन देखाएर बुद्धले शिष्यहरूलाई भने।
–‘हतियारधारीहरू जब उत्रन्छन् तब शान्त तलाउका पानी पनि छचल्किन थाल्दछन्!’
बुद्धले आफ्ना विरुद्ध लागेका कोलीहरूको बारेमा सविस्तार बयान सभामा दिइरहेका थिए। त्रास र सन्नाटाहरू एकैपटक प्रकट भएका थिए। बुद्धले खोजेको सामाजिक न्यायमा भने कसैको पक्षधरता थिएन। उनी सत्य धर्मका लागि बर्बराए।
–‘प्राण जाओस्, अधर्म मान्दिन!’
अन्त्यमा न्यायका लागि तपस्या गर्न भिक्षु बनेर उनी बाटो लागे। समय बित्यो। कोलीहरूको हतियार खिया लागेर कुहिन पो थाल्यो। हतियारहरू सड्न थालेपछि उनीहरू बुद्धले छोडेको दरबारमा शानले एक्लै बौलाएर चिच्याउन थाले।
–‘हामीलाई चिनेको छस्!’
दरबार खाली थियो। केही मुसाहरू ओहोरदोहोर गर्थे। केही विरालोहरू मुसाको शिकारका लागि ढुकेर बसेका थिए। जब हतियारले सुसज्जित पुरानो लडाकु फेरि दरबारको मेचमाथि बस्यो। ऐनाअगाडि पुगेर आफ्नो अनुहार हेर्दै उफ्रन थाल्यो।
–‘कमाण्डरको अगाडि टिक्लास् सिद्धार्थ, तँ को होस्?’
सिद्धार्थको एक अनुयायी मुसो थियो। उसले पूर्व लडाकुलाई सामान्य उत्तर दियो।
–‘उत्सर्जन!’
उत्सर्जनको रागले जब हतियारधारी लडाकुलाई लुल्याउन र घेर्न थाल्यो। तब उसको मस्तिष्कमा एउटा विचार पलायो।
–‘कर्मको फल!’
अनि भुत्भुताएर अन्त्यमा बुद्धको नकली गेरुवस्त्र र भिक्षापात्र लिएर शान्तिको गीत गन्गनाउन पुग्यो।
–‘भिक्षा मे देही!’
बुद्धका शिष्यहरूले अन्यायका विरुद्ध शान्तिको गीत गाइरहे। कोलीहरूमा अझै हतियारको दम्भ गएको थिएन। उनीहरू बेलाबेला निराधार बर्बराउँथे।
–‘देख्लास्,तेरो राज!’
जब अन्यायको हद हुन्छ। शासकहरू पनि बुद्धजस्तै बन्छन्। तब बुद्धहरू चाहिँ कहिल्यै शासक बन्दैन रैछन्।
प्रकाशित: १२ पुस २०७८ ०८:०६ सोमबार