दिलिप राई सगर
‘कमलेको बुढी त गयो!’ राई जेठा खेती पुग्नसाथ राईनी बोजुले बतायो।
‘काँ गयो आमा?’ उसले कुरा नबुझी सोध्यो।
‘हन मर्यो नि बुथुरी! अस्ति हाम्रोमा पराल माच राखेको दिन रक्सी खाएर कुटेथ्यो कमलेले। सुती हिँड्थी हैन!’
ला मर्यो नै... आमा! घाँटी र जिभ्रो सुन्निएको थियो बोल्नै सक्थिनं। भात त के पानी निल्न सक्थिनं। जा दुःखै लुकायो।’ जेठाले दुःख व्यक्त गरे।
रक्सी खान पाए भात पानी नचाहिने। त्यो दिन त्यसै सुत्थे ती बुढाबुढी। मन्दिरको पेटीमा। अरू दुई जना थिए उस्तै खोया बिर्केहरू। त्यो कुमाई गाउँमा काम गरेर जिउ पालेका। कताकताबाट बटुलिएर आई बसेका। गाउँभरि काम पाउँथ्यो। प्रायः सबै धनवान् र अरापे परिवार काम गर्थेनन्। उनीहरू नै गाउँभरि भियाउँथे।
जेठो छोरीलाई कापी किन्न पसल निस्क्यो। भट्टराईनी भाउजू भन्दैथी, ‘कम्लेले बुढी कुटेरै मार्यो भाइ! मैले पहिल्यै कति कराउँथें। यसले कुटेरै मार्छ। नभन्दै त्यस्तै गर्यो बजियाले।’
‘हो भाउजू, मारेछ। ससुराली नजिक भए त्यो जेल पुग्थ्यो तर पश्चिम कताबाट भुटानीसँग पछ्याएर आएकी रे। जेठा बुढा ठूलो मुलुक छ रे। ठूल्ठूला छोराछोरी छ रेन्त।’
‘अन्त एकपल्ट लिन पनि आएको रे भाइ! यही रक्सियालाई पर्खेर बसी। दुवै रक्सी खाने। झगडा गर्ने। बुथुरीको मुखै छुरा। अति अश्लील गाली बक्ने। कम्ले दोक्च्याउने। अब त मुक्ति पायो होला।’
–राति नै मारेर बिहान पर खोलामा लगेर गाड्यो रे कुकुरसरह। ३५ सय जति उठे। ५ सय कफन खर्च। बाँकी किरिया खर्च। छोराको घर गए भन्थे कमले।
जेठा खेती आउँदा कम्ले र कुमार बाटोमा शहर जाँदै गरेको भेटेको थियो।
राईनी बोजुको परालको माच राख्न त्यसै थियो।
प्रकाशित: ११ पुस २०७८ ०८:४२ आइतबार