आचार्य प्रभा
नयाँ वर्षको उमंगमा राजनैतिक पार्टीहरू उल्लासमय भेलामा व्यस्त थिए। प्रत्येक गाउँपालिका, नगरपालिकाहरूले आआफ्नो स्थानमा भेला,जमघट हुन नदिए पनि टेर्नेवाला कोही थिएनन्। कोरोना आतंकले पराकाष्ठा नाघिसकेको थियो।
विकास एक नगरपालिकाको मेयर। जो कोरोनाको भयावह स्थितिदेखि त्रषित थियो। उनले आफ्नो नगरमा यो स्थिति आउन नदिन हरप्रयास गरिरहेका थिए। आफूले गर्न सक्ने कोरोना प्रतिबन्धमा कोसिस गर्दै थिए।
केही समयसम्म त्यो नियमको पालना भयो। शहरमा कोरोना भित्रिए पनि त्यति आतंकित बन्नुपरेको थिएन। तर, राजनैतिक पार्टीको प्रवृत्ति नै अर्का पार्टीलाई गिराउने र दोष लाउने कारणले मेयरको उक्त प्रयास असफल भयो।
‘विकास भण्डारी मुर्दावाद। जनतालाई स्वतन्त्रताको अधिकार दे। सबैले गरिखान पाउनुपर्छ।’ यस्तै नाराहरू दिनहुँ घन्किन थाल्यो। तैपनि उनले सकेसम्म यो नाराबाजी र हुललाई रोक्ने प्रयास गरे पुलिस,प्रशासन लाएर पनि। तर, सफल बन्न सकेनन्।
केही समयपछि शहर कोरोनाले ग्रस्त बन्न थाल्यो। मान्छेहरू भकाभक मर्न थाले। कोरोना प्रतिबन्ध आफ्नो वशबाट बाहिरियो।
फेरि जनता उसरी कुर्लिन थाले, ‘हाम्रा मेयर मुर्दावाद। जनतालाई औषधिमुलोको व्यवस्था चाँडो गर। जनता मार्न पाइँदैन। कोरोना आतंकबाट हामीलाई बँचा।’
मेयर विवश बनेर मौन रहनबाहेक केही रहेन। शहरमा पार्टी, भोज,मनोरन्जन, विरोध उस्तै थियो। दिनभर जुलुस,नारा,साँझमा मनोरन्जनमय पार्टी। कोरोना आतंकबाट मर्ने र थलिने उत्तिकै। राजनैतिक विरोधाभासको लहैलहैमा लागेर कुर्लिने पनि उत्तिकै।
अन्त्यमा विरोधमा उत्रिनेमध्येबाट केहीले देहत्याग गर्न थाले। जुलुस,नारा पनि बन्द हुँदै गयो। तर, अफसोच कोरोना आतंकको साम्राज्य अझ तीव्र बन्दै गयो। जब जनताको होस् खुलियो। तबसम्म मेयरज्यूले पनि संसार त्याग्न बाध्य हुनुपर्यो। बल्ल मेयरज्यूको प्रशंसाको शंखघोष हुनथाल्यो, ‘कति असल थिए। कोरोना रोक्ने प्रयास गर्दागर्दै आफै शिकार भए।’
प्रकाशित: १० पुस २०७८ ०९:११ शनिबार