२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

पानीको रंगसँग नभिजेको जीवन

निबन्ध

बोधराज पौडेल

पानीको रंगसँग जीवनको रंग कहिल्यै मिलेन। पानीले आफूले बग्ने बाटो बिस्तारै बनाउँदै र गहिर्‍याउँदै लग्यो। जसका कारण उसलाई कटान गर्न सजिलो भयो। यही कारण उसले आफ्नो क्षेत्रफल बढाउन सक्यो। सानो डोराको रूपमा भएको स्वरूपलाई एउटा अविच्छिन्न खोलाको रूपमा रूपान्तरण गर्यो। अहो! जीवनको सार्थकता र उपदेयता। म आफैंमा हराएँ।

मेरो जीवनको रंग कस्तो छ त? मनले फ्याट्ट प्रश्न तेर्स्याएर गयो। ऊ पर जाँदै गर्दा मेरो मस्तिष्कले सोध्यो, ‘आखिर कस्तो हो त यो जीवन?’

म खोज्न थाले दुवैको अर्थ। जुन निष्पट्ट अँध्यारोमा हराएको थियो। झट्ट भेट्न सकिएन। तब  न खोजी कार्य जारी छ आजसम्म। कहाँ छ मेरो जीवनको आफ्नो रंग भनेर।

जीवन र खोलाको संघर्ष उस्तै छ। तर, खोलाले आफ्नो यात्रा तय गर्न सक्यो, जीवनले सकेन। खोला कतै ठोकिएको अवस्थामा पहरालाई नै लछारेर बग्छ तर जीवन त हार मानेर आफू शिथिल भएर फर्कन्छ त्यहाँबाट। खोला थकित बन्दैन। जति तल गयो उति ठूलो र मजबुत बन्दै जान्छ। तर, जीवन त कमजोर बन्दै गइरहेको छ।

मुहानको सानो पानीको कुलोजस्तो प्रवाह बग्दै गएर एउटा विशाल खोलाको रूपमा परिणत हुन्छ। अघिसम्म ससाना झ्यास बगाउन नसक्ने खोलाले अहिले पूरै रुखलाई बोकेर हिँडिरहेको छ। यो उसको शक्ति र निरन्तरताले भएको कुरा हो। जीवनले पनि यो लय समातेको नै हो तर खोलाको जस्तो प्रवाह लिन सकेन। ससाना झ्यासले पनि उसलाई अड्काउन खोज्यो। कहाँ मिलेन यो लय मैले खोजेर पाउन सकिन।

खोलाको कहिल्यै अन्त छैन। ऊ कहिले खहरे बन्छ। कहिले उग्र रूप लिएर हिँड्छ। यो जीवनले त्यसो गर्न सकेन। ऊ सधैं खहरेमा नै रमायो। किनभने उसले सकेन खोलाको रूप धारण गर्न, अनि सकेन अरूका आँखामा आँसु बगाउन पनि। हैन कता टाढा गयो हो यो खोला र जीवनको सम्बन्ध। हेर्दा उस्तै संघर्षको कथा छ। तर, अन्तरकथा बेग्लाबेग्लै।

कसरी बग्ने हो ए खोला! तेरो आकार र मेरो चाल फरक हुनको कारण के होला? मलाई मबाट हराउँछ कल्पनाले। त्यो खोलाको सङ्लोपना जस्तो कसरी हुने हो, मैले झ्यालबाट बाहिर हेर्न खोजेको थिए। तर, त्यो भर्खरै पलाउन थालेको घामका किरणले तिरिमिरी बनाइदियो।

जति माझे पनि जीवनलाई कहिल्यै सफा बनाउन सकिएन । शास्त्रीय दर्शनमा त बाढीले नदीलाई शुद्ध बनाउने कुरा पढेको हो। काँसलाई खरानी र तामालाई अमिलोले माझ्छ भन्ने कुरा लेखिएको छ तर जीवनलाई केले माझ्ने भन्ने कुरा लेखिएको छैन। त्यही भएर त होला नि जीवनको निखारता कहिल्यै आउँदैन, चाहे लाख कोसिस किन नगरिएको होस्।

खोलाले मानवीय आवश्यकतालाई परिपूर्ति गरिरहेको छ। खेतीयोग्य जमिनका लागि पानी दिएको छ। घर बनाउन चाहनेका लागि ढुंगा, बालुवा र गिटी दिएको छ। जसका कारण मानिसहरू सुरक्षित घरमा आरामले सुरक्षित तरीकाले बसोबास गर्न सक्छन्। यो उसको महानताको कारणले दिएको उपहार हो।

भलै कहिलेकाहीँ हामीले गरेको अन्यायको सजाय बाढी भएर दिन्छ। त्यो मात्र एक चेतावनी हो। हामीलाई यसो नगर भनेर दिएको एउटा महान् ज्ञान हो। तर, हामी यो कुरा बुझ्दैनौ र खोलाले आफूलाई दुख दिएको दुखेसो मात्र पोख्छौ। यो हाम्रो मुर्खता हो। हामीले उसको बाटो रोकेपछि उसले आफ्नु हिँडेको बाटो खोज्नु के नयाँ कुरा भयो र।

कल्पनामा यसो के हराएको थिएँ, उसै बिहान भयो। परेवाका बच्चाको स्वर आएर कानमा गुन्जियो। आमा चारो खोज्न गएकी होली। लामो रातमा भोकाए होलान् उसका बचेराहरू। बाबु मकुरकुरको भावमा गुँडमा नाचिरहेको छ। मलिन सूर्योदयमा उसको घाँटीका साना प्वाँखहरू इन्द्रेनीजस्तै रंगिन देखिए। कहिले घाँटीमा केही अड्किएझैं तन्काउँछ त कहिले चिसोले कठ्यांग्रिएझैं एकै ठाउँमा ल्याएर थुपार्छ। त्यो हेर्नमा जति आनन्द आइरहेको छ। त्योभन्दा बढी मलाई मनको भारीले थिचिरहेको छ।

आमा आई। मुखमा चारोका दानाहरू च्यापेर। रमाए गुँडका बचेराहरू। पालैपालो चारो खाए। म भने उता खाटमा मस्त निन्द्रामा रहेकी चार वर्षे सानीलाई हेरिरहेको छु।

एकछिन सानी नउठे हुने हो। मलाई यी परेको वार्तालाप हेर्न मन लागिरहेको छ। चारो खुवाउन खोजिरहेको बेला एउटा बच्चा नजिकमा आयो। भोकको हतारले होला अडिन सकेन झण्डै झर्‍यो गुँडबाट। धन्न भालेले पखेटाले टेवा दियो र सुरक्षा गर्यो। मैले बुझें परिवारको दायित्व। म हेरिरहें मात्र बोल्नलाई कुनै शब्द आएन। आँखा रसाउलान् भनेर चनाखो रहे। तर, बिहानको मलिन किरणमा शीतका थोपा बिलाएजस्तै भालेको प्वाँखको शक्तिमा हराए ती झर्न लागेका आँसुका थोपाहरू।

पानी बगेर कहाँ जान्छ होला? सानीको बिहानैको जिज्ञासा थियो। मैले समुन्द्र पुग्छ भन्छन् अग्रजहरू मात्र भने। साँचो अर्थमा भन्नुपर्दा म आफैं अनभिज्ञ थिए यो विषयमा। उसले पानी र जीवनको फरक खोजी। म हराएँ आफैसँग। मेरा प्रश्नहरूको उत्तर खै त? सानीको प्रश्नले खोजिरहेको उत्तरको बाटो हरायो। नजिकमा रहेको उसको याद बिस्तारै क्षितिजजस्तै भयो।

हरेक कुराको खोजी हुन्छ। त्यसको सिर्जना भने आवश्यकताले गर्छ। त्यो आवश्यकता कसरी आउँछ भन्ने कुरा कसैलाई थाहा हुँदैन। न त त्यसले आफ्नो समय र यात्राको विवरण दिन्छ न त कोसँग कसरी आउने भन्ने कुरा नै सुनाउँछ। यस्तै भइरहेको मनमा। सानीको कुराले म हराए वा उसको प्रश्नको उत्तर दिन म डराएँ। यो कुरा बाहिर भन्नु हुँदैन। तर, मेरो अन्तरमनलाई भने अवश्य थाहा छ।

म शून्यमा पनि छैन र छैन शिखरमा पनि। बीचको यात्रामा हिँड्दै गरेको मान्छेले कहिले आकाश देख्छ। कहिले धुलो मात्र देखेर निराश हुन्छ। फेरि फूलका रंग देखेर रमाउँछ एकैछिन। लाग्छ क्षणमा नै स्वर्गको स्वादमा अल्लादित भएको छ।

बगरमा रोपिएको वृक्षले के पालुवा हाल्ला त? सकिएन सानीको संवाद। बगिरहेको छ हावाको वेगजस्तै। कुनै बेला बिस्तारै आउँछ र कानमा गुनगुनाउँछ। कुनै बेला वेगले आउँछ र उडाउँछ गल्बखेलाको सप्को। तर जे होस् मिठो लाग्छ उसको त्यो स्वभाव।

मैले संवाद त गर्न खोजिन। मनमनमा भने त्यो विरुवा मजस्तै हो हरेक संघर्ष सहन्छ। बर्खाको भेल र हिउँदको तातो बालुवा तर शान्ति पाउँदैन। हो यस्तै भन्न मन लागेको थियो। तर, बिस्तारै भने बिचरा बर्खामा त लाछिएको हुन्छ। लाछिएको छाला भर्न उसले हिउँद नै पर्खनुपर्छ। मैले यति भन्दा सानीले मेरो मुखमा हेरिरहेकी थिई। अघिसम्म जूनजस्तै चम्किएको उसको अनुहार अहिले मलिन थियो। घाममा ओइलाएको तोरीको सागजस्तै।

मैले कतै चोट पुर्‍याएकी भनेर आफैलाई छामे। अहँ, केही पत्तो लागेन। त्यो मलिन अनुहारबाट एउटा ज्वारभाटा आयो केही थाहा छैन भन्ने। यतिबेला म टोलाएँ। ऊ हाँसी मेरो हारमा। म ऊ खुसी भएकोमा हाँसे। मेरो हार त यतिबेला जितमा परिणत भइसकेको थियो। किनकि उत्तरको प्रबन्ध ऊ आफैले आफूभित्र खोजिरहेकी थिई। एउटा खोलाले आफ्नो बाटो र रंग खोजेजस्तै गरेर।

प्रकाशित: ८ पुस २०७८ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App