रञ्जुश्री पराजुली
घरकी बुढी माउ बिरामी भएर ‘हँहँ र हुँहुँ’ गर्दै सबैलाई आजित पारेकी थिइन्। छोरा, बुहारी र बुढा मात्र नभएर छोरीलाई पनि दिनको दुईचार पटक फोन गरेर आफ्नो बिरामीको दुखेसो पोख्द थिइन्। डाक्टर,वैद्य र जान्ने सबैतिर उनको हाजिर पुगिसकेको थियो।
बुढी माउको खानपान राम्रो थियो। रुचि पनि राम्रै थियो। दिनमा परिवारसँग कचकच गर्दैथिन्। राति निद्रा्र लागेन भनेर बुढालाई गनगन गर्दैथिन्। नातिनातिना ‘हाम्री हजुर आमालाई कहिले पनि निको नहुने रोग लागेको छ’ भनेर चिढ्याउँथे। उनी ‘आफू राति सुत्न सक्दिनँ । दिउँसो हल्लाखल्लाले सुत्न सक्दिनँ। तिमीहरू मलाई खिसी गर्छौ’ भनेर रिसाउँदै थिइन्।
एकदिन दिउँसो घाममा बसेको बेला पल्लाघरे छिमेकी बैनीले उनलाई ‘दिदी टोलमा एउटा नयाँ डाक्टर आएका रहेछन्। अति जान्ने! जस्तो रोग पनि निको पार्ने! मेरो अति रिसाउने बानी पनि उनैले निको पारे। तपाईं पनि त्यहीँ जानुस्’ भनिन्।
बुढी माउले आफू त्यही जँचाउन जाने जिद्दी घरका सबैलाई सुनाइन्। भोलि पल्टै छोरा–बुहारीले उनलाई जँचाउन लिएर गए। डाक्टले उनको स्वास्थ्यसम्बन्धी सबै कुरा सुनेपछि ‘आमा दिनभरिमा केके गर्नुहुन्छ’ भनेर सोधे।
घरभरि परिवार, काम गर्नेहरू छन्। म घरकी मुली हुँ। म किन तिनीहरू सरह काम गर्ने?’ भनेर रिसाइन्।
‘दिनको कति हिँड्नुहुन्छ?’
‘बजार जाने छँदै छन्। म किन हिँड्ने?’
बिरामीको ठाडो जवाफ सुनेर डाक्टरले मधुरो स्वरले ‘म यहाँको रोग ठिक पार्छु। तर, तपाईले पनि मैले भनेको औषधिरूपी क्रियाकलाप पछ्याउनुपर्छ है त’ भने।
–मेरो रोग निको हुन्छ भने म जे पनि गर्छु भन्नुहोस्। डाक्टरले सात दिनका लागि दिनको दुई पटक खाने औषधि लेखिदिए अनि बिहान घरमा पूजा गरिसकेपछि कतै मन्दिरमा पनि हिँडेर दर्शन गर्न जानू राम्रो हुन्छ। अनि मांसपेसीहरू खुकुलो भएर पनि व्यायाम नपुग्नाले राति निन्द्रा लाग्दैन। त्यसका लागि घरको बढार्ने र पुछपाछ गर्ने काम गरे राम्रो हुन्थ्यो। तर, तपाईको घरमा त त्यस्तो काम गर्न सहयोगीहरू नै छन् हैन त?’
‘हो नोकरचाकर बुहारी छन्। तर, सञ्चो हुन्छ भने त म आफू पनि गर्छु नि।’
भोलिदेखि यो औषधि पनि खानुहोस्। अनि मैले सिकाएको व्यायाम पनि गर्नुहोस्। पन्ध्र दिनपछि फेरि एकपटक जँचाउन आउनुहोला है।
सात दिनपछि डाक्टर साहेवको फोनमा ‘डाक्टर बाबु तपाई त साँच्चिकै जान्ने हुनु हुँदो रहेछ। मेरो निद्रा नलाग्ने रोग त निको भयो’ भन्ने आवाज सुनियो।
प्रकाशित: ८ पुस २०७८ ०६:०४ बिहीबार