उपन्यासकार डायमनशमशेर राणाद्वारा लिखित अनीता (२०५४) उपन्यास साझा प्रकाशनबाट तेस्रोपटक प्रकाशित भएको छ।
यसको प्रथम संस्करण नेपाली साहित्य सञ्चयिका दार्जिलिङबाट २०४३ सालमा प्रकाशित भएको हो। यस उपन्यासमा उपसंहारसहित १७ खण्ड छन्, २०० पृष्ठमा। यहाँ प्रत्येक खण्डको सार खिचिएको छ। यसमा नेपाली कांग्रेसको इतिहास रहेको पाइन्छ। लेखकको कल्पना शिल्पी बेजोड छ।
उपन्यासको पहिलो खण्डमा राणाकालीन राजनीतिक दाउपेच, हत्याहिंसा आदिको चर्चा गरिएको छ। राणाशाहविरूद्ध पटनामा गोप्य बैठक राखी अहिंसात्मक आन्दोलनको प्रस्ताव राख्ने विश्वेश्वरप्रसाद कोइराला र हत्याहिंसा अनिवार्य मान्ने सुवर्णशमशेर यहाँ देखापरेका छन्। विश्वेश्वरप्रसाद जेल परेको र गणेशमानले जेलमै सास्ती भोगिरहेको अवस्था यहाँ छ। यस खण्डमा विमला र अनीताको संवादात्मक शैली प्रस्तुत भएको छ।
दोस्रो खण्डमा नेपालबाट कलकत्ता पुगेका चन्द्रकान्त दाहाल र हरिबहादुर मगरको संवाद छ। उनीहरू राजपरिवारको वर्ग विभाजन र सुर्वणशमशेरलाई धपाएको प्रसंगमा केन्द्रित छन्। अन्य पात्र पनि चर्चाको विषय बनेका छन्।
तेस्रो खण्डमा उपन्यासको कथा स्याङ्जा जिल्लामा पुग्छ। हरिबहादुरको विवाह हुने कुरा चल्दै छ। सुवर्णशमशेरको पूजाकोठेको छोरो चालिसे बाजे आफ्नो रूप परिवर्तन गरेर सुर्वणको राजनीतिक सन्देश पुर्याउन हरिबहादुरको घर स्याङ्जा पुगेको छ।
चौथो खण्डमा चालिसे बाजे काठमाडौंमा पक्राउ पर्छ। हरिबहादुरले सुर्वणलाई भेट्छ। भारतका मन्त्री जगजीवनराम र सुवर्णको फोनवार्ता हुन्छ। भारत नेपालमा राणाशासन चाहन्छ तर सुर्वणशमशेर लगायत व्यक्ति त्यसका विपक्षमा छन्। हातहतियार तयार गर्दै छन्। मुक्तिसेनाको तयारी हुँदै छ।
पाँचांँ खण्डमा नेपालको राजनीतिक उथलपुथलबारे कंसाकार सरले हरिबहादुरसँग कलकत्तामै व्याख्या गर्छन्। भारतका प्रधानमन्त्री नेहरू नेपालमा प्रजातन्त्रका पक्षमा छन् तर अन्य व्यक्ति त्यसका विपक्षमा। यस प्रकार नेपालको राणाकालीन राज्यमा उथलपुथल सुरु हुन्छ।
२००४ सालमा राणा सरकारको व्यापक टीकाटिप्पणी हुन्छ। चाकरीबाजहरू निकै सम्पन्न हुन्छन्। सुवर्णशमशेरको श्रीसम्पत्ति अपहरण हुन्छ। सुवर्णका भान्जा थीरबम मल्लसँग हरिबहादुरको भेट हुन्छ। एकातिर कलकत्ता आवासीय नेपाली काउन्सिल र दिल्ली दूतावास सुवर्णको हत्या गराउने दाउमा छ भने अर्कोतिर मुक्तिसेनाको काठमाडौंका राणालाई सखाप पार्ने योजना हुन्छ।
छैटौँ खण्डमा हरिबहादुर र थीरबमबीच संवाद हुन्छ। थीरबमले नेपाललाई प्रजातान्त्रिक बनाउनका लागि लड्न छाडेर विवाह गर्न नजाने सल्लाह हरिबहादुरलाई दिन्छन्। महेशविक्रम शाह कार्यकर्तालाई क्रान्तिको महत्व बुझाउँछन्। हरिबहादुर पनि क्रान्तिकारी बन्छन्। घरपरिवार, विवाह सबै बिर्सन्छन्। सुवर्णशमशेर र हरिबहादुरको भेट हुन्छ। दुवै खुसी हुन्छन्। सुवर्णले हरिबहादुरलाई आफूले बनाएको भारतीय जनभावना बारेको व्यङ्ग्यचित्र देखाउँछन्। महात्मा गान्धीको हत्या हुन्छ। नेहरू नेपालमा प्रजातन्त्र देख्न चाहन्छन्। त्रिभुवनसँग मिलेर उनी अगाडि बढ्छन्।
सातौँ खण्डमा हरिबहादुर कलकत्ताबाट क्रान्तिदूतका रूपमा काठमाडौं आएर भूमिगत जीवन सुरु गर्छ। अनीता पनि काठमाडौंमा क्रान्तिकारी बन्छे। आफ्नो विवाहको कुरा भुल्छे। महिलाहरूप्रति पुरुषहरूले गर्ने असमान व्यवहारप्रति टिप्पणी गर्छे।
रमेश माझीसँग अनीताको भेट हुन्छ। ऊ आकर्षित हुन्छे। हरिबहादुर र रमेश माझी दुवैलाई एकै साथ सम्झन्छे। आफू उनीहरूप्रति आकर्षित हुँदा गल्ती गरेको ठान्छे। पछि त्यस ठाउँबाट निस्केर आफ्नो गाउँ गोतामथोक जान्छे।
आठौँ खण्डमा अनीताको बाबु आइते मगर भारतीय सेनाबाट नेपाल फर्कन्छ। अनीताको बिहे हरिबहादुरसँग हुन नदिन चन्द्रकान्तले नचाहिँदा कुरा गर्छ। अनीता काठमाडौंको स्कुलमा अंग्रेजी पढाउन थाल्छे। ऊ पढेलेखेकी चलाख छे। चन्द्रकान्त अनीतालाई क्रान्तितिर नलागी दरबारतिर झुकाउने प्रयास गर्छ। अनीता मान्दिन। आइतेले राणाहरूको दमन सम्झन्छ।
चन्द्रकान्तबाट कान भरिएकी अनीताकी फुपू पनि दरबारको सम्पत्ति पाइने लोभमा अनीतालाई दरबारतिर पठाउन मद्दत गर्छे। चन्द्रकान्त पनि अनीतालाई राणा सरकार बचाउन मद्दत गर्ने र उसको बाबु आइतेलाई सुवर्णशमशेरको हत्या गर्न लगाएर आफूले जस लिई राणाबाट सम्पत्ति र मान–सम्मान कुम्ल्याउने दाउमा छ।
आइतेको घरमा पण्डित चन्द्रकान्त र अनीताबीच भनाभन हुन्छ। गाउँलेहरू तमासा हेर्छन्। अनीताले सरकारविरोधी भाषण ठोक्छे। सबै डराएर भाग्छन्। पण्डित पनि भाग्छ। आइते पनि छोरी अनीतालाई घरमा बसालेर बाहिर निस्कन्छ।
नवौँ खण्डमा अनीताले रमेशलाई सम्झन्छे,प्रेम गर्छे। आफू प्रेममा विचलित भएको ठान्छे। आइते मगर पुलिसद्वारा समातिन्छ। रातको समयमा नकाबधारी मानिकलाल देउजा अर्थात् अनीताको हुनेवाला पति हरिबहादुर आएर अनीतालाई प्रहरीले पक्रने भएकाले भाग्ने सल्लाह दिन्छ। अनीता घरबाट जाने बेला आफ्ना भाइबहिनीलाई माया गर्छे। बाटामा रातको समयमा बाघ कराउँछ। दुवै डराउँछन्। अनीतालाई देउजाले बोकेर सुरक्षित स्थानमा पुर्याउँछ। दुवैजना फेरि हिँड्छन्।
१०औँ खण्डमा अनीता सीतापाइलामा मदन घर्तीको घरमा आइपुग्छे। हरिबहादुर अर्कोतिर लाग्छ। अनीताका घरमा पुलिसले घेरा हाल्छन्। मखनको दाजु पनि राजनीतिमा लागेकाले आजीवन कैद परेको छ। मखनकी आमा र अनीताकी फुपूबीच पानी भर्ने ठाउँमा कुराकानी हुन्छ। अनीता सरकारी गुप्तचर हो भन्ने झुटो हल्ला जताततै फैलिन्छ। यस कारण उसले लुक्ने ठाउँ पाउँदिन। मदनको घरबाट पनि ऊ निस्कन बाध्य हुन्छे। मखन अनीताको पछि लाग्छे तर अनीता ललितपुर क्वाबहालस्थित हिरण्यवर्ण महाविहारमा एक महिना उपबास बसेर बुद्धको शरण लिने निर्णय गर्छे। मखनले त्यस्तो नगर्न अनुरोध गर्छे। त्यसपछि अनीता इटुमबहालतिर भूमिगत रूपमा राजनीति गर्न थाल्छे। क्रान्तितिर अग्रसर हुन्छे। प्रजातन्त्रको स्थापनाका लागि कार्य गर्छे। वर्गीय विषमताको विश्लेषण गर्छे।
नेपालको गरिबी, दीनहीन अवस्था र दार्जिलिङको तुलना गर्छे किनभने उसको मामाघर दार्जिलिङ हो। नेपालीले अधिकार पाउनुपर्ने विचार व्यक्त गर्छे। पार्टी सचिव रमेश माझी आउँछ। कुराकानी हुन्छन्। अनीता रमेशप्रति पुनः आकर्षित हुन्छे। एकोहोरो प्रेम गर्छे,भर्याङबाट अनीता लड्दा रमेशले समातेर बचाउँछ। अनीता त्यस घटनाबाट झन् उद्दीप्त हुन्छे। किसानहरूसँग रमेशले कुरा गर्छ। अनीता रमेशबाट टाढा हुन चाहन्छे। दार्जिलिङ मामाघर जाने विचार गर्छे। भूमिगत भएकाले डर हुन्छ। विदेशी हातद्वारा रमेश र अनीतालाई प्लेनको टिकट प्राप्त हुन्छ। अनीता दोधारमा पर्छे।
११औँ खण्डमा त्रिभुवनले राजदरबार परित्याग गर्छन्। कलकत्तामा हरिबहादुर र कंसाकार सर मिलेर पार्टीको घोषणापत्र तयार पार्दै छन्। नेपालको राजनीतिक चासो, चिन्ता व्यक्त गर्दै छन्। हरिबहादुर अनीतालाई सम्झन्छ। पत्रिकामा छापिएको फोटो हेरेर आनन्द लिन्छ।
पहिलेका घटना सम्झन्छ। उसले काठमाडौंमा राजनीतिक घटना पनि बताउँछ। थीरबम मल्लसहित सबैले क्लबमा जान लागेका बेला विरक्तिएका दयनीय पद्मशमशेरलाई भेट्छन्।
पद्मशमशेर र सुवर्णशमशेरबीच कुराकानी हुन्छ। हलमा भारत स्वतन्त्रता दिवस समारोह चलचित्र प्रदर्शित हुन्छ। त्यहाँ महावीरशमशेर,मातृकाप्रसाद, विश्वेश्वरप्रसाद,कृष्णप्रसाद र सूर्यप्रसाद पनि हुन्छन्।
विश्वेश्वर र सुवर्णका कांग्रेस पार्टी एक भएर नेपाली कांग्रेस हुन्छ। त्यसको कार्यक्रम पनि हुन्छ। अनशनद्वारा राणाशाहीलाई झुकाएर जेलमुक्त भएकाले ‘वीर विश्वेश्वर जिन्दावाद’को नारा गुन्जिन्छ। सुशीला कोइराला र अनीता मगर नाच्न मञ्चमा जान्छन्। पार्टीलाई आर्थिक सहयोग चाहिएको कुरा उद्घोषकबाट थाहा हुन्छ।
सुवर्णशमशेर चन्दाको हात थाप्छन्। त्यही कार्यक्रममा महावीरशमशेरले क्रान्तिका लागि १२ वटा हवाईजहाजको सेवा, सुवर्णशमशेरले नौ लाख रूपैयाँ,पद्मशमशेरले एक लाख गुप्त चन्दा दिइसकेका हुन्छन्। अन्य व्यक्तिले पनि आर्थिक सहयोग गर्ने वचन दिन्छन्। कार्यक्रम भएका बेला प्रहरी आउँछन्। कति समातिन्छन्, कति भागाभाग हुन्छन्। नेपाली क्रान्तिमा निराशा छाउँछ ।
१२औँ खण्डमा अनीताको मावलीघर दार्जिलिङको परिवेश छ। अनीता मामाघर आएकी छ। ऊसँग रमेश माझी पनि छ। अनीताको हुनेवाला श्रीमान् हरिबहादुरले पढेको पनि हुँदैन। किनकि नेपालमा शैक्षिक अवस्था राम्रो थिएन। नेपालको चाकरी,चाप्लुसी, नातावाद, कृपावाद, फरियावादको चर्चा अनीताले गर्छे। उसका मामामाइजू, त्यस्तो स्थिति सुनेर छक्क पर्छन्। हरिबहादुरले बिहेका लागि पठाएको तार अनीताले पाउँछे। अनीता र उसका मामामाइजू बीच कुराकानी हुन्छ।
अनीताकी माइजूले आफ्नो लोग्नेसँग अनीताको बिहे रमेश माझीसँग गराइदिनुपर्ने कुरा राख्छे। पछि रमेश, अनीता मुर्दावाद... भन्दै एउटा जुलुस आउँछ। अनीताले डटेर प्रतिवाद गर्छे। ‘विश्वेश्वर जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद, क्रान्ति अमर होस्’ जस्ता नारा लगाएर अनीताले आफ्नी माइजूलाई पनि प्रभाव पार्छे। जुलुस हराउँछ। रमेश र अनीता पुलिसको नजरबन्दी वारेन्टका कारण घरबाट निस्कन पाउँदैनन्।
१३औँ खण्डमा अनीता र रमेश एउटै घरमा एकान्तमा बस्दा एकअर्काप्रति आकर्षित हुन्छन् तर अनीताको बिहे अर्कै केटा हरिबहादुरसँग पक्का भएकाले रमेशलाई पीडा हुन्छ। पछि अनीताले आफ्ना मामामाइजूको इच्छाविपरीत हरिबहादुरसँग विवाह नगर्ने विचार व्यक्त गर्छे।
रमेशले अनीतासँग बिहे गर्ने कुरा राख्छ। अनीता सहमत हुन्छे। हरिबहादुरलाई धोका दिन लागेकामा दुःखी पनि हुन्छे। प्रेमका कारण एकअर्कामा चुम्बकझैँ तानिएका अनीता र रमेश प्रेमाशक्त हुन्छन्। रमेश पनि आफूलाई अपराधी ठान्छ। अनीता र रमेशबीच पुराना कुराकानी हुन्छन्। केही समयपछि रमेशमाथि लागेको प्रतिबन्ध हट्छ। रमेश र अनीता दुवै भारतको रक्सौलतिर लाग्छन्।
१४औँ खण्डमा रमेश र अनीता रक्सौल पुग्छन्। मायाप्रीतिका कुरा गर्छन्। नटराज होटलमा साँझ ६ बजे भेट्ने सल्लाह गरी रमेश नेपाली कांग्रेसको कार्यालयतिर लाग्छ। अनीता र श्यामकृष्ण धर्मशालातिर लाग्छन्। त्यहाँकी एउटी महिला र अनीताबीच हरिबहादुरका विषयमा निकै संवाद चल्छ।
नेपालमा बोल्ने स्वतन्त्रता नभएको चर्चा चल्छ। अनीताले डंकन अस्पतालमा थीरबम मल्लको विदीर्ण लास देख्छे। उसलाई विरक्ति हुन्छ। विश्वेश्वरप्रसाद कोइरालाले अनीतालाई सम्झाउँछन्। अनीता आफ्नो बाबु आइते मगरलाई घाइते अवस्थामा देख्छे। क्रान्ति चहलपहल हुन्छ। अनीता र रमेशलाई आफूहरूको प्रेमविवाह हुन लागेका बेला भूकम्प आएको अनुभव हुन्छ। अनेकौँ योद्धा घाइते हुन्छन्। मिसिनरी अस्पतालमा बिरामी हेर्ने जिम्मा रमेश र अनीतालाई आइलाग्छ। अन्य कार्यकर्ता यताउता लाग्छन्।
हरिबहादुरको अपरेसन गर्नुपर्ने भएकाले डाक्टरले अनीतालाई सोध्छ। ऊ केही बोल्दिन, मात्र आफ्नो मान्छे भन्छे। अप्रेसन गर्न श्रीमतीको सल्लाह चाहिने कुरा डाक्टर बताउँछ। रमेशले डाक्टरसँग अनीता हरिबहादुरकी हुनेवाला श्रीमती भन्छ। अनीता र हरिबहादुरको विवाह गर्नुपर्ने स्थिति आइलाग्छ। अनीता दुःखी हुन्छे। अनीताको बाबु आइते मर्छ। हरिबहादुरले अनीतालाई सिन्दूर लगाइदिन नसकेकाले उसको सट्टा रमेशले सिन्दूर लगाइदिन्छ। हरिबहादुर बच्छ तर उसको पुरुषत्व नबचेको कुरा डाक्टरबाट थाहा हुन्छ। ऊ हिँड्न, उभिन सक्तैन। अनीता चिच्च्याउँछे। रमेश भैरहवातिर लाग्छ। युद्धको सम्बन्धमा चर्चा हुन्छ। आइते मगर र हरिबहादुर पक्षविपक्ष भएर युद्ध गरेका हुन्छन् तर एकअर्कालाई थाहा हुँदैन।
१५औँ खण्डमा हरिबहादुर उभिन हिँड्न सक्तैन। गृहयुद्ध समाप्त भई नेपालमा राणाशासनको अन्त्य हुन्छ। राणाकांग्रेसको संयुक्त मन्त्रिमण्डल बन्छ। विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री बन्छन्। भैरहवा कांग्रेस कार्यालयमा मुक्तिसेनाका दुई नेता गोपालशमशेर र डाक्टर केआई सिंहबीच मतभेद हुन्छ। अनेक् व्यवधान खडा हुन्छन्।
नेपालको केही पक्ष राम्रो हुन्छ। यो खबर सुनेर हरिबहादुर खुसी हुन्छ। ऊ पुस्तक पढ्छ। उसकी पत्नी अनीता गृहस्थीमा व्यस्त हुन्छे। सेवा हरिबहादुरको गरे पनि उसको मन रमेशमाथि पुगेको छ। यस्तैमा भैरहवाबाट पिउन आउँछ।
अर्को रमेश माझी पनि त्यहाँ हुन्छ। उसैको बिहेको खबर पिउनले ल्याउँछ। यो कुरा सुनेर आफ्नो प्रेमी रमेश माझी भन्ने भ्रममा परी अनीता दुःखी हुन्छे। पहिलेकै रमेश ठानेर हरिबहादुर पनि बिहे नगरी बस्छु भन्थ्यो,गरेछ भन्छ।
तर त्यो रमेश अर्कै हुन्छ। अनीता रोएको आवाज सुनेर हरिबहादुरले उसलाई बोलाउँछ। हरिबहादुरले भारतीय राजनीतिको कुरा अनीतालाई सुनाउँछ। कांग्रेसमा फुट हुन्छ। नेताहरू जेल पर्छन्। हरिबहादुरले पाउने आर्थिक सहयोग एक वर्षबाट घटेर ६ महिने हुन्छ।
स्वार्थी संसारको चर्चा गर्दै हरिबहादुर आफ्नो स्थितिप्रति खेद व्यक्त गर्दै अनीतालाई अर्को बिहे गर्ने सल्लाह दिन्छ। अनीता रमेशको बिहे भएको भ्रमले गर्दा हरिबहादुरसँग रिसाउँछे। अनीतालाई माइजूको चिठी आउँछ।
हरिबहादुर र अनीतालाई आर्थिक समस्याले पिरोल्छ। उनीहरू वीरगन्ज छाडेर काठमाडौं जान खोज्छन्। यत्तिकैमा मखनको चिठी प्राप्त हुन्छ। हरिबहादुर भरियाद्वारा बोकिएर अनीतासहित काठमाडौं पुग्छ। अनीताको माइती गोतामथोकतिर लाग्छन्।
त्यस बेला बाघ डुक्रन्छ। उनीहरू आत्तिन्छन्। बाघले झम्टन्छ। ती बाघ अनीताकै भाइबहिनी हुन्छन्। उसका टुहुरा, बिच्चलीमा परेका भाइबहिनी नै पेट पाल्न बाघको आकृति बनेर बटुवालाई लुट्ता रहेछन्। उसका भाइबहिनी लुक्न भाग्छन् तर अनीताले बोलाउँछे। पछि चिनेर आउँछन्।
अनीताका भाइबहिनीको घर जलाएका कारण उनीहरू ओढारमा बस्छन्। तथाकथित नक्कली कांग्रेसले उनीहरूको घरमा आगो लगाइदिएको तथ्य थाहा हुन्छ। यस कुराले हरिबहादुर खिन्न हुन्छ। सबैजना गोतामथोक पुग्छन्। फटाहा चन्द्रकान्त दाहाल नक्कली कांग्रेस बनी सबै घटना घटाएको रहस्य अनीताले थाहा पाउँछे। चन्द्रकान्त फटाहाका केही अनुयायीहरू अनीताको विरोध गर्न तत्पर हुन्छन्। अनीताका भाइबहिनी भाग्छन्। अनीता र हरिबहादुर पनि वनतिर लाग्छन्।
१६औँ खण्डमा विश्वेश्वरप्रसाद कोइराला र हरिबहादुरबीच संवाद हुन्छ। हरिबहादुर देशप्रति चिन्तित छ। ऊ डोकामा बोकिएरै अनीतासहित पुरानो राजनीति गर्ने ठाउँ इटुमबहालतिर लाग्छ। कंसाकार सरलाई उसले नयाँ सडकमा भेट्छ। पुरानो स्मृतिलाई ताजा बनाउँछ।
अहिले हरिबहादुरलाई पुराना साथीहरूले वास्ता गर्दैनन्। साथीहरू पदमा पुगेका छन्। हरिबहादुर अझ दुःखी हुन्छ,अझ बिरामी पर्छ। उसलाई वीर अस्पताल पुर्याइन्छ। सबै हेर्न जान्छन्। त्यही उसको मृत्यु हुन्छ। अनीता दुःखी हुन्छे।
उपसंहार अर्थात् अन्तिम खण्डमा अनीताको जीवनवृत्त खिचिएको छ। मखन घर्तीले पार्टी परिवर्तन गर्नुका कारण दिइएका छन्। विधवा अनीताको पीडा बयान गरेर साध्य छैन। उसलाई रमेशले चिठी पठाउँछ। आफ्नी पत्नी भएको कुरा चिठीमा हुन्छ। रमेश माझीको बिहेका सन्दर्भमा पिउनसँग अनीताको कुरा हुन्छ। रमेश अनीतालाई भेट्न आउँछ। अनीता उसको स्वागत गर्छे। रमेश अझै पनि पुलिसको वारेन्टमा छ। अन्त्यमा रमेश र अनीता सत्यग्राही बन्छन्। उपन्यास टुंगिन्छ।
साँच्चै हो, डायमनशमशेर राणाले अनीता उपन्यासमा नेपाली कांग्रेसको इतिहासलाई लिपिबद्ध गरेका छन्। कतै यथार्थ, कतै काल्पनिक वर्णन, कतै प्राकृतिक सौन्दर्यको वर्णन,कतै प्राकृतिक रूपको समेत वर्णन यसमा पाउन सकिन्छ।
यहाँ सम्पूर्ण तिथिमिति प्रस्तुत नगरिए पनि घटनाको कलात्मक वर्णन गरिएको छ। अनीता यस उपन्यासकी मुख्य नायिका हो। यसको जीवन अत्यन्त बाध्यात्मक परिस्थितिमा गुज्रिएको छ। पढेलेखेकी राम्री, क्षमतावान् भएर पनि यसले सुख पाएकी छैन। यसलाई न शारीरिक सुख मिलेको छ,न आर्थिक,न मानसिक। बिहे नगरेरै कसैकी दुलही भएकी छ, विधवा भएकी छ। वैवाहिक जीवनको वास्तविकतालाई यसले भोग्न पाएकी छैन।
अन्तिममा रमेशले उसलाई पत्नीका रूपमा स्वीकार गरे पनि रमेश पुलिसको वारेन्टमा भएकाले अनीताले वैवाहिक जीवनमा सुख पाउली भन्ने सम्भावना छैन। दुवै सत्याग्रही बनेका छन्। राजनीतिमा समर्पित छन् तर उनीहरूको लक्ष्य प्राप्त हुन्छ हुँदैन, उपन्यास यस कुरामा मौन छ।
नारी भएर अनीताले जुन साहसिक कार्य गरेकी छ, त्यो उदाहरणीय छ। जुनजुन व्यक्ति देशप्रति समर्पित भएर सच्चा हृदयले काम गर्छन् ती पछि पर्छन् तर जो अवसरवादी छन्,तिनले स्थान र मान पाउँछन् भन्ने तीतो यथार्थ पनि यस उपन्यासमा मार्मिक रूपमा आएको छ। हरिबहादुरजस्ता सच्चा कार्यकर्ता एकातिर छन् भने चन्द्रकान्त जस्ता कुख्यात, बहुरूपी, द्रव्यपिशाच अर्कातिर छन्।
यस्ता कुरामा सर्तक हुनुपर्ने सन्देश पनि उपन्यासमा पाइन्छ। समग्रमा उपन्यास ऐतिहासिक, हृदयस्पर्शी, पठनीय र कलात्मक छ। राजनीति नबुझ्ने र यसप्रति वितृष्णा राख्ने पाठक भने यस उपन्यासको स्वाद लिनबाट पछि पर्छन्। उपन्यासले सोच्न बाध्य बनाउँछ।
प्रकाशित: ३ पुस २०७८ ०३:४८ शनिबार