१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

गाली

लघुकथा

नवराज शर्मा

सपरिवार डुल्न ननिस्केको धेरै दिन भएको थियो। त्यसैले आज शनिबार सिनेमा हेर्ने, बाहिर खाने, रमाइलो गर्ने भनी बिहानै शहरतिर हानिएका थियौं। मस्ती गरी मस्त भई बेलुका अलि ढिलै घर फर्केका थियौं। घरनजिक आइपुग्दा निकै हल्लीखल्ली सुन्यौं। केटाकेटी घरतिर पठाई के भएको रहेछ भनी बुझ्न गएँ।‘होइन, यसलाई त्यसै छोड्नु हुन्न।’

‘अनि के गर्ने ? काटे रगत आउँछ, निचोरे कुन्नि के जाति आउँछ।’

एउटा फुकिढल आकृतिलाई पाता फर्काई मान्छेहरू कल्याङमल्याङ गरिरहेका थिए।

‘होइन के भयो? कुट्नु हुन्न हौ!’ भन्दै म अघि सरें। मलाई देखेर सबै मुखामुख गर्न लागे।

मेरो बोलीमा मायालु छनक पाएर होला त्यो ‘सुसुपाल’ पनि केही आशावान् देखियो।

‘हो हजुर,  दुई दिनदेखि अन्नको गेडो देखेको छैन।’ सारंगी जस्तो पेट देखाएर ऊ दुख पोख्दै थियो।

‘बरा!’ मलाई माया लाग्यो।

अरू गललल्ल हाँसे। मलाई ननिको लाग्यो।

‘म चोर होइन हजुर! परिस्थितिले चोर बनायो। आज परिबन्धमा परियो।’

‘कसको घरमा चोरेछ यसले?’ म भिडतिर फर्कें।

‘तपाईंको घरमा।’ जवाफ अप्रत्याशित थियो। म खङग्रङ्ग भएँ। अघि मुखामुख गरेको रहस्य खोल्यो भिडले। तथापि मेरो ओठमा अझै मुस्कान थियो, नकली मुस्कान।

‘केके चोर्यौ त?’

‘काँ चोर्नु हजुर! ताल्चा फुटाल्नै पाइनँ, समाइहाले।’

सबै पुनः मुखामुख गरी हाँसे। म ढुक्क भएँ। मेरो मुखमा चमक देखियो, सकली चमक।

‘चोर्ने काम पनि गर्नुहुन्छ लाटा! काम गरेर खानु पर्दैन?’

‘चोर्न मन त थिएन। पेटले चोर्न लगायो हजुर!’

‘कुरा गर्न त सिपालु रहेछौ नेताहरू जस्तै।’

उसको मुख रातो भयो। एकछिन गम खायो अनि खिन्न भएर भन्यो, ‘बरू मलाई चोर भन्नुस्, सजाय दिनुस् तर बिन्ती छ नेता भनेर गाली नगर्नुस् हजुर!’

प्रकाशित: २९ मंसिर २०७८ ०५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App