२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

जूनका टुक्राहरू सार्वजनिक

मुक्तककार तीर्थराज अधिकारीको ‘जूनका टुक्राहरू’ अंग्रेजी अनुवाद ‘पिसिस् अफ द मुन’ सहितको मुक्तक संग्रह  नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सार्वजनिक गरिएको छ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष  तथा प्रमुख अतिथि  रोचक घिमिरे, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष कार्यक्रम सभापति रामकाजी कोने, समालोचक प्राडा लक्ष्मणप्रसाद गौतम, अनुवादक भोजराज न्यौपाने, लेखकका बुहारी मञ्जु अधिकारी र नातिनी प्राञ्जल अधिकारीले एकैसाथ विमोचन गरेका हुन्।

कार्यक्रममा अनुवाद भोजराज घिमिरेले घनिष्ट मित्रताको कारण कृतिको अनुवाद गरेको बताए। उनले भने, ‘मुक्तककार अधिकारी आफ्नो घनिष्ट मित्र भएको हुँदा मैले मुक्तक संग्रहको अनुवाद गरेका हुँ। शब्दको अर्थ मात्रै दिएर गरेको अनुवाद त्यत्ति अर्थपूर्ण हुँदैन। हामीले संस्कार, संस्कृति र भूगोल आदिलाई जोडेर भावानुवाद गर्नुपर्छ। मैले यस कृतिको भावनानुवाद गरेको छु।’

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले संसारको कुनै पनि भाषाको हुबहु अनुवाद नहुने बताए। उनले अनुभूतिको गहिराइ छामेर लेखिएका ‘जूनका टुक्राहरू’ मा उत्कृष्ट मुक्तकहरू भएको  बताए।

त्यसैगरी प्रमख अतिथि रोचक घिमिरेले विदेशमा बसेर पनि मुक्तककार अधिकारी नेपाली साहित्यमा समर्पित भएकोमा खुसी व्यक्त गरे।

मुक्तककार निशा केसी र दिव्य गिरीले कृति भित्रका केही मुक्तक वाचन गरेका थिए। राधेश्याम लेकालीले स्वागत मन्तव्य दिएको उक्त कार्यक्रममा कवि विष्णुबहादुर सिंहले धन्यवाद ज्ञापन गरेका थिए भने यादव भट्टराईले कार्यक्रम चलाएका थिए।

कार्यक्रममा लव गाउँले, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, नरेन्द्रराज पौडेल, लक्ष्मी उप्रेती, ललिता दोषी, मन्दिरा मधुश्री, कल्पना श्रेष्ठ कल्पपुञ्ज, रामप्रसाद पन्त, विनोद नेपाल, प्रकाश घायल, पुष्कर लोहनी, श्रीराम राई, भाग्यशाली अधिकारी, लीलाराज दाहाल, गुप्तबहादुर श्रेष्ठ,  मीना चौलागाईं, पार्वती भट्ट, सुरेश भट्ट लगायतका लेखकसाहित्यकाहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ मंसिर २०७८ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App