२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

गणेश रसिककी पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना

रेडियो फिक्कलका अध्यक्ष तथा गायक/संगीतकार गणेश रसिकले दिवंगत पत्नी नीरा शेरचन राईको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन्। 

गणेश रसिक फाउन्डेसनकी सस्थांपक अध्यक्षसमेत रहेकी स्वर्गीय राईको ४५औं दिनको पुण्यतिथिमा रसिकले २० हजार रुपैयाँ नगद राशिसहितको पुरस्कार घोषणा गरेका हुन्। यो पुरस्कार हरेक वर्ष १ नम्बर प्रदेशका उत्कृष्ट पत्रकारलाई प्रदान गरिने रेडियो फिक्कलले जनाएको छ।

हरेक कात्तिक १० (नीराको निधन भएको दिन) मा यो पुरस्कार प्रदान गरिनेछ। तर, यो वर्ष चाहिँ रेडियो फिक्कलको स्थापना दिवस (पुस १७) मा पुरस्कार प्रदान गरिने भएको रेडियोका समाचार प्रमुख राजकुमार दाहालले जानकारी दिए।  

साहित्यकारसमेत रहेका रसिक नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठान पूर्वसदस्य–सचिव र साझा प्रकाशनका पूर्वमहाप्रबन्धक हुन्। समाजमा राम्रो काम गर्नेलाई सधैं हौसला प्रदान गर्नुपर्ने र आफूलाई समाजका लागि योगदान गर्न पत्नी नीराको सधैं हौसला रहने भएकाले उनकै नाममा पुरस्कार स्थापना गरेको रसिकले बताए। ‘पत्रकारिता समाजको ऐना हो,समाजमा विकास र परिर्वतनका पक्षमा सकारात्मक कलम चलाउनेमध्येका पत्रकारलाई पुरस्कारले थप हौसला प्रदान गर्ने आशा छ,’रसिकले भने,‘जीवनको अन्तिम साससम्म पनि मेरी पत्नीको धारणा समाजको सकारात्मक प्रगतिमा योगदान दिने व्यक्तिलाई सम्मान गर्नुपर्छ भन्ने थियो।’

पत्रकारिताका माध्यमबाट निष्पक्ष रूपमा समाजका लागि योगदान गर्नेलाई हरेक वर्ष पुरस्कृत गर्ने नीराकी छोरी निरजा राई प्रधानले बताइन्।

पुरस्कृत व्यक्तिको छनोट,सहजीकरण र वितरणको व्यवस्थापन गणेश रसिक फाउन्डेसनको समन्वयमा रेडियो फिक्कलले गर्ने समाचार प्रमुख दाहालले जानकारी दिए। कोरोना सङ्क्रमण भएपछि काठमाडौको ह्याम्स अस्पतालमा उपचाररत नीराको गत कात्तिक १० मा निधन भएको थियो।

प्रकाशित: २५ मंसिर २०७८ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App