सन् १९६४ मा प्रकाशित विद्याधर सुरजप्रसाद (भिएस) नैपालको ‘एन एरिया अफ डार्कनेस’ पढेपछि मलाई आफू गएको ठाउँको अनुभवलाई यति कलात्मक कथाको स्वरूपमा प्रस्तुत गर्न सकिँदो रहेछ भन्ने पहिलो चस्का लागेको थियो।
आफ्नै पुर्खौली थलो भारतबारेको उनको यो प्रस्तुति अत्यन्त निराशाजनक रहेको थियो। त्यो अर्को कथा हो। यो कथा नै एउटा ट्रिलोजी बन्यो पछि। अर्थात्, भारतमा उनले जे देखे, जे भोगे त्यो ठूलो पीडा बन्यो उनको जीवनको। यो पीडाबाट उनी स्तब्ध भए।
तर निस्तब्ध बिल्कुल भएनन्। जसले गर्दा यसै प्रसंगबाट अर्को किताब पनि निस्कियो– इन्डिया: ए उन्डेड सिभिलाइजेसन। यसमा त उनी निराश मात्र होइन,भारतप्रति आक्रोशित बनेका छन्। यसै सेरोफेरोको एउटा उपन्यास अगाडि नै निस्किसकेको थियो–‘ए हाउस फर मिस्टर विश्वास’। र,यी तीन किताबको समूह ट्रिलोजी बन्यो एउटै कुराको– इन्डियन कति फटाहा, कति धूर्त, कति पाखण्डी र कति ढोंगी छन् भन्ने।
भ्रमण कथा या न्यारेटिभभन्दा धेरै मनपर्छ मलाई उनको सूक्ष्म रूपले हेर्न सक्ने क्षमता। हरेक मान्छेले आफ्नो जीवनमा कुनै न कुनै वेला अनुभव गरेको तर मनमा विलुप्त भएको सानोभन्दा सानो कुरा पनि ट्याप्प टिपेर देखाउन सक्ने उनको खुबीले पाठक हृदयमा ठाउँ फेला पारिहाल्छ।
अंग्रेजी भाषाको बलियो पकड र प्रस्तुत गर्ने मिठो शैलीले गर्दा एकपटक नैपालको किताब पढेको मान्छेले उनलाई हत्तपत्त बिर्सन सक्तैन। स्टोरीभन्दा त्यो स्टोरी बुन्ने जुन कला छ, उनको त्यो मलाई अत्यन्त मन पर्दछ। जसले गर्दा उनको त्यो किताब पढेपछि नियात्रा लेख्न म पनि लालायित बनेको हुँ।
अनेकौँपटक देश देशान्तरको भ्रमण गरे पनि नैपालले लगाएको संस्मरण या नियात्रा लेख्ने चस्काले केही जन्माउन यत्रो अवधिभरि सकेन, जबकि म करिब निरन्तर लेखिरहेको छु। नैपालबारे केही नलेखेको भने होइन।
उनले सन् २००१ मा साहित्यमा नोबेल पुरस्कारको पाएपछि ‘दि काठमाडौं पोस्ट’को आफ्नो स्तम्भ ‘दि डाइनामिक्स अफ चेन्ज’मा मैले केही लेख लेखेँ, उनको बारेमा। र, एउटा पेपर पनि प्रस्तुत गरेँ ‘लिटररी एसोसिएसन अफ नेपाल’को वार्षिक कार्यक्रममा,जुन त्यस संस्थाको जर्नलमा छापिएको पनि छ। शीर्षक हो– ‘नैपाल इन द बिनल कन्टिनेन्ट’।
मैले नियात्रा चाहिँ किन लेख्न सकिनँ त अहिलेसम्म ? यसको कारणलाई मैले सानोमा पढेको एउटा उक्तिबाट अर्थ्याउँछ। त्यो थियो– ‘प्रोक्रास्टिनेसन इज दी थिप अफ टाइम’ अर्थात् गरुँला भन्ने तर नगर्ने बानी समय चोर हो। यो बानीले गर्दा यति लामो जिन्दगीको समय चोरिएर नै गयो। खैर, जे भयो, जे गयो, त्यो गयो। पोखिएको दूधबारे कुरा गरेर के हुन्छ र ? मेरी उनी र म एक बनेपछिको समय पनि यसरी नै गयो।
लामो समयपछि एक दिन उनीले नैपालको त्यो ट्रियोलजीमध्येको पहिलो पुस्तक समयको लामो अन्तरालमा आफैँ बन्दै गएको हाम्रो सानो लाइब्रेरीबाट निकालेर पढिछन्, ‘ए हाउस फर मिस्टर विश्वास’। पढेर मुग्ध भएपछि उनले एक दिन भनिन्–‘जब हामी सँगै घुम्छौँ र जहाँ जाँदा पनि सँगै जान्छौँ भने यात्रा संस्मरण किन नलेख्ने? वैयक्तिक अनुभव,धारणा र आफूले देखेको संसारबारे हाम्रो मानसपटलमा कुदिएका व्यहोरा अरू धेरैसँग किन नसाट्ने? सायद त्यसले खुसी दिन्छ।
जिन्दगीको आधाररेखा या निष्कर्ष खुसी नै हो नि ! पछि त्यो हराएर जान्छ र आफैँलाई सोध्नुपर्ने हुन्छ– हामी पनि त्यहाँ गएको थियौँ,होइन र भनेर?’ उनले मेरो मनमा रहेकै कुरालाई सियोले चस्स पारेसरह गरिन्। स्फूर्त मैले भनेँ–हो, एकदम ठीक कुरो,ल मिलेर गर्ने। यो तय गरेको पनि हाम्रो सानो जीवनको एउटा युग बितेकोसरह भइसक्यो। नातिनातिना नै ठूला हुँदै गइसके।
खै त्यो दिन नै कहिले आएन? तीन वर्षअगाडिको ताल्चा विमानस्थलदेखि करिब पाँच घन्टा पैदल हिँडेर पुगेको राराको गजबको अनुभव पनि धुमिल हुँदै गइसक्यो। कति खुसी भएका थियौँ हामी त्यो प्रकृतिको वरदान स्वरूप हामी नेपालीले पाएको नीलो तालको वरिपरि हिँड्दा! राजा महेन्द्र यति मुग्ध भएछन् २०२० सालमा त्यहाँ पुग्दा, उनले त राराको उत्तरपूर्वको किनारामा क्याम्प गाडेरै बसे।
अनि कविता लेखे, ‘सुन्दरताको भण्डार रारा’ भनेर। हामीले त राराले दिएको त्यो खुसी पनि अझै अरूसँग बाँड्न पाएका छैनौँ। हालैको हाम्रो पोखरा भ्रमणपछि हामीले एक अर्कालाई भन्यौँ–भएन यसरी। त्यो अठोट गरेको पनि एक महिना बितिसकेको छ। जेहोस् यसपटक हामी दुई लेख्न बसेका छौँ।
जब हामी दुई एक बन्यौँ, पोखराको प्राकृतिक छटासँगको समागम कहिले नअघाउने खालको भयो। यस्तो ठाउँ बन्यो हाम्रो जीवनमा जहाँ रम्न जहिले पनि हाम्रा उत्सुकताले भरिएका आँखाहरूमा खोजिरहेका हुन्थे।
पोखराको भूगोल नै यस्तो रह्यो जसले हरेकपटक हामीलाई नयाँ अनुभूति दियो। हामी प्रत्येकपटक तृप्त हुन चाहन्थ्यौँ। पुगेर आयो तर फेरि त्यहाँ जान मन लागिसकेको हुन्थ्यो। यस क्रममा हामी गन्नै नसकिनेपटक त्यहाँ पुगेका छौँ। हाम्रो यात्राको यो क्रम अहिलेसम्म चालू छ, विगत ४४ वर्षदेखि। पहिले जान त्यति सहज थिएन किनकि त्रिभुवन विश्वविद्यालयको पठनपाठनको क्यालेन्डरसँग तालमेल मिलाउनुपर्थ्यो।
हामी एक भएको करिब तीन वर्षपश्चात् हामी दुवै प्राध्यापनमा थियौँ– म उषा अस्कलमा प्राणीशास्त्र पढाउने र उहाँ पत्रकारिताका साथै सरस्वती क्याम्पसमा अर्थशास्त्र पढाउने। यसबाहेक छोराछोरीको हेरचाहको। छोराछोरीलाई सँगै लैजान मिल्ने भएपछि ती पनि सँगै हुन्थे हाम्रो भ्रमणमा। वास्तवमा यति नै वेला हो हामीले कहिले धनकुटा,कहिले जनकपुर,कहिले आबु खैरेनीदेखि हिँडेर मनकामना त कहिले कता गरेर आफ्नो मातृभूमिको दर्शन गरेको। पोखराचाहिँ अटूट रूपमा।
अघिल्लोपटक हामी सन् २०१९ लाई बिदा गरेर नयाँ वर्षलाई स्वागत गर्न पोखरा पुगेका थियौँ। यसपालिको पोखरा भ्रमण भने लामो अन्तरालपछि गत महिना कार्तिक ४ मात्र हुन सक्यो। अनि १४ गते आइतबारसम्म रह्यौँ हामी पोखरामा। यसरी यो भ्रमण ६६२ दिन अर्थात् करिब २२ महिनापछि मात्र हुन सकेको हो। यी दुई भ्रमण धेरै फरक थिए हाम्रा लागि।
फरक त्यहाँको चहलपहलमा मात्र होइन अन्ततः हाम्रो मनको खुसीको थियो। थाकेका खुट्टाहरूबाट डुलेर बटुलेको अनुभूतिसँग गत वर्षको सम्झनाको गोरेटोमा कुदेर पुगेको अनुभूतिसँग अनायास दाँज्न पुग्यो हाम्रो मन। हामीले चाहेर होइन। खुसीले ओतप्रोत भएका थियौँ दुवैपटक। त्यही पोखरा, त्यही नै हौ हामी तर अनुभूति फरक रह्यो। जे फरक थियो त्यसलाई वर्णन गर्ने हो भने हामी यसपटकको भ्रमणबारे प्रवेश नै गर्न पाउने छैनौँ। कारण हो मनभित्र धेरै डुल्नुपर्ने हुन्छ। त्यहाँ सँगालिएर रहेको अनुभूतिका पत्रैपत्र पल्टाउनुपर्ने हुन्छ। र, त्यसको तस्बिर हेर्न तुलनात्मक रूपमा व्याख्या गर्नुपर्ने हुन्छ।
यो प्रयास मात्र गर्ने हो भने पनि हामी दुवैले धेरै कुरो सिक्नुपर्ने र यसको अवधारणात्मक खाका नै तयार पार्नुपर्ने हुन्छ। सायद फ्रायडको ‘इद, इगो र सुपर इगो’बाट सुरु गर्नुपर्ने हुन्छ होला। मनभित्र अनवरत चल्ने सागरको जस्तो छालहरूले कति कुरा दबाइदिएका हुन्छन्,कति उठाइदिएका–चेतन र अचेतन मनको ओहोरदोहोरमा।
झ्वाट्ट हेर्दा नलाग्ला तर खुसी मान्छेको अहंसँग गाँसिएको हुन्छ– त्यसको फुक्ने र खुम्चिने क्रमसँग अनुबन्धित भएर जसरी प्राकृतिक चक्र छ औँसी र पूर्णेको। मान्छेको हकमा यो चक्र उसले सम्हाल्न सक्नेभन्दा बढी भयो भने धेरै ठूलो समस्या पर्न सक्छ ऊ जतिसुकै प्रतिभाशाली किन नहोस्। त्यसैले वैयक्तिक खुसी अनुभव गर्न सकिन्छ तर व्याख्या गर्न सकिँदैन।
सायद यति मात्र भन्न सकिन्छ कि सकारात्मक मनोवेगले नकारात्मकलाई जितेका वेला प्राप्त गरेको सन्तुष्टि हो। व्यक्तिपिच्छे फरक हुन्छ र व्यक्तिको पनि प्रत्येक क्षणपिच्छे। त्यसैले यो नितान्त आत्मपरक कुशल मनोवेगको सन्तुलित अवस्था हो।
फेरि सामाजिक खुसीको अर्कै कथा छ जहाँ राजनीतिले हाँकेको हुन्छ। आध्यात्मिक खुसीको झन् अर्को। बुद्धले हरेस खाएर बोधी वृक्षमुनि सुतेका वेला शून्यताको अनुभव गरेपछि जुन उन्मुक्ति पाए, त्यो पनि खुसी हो,सम्पूर्णताको, असीम प्रकाशको।
त्यसैले हाम्रो खुसी भनेको हाम्रो आफ्नो खुसी हो। तर यो समाजबाट अलग हुन सक्दैन। हाम्रो खुसी उपयुक्त त्यति वेलासम्म मात्र हुनसक्छ जति बेलासम्म हामीले हामीजस्तै अरूको खुसीलाई नोक्सान पुर्याएको हुँदैनौँ।
अब यहाँनिर आएपछि अघिल्लो र यसपटकको खुसीलाई हेर्दा अघिल्लोमा तामझाम बेग्लै थियो। २९ डिसेम्बरको बिहीबारको मध्याह्नमा हामी पोखरा विमानस्थलमा उत्रिएदेखि त्यो तामझाम देखिएको थियो।
ट्याक्सी लिएर मुस्ताङ चोक कटेपछि नै चहलपहल हेर्दै अगाडि बढ्दा देब्रेतिरको बस स्ट्यान्डमा गाडीहरू खचाखच देखिन्थे। तर राष्ट्र बैंक चोक कट्ने अलि अगाडिबाट त्यो तामझाम हराएजस्तो भयो। देब्रेतिर ओरालो झरेपछि झन् हरायो।
सानो बुलौदी खोला तरेपछि अझ बढी हरायो। तर जब त्यहाँबाट दाइने मोडियो गाडी अनि त पूरा दृश्य देखियो गौरी घाटसम्मको। बसुन्धरा पार्कमा आइपुग्दा स्वागत द्वारहरू देखिन थाले। रत्न मन्दिर कटेपछि दुलहीजस्तो सिँगारिएकी पोखरा।
गाडी गुड्न सहज थिएन तर पनि हामीलाई जान दिइएको थियो। काठमाडौंबाट बुक गरेको होटेलमा पुग्यौँ। कत्रो उल्लासका साथ लेकसाइड पुगेको हामी निराश भयौँ होटेल देखेर। पहिलेपहिले आउँदा बस्ने गरेको होटेलमा अनुरोध गर्यौँ।
नजिकैका दुई–चार होटेल चहार्यौँ पनि। तर सब बेकार! सबैतिर फुल। भ्याइनभ्याई,बोल्ने फुर्सद पनि थिएन उनीहरूलाई। यत्तिकैमा हाम्रा सम्धीज्यू आफैँ गाडी हाँकेर हाम्री सम्धिनीज्यूलाई अगाडि राखेर आइपुग्नुभयो– साथमा अरू परिवारलाई। उहाँको अरू परिवार भनेको हाम्रो ज्वाइँ, छोरी, नाति र नातिनी थिए। होटेल कोठामा छिर्यौं तर कसैलाई चित्त बुझेन। फरक यति थियो कोही बोलेर भन्ने कोही नबोलीकन। त्यसपछिको अर्को प्रयासमा राम्रै होटेल पाइयो र सर्यौँ। हामी पाँच दिन बस्यौँ त्यहाँ।
त्यतिवेलाको पहिलो खुसी पोखरा विमानस्थल उत्रिए पछिको थियो। ओर्लिंदै गर्दा अगाडि माछापुच्छ्रे हाँसिरहेको। अन्नपूर्णको शृंखला चाँदीजस्तो टल्किरहेको खुला र उज्यालो आकाशमा। त्यस्तो दृश्य बिरलै देख्न पाइन्छ। मेरो श्रीमान्ले पर्ख पर्ख भनेर अगाडि गएर म विमानको भरेङबाट ओर्लिंदै गरेको फोटो खिचिदिनुभयो र एकजना सँगै झरेको सज्जनले हामी दुवैको,हाँसेको हिमालको ब्याग ग्राउन्डमा।
यो एउटा खुसी थियो हिमालको शृंखलाजस्तै हाम्रो खुसीको शृंखलामा। त्यसपछि अर्को खुसी बन्यो जब हाम्री नातिनी गाडीबाट उत्रेपछि दौडेर हामीकहाँ आई र हामीले गम्लंग अँगालो हालेर त्यसलाई कतिचोटि हो कतिचोटि म्वाइँ खाएका थियौँ। त्यसपछिको खुसी बन्यो बेलुका जब हामी सबै मिलेर घुम्न गयौँ, सम्धी सम्धिनीज्यूको सामीप्यमा।
बेलुका देख्यौँ लेकसाइड धपक्क बत्तीले सिँगारिएको। अटाइनसक्नु मान्छेको ओहोरदोहोर थियो पूरा सडकभर, गाडी निषेधित क्षेत्र बनाएर। गीत गाइरहेका छन्। सडकको बीचबीचमा आगो बालेको ठाउँको वरिपरि झुन्डझुन्ड बसेका छन्।
बत्तीको झकाझकमा पेय पदार्थले मात्तिएका आँखाहरू केही मिठो खोजिरहेका देखिन्थे त्यो ओहोरदोहोरमा, जुन बसुन्धरा पार्कदेखि हल्लन चोकको पश्चिम पामे खपौडी हुँदै घाँटीछिन्ना जाने मूल सडकको पहिलो घुम्तीसम्मको।
दक्षिण फेवातालपारि पश्चिमपट्टिका गाउँहरूमा बलेका बत्तीहरू देखिन्थे। बत्ती नदेखिएका पूर्वपट्टीको जंगलको माथि टक्रक्क देखिन्थ्यो शान्ति स्तूपको बत्ती।
कुनै वेला औलो लाग्छ भनेर हुनेखाने कोही नजाने बैदाममा जुत्ता सिउने, बाजा बजाउने र माछा मार्नेहरूको झुपडीहरू हुन्थे। ती कता पुगे कता पुगे अहिले। यसलाई पनि जेन्ट्रिफिकेसन नै भन्नुपर्ला।
जुन अमेरिका जस्तो मुलुकमा पनि अझै हुँदैछ। हामीले केही वर्षअगाडि अमेरिकाको प्रसिद्ध विश्वविद्यालय स्टान्फोर्ड जाँदा इस्ट पालो आल्टोमा यस्तो हुँदै गरेको देखेका थियौँ। हाम्रो किसिमको जेन्ट्रिफिकेसनले बैदामलाई अहिले लेकसाइड बनाएको छ।
विन्ध्यवासिनी मन्दिरको पश्चिमपट्टिको फेदमा मोहरिया टोल, भैरव टोल, गणेश टोल, भीमसेन टोल र रामकृष्ण टोल बनेर खुम्चिएको पोखरा फेवातालसम्मै जोडिएको छ। नयाँ पोखरा त पालिखे चोकबाट पो सुरु हुन्छ–महेन्द्र पुल,चिप्ले ढुंग्रा, न्युरोड हुँदै जिरो किलोमिटर र हल्लन चोकसम्मको। यसको हबचाहिँ बनेको छ लेक साइड नै।
त्यो हबमा त्यो रात नाति नातिनीलाई हिँडाएर बोकेर,ठाउँठाउँमा सडकको बीचमा तिनलाई अँगालो मारेर आगो तापेको ती क्षणले दिएको खुसी कसरी वर्णन गर्न सकिन्छ र? विज्ञानको पहुँचभन्दा बाहिरको कुरो हो वर्णन गर्ने। न दर्शनले नै सक्छ।
हाम्रो पोखरा बसाइ प्राकृतिक छटा र नातिनातिनीसँगको मोहित अनुरागसँग लयबद्ध भएर बित्यो। यस क्रममा धेरै समय लेक साइडमा वरिपरिमा बित्यो। डुंगा चढेर वाराही मन्दिर जाँदा बच्चाबच्ची रमाएका थिए। पोखरा सहर घुम्दा त्यति चासो देखाएनन् जति वेगनाश ताल तरेर रिजोर्टमा जाँदा रमाएका थिए।
भद्रकाली मन्दिरमा दर्शन गर्न जाँदा त्यतिका सिँढीहरू त्यो सानी नातिनीले खुटुखुटु चढेको दृश्य अति सुन्दर थियो। मन्दिरमा असाध्यै शान्ति छाएको थियो। सहरबाट अलि टाढा अग्लो ठाउँमा र सायद धेरैलाई थाहा नभएर हो कि भीडभाड थिएन। माता भद्रकाली स्वयं प्रकट भएको लामो कथा छ। मन्दिर परिसर अलि ठूलै छ र यहाँ १७३ वर्ष पुरानो गणेशको मन्दिर पनि छ। माथिबाट सबैतिर छर्लंग देखिन्छ।
पूर्वमा देखिने डाँडोको विजयपुर गाउँ जहाँबाट आएको विजयपुर खोला आर्वा कसेरी हुँदै पोखरा कट्नेबित्तिकै सेतीसँग मिसिन्छ। सरोज गोपालले गाएको गीतले यो खोलालाई चर्चामा ल्याएको हो। पश्चिमपट्टि सेतीपारि बाग्लुङ हाइवेसम्म फैलिँदै गएको पोखरा बजार झन् बाक्लो हुँदै गएको देखिन्छ। उत्तरमा पनि सेतीपारि डिप र बाटुलेचौरतिर फैलिँदो छ पोखरा र दक्षिणमा नयाँ बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझ सकिएको छैन। माथि मन्दिरबाट हेर्दा अझ वरिपरि एउटा फराकिलो घेरासम्म फाँटहरू देखिन्छन्।
करिब २२ महिनापछिको गत महिनाको भ्रमणले अर्कै खुसी दियो। त्यो खुसी एउटा बन्धनबाट निस्किन सकेकोसँग जोडिएको छ। हामी पोखराको सडकको उल्लासमा थियौँ नयाँ वर्षको जब कोरोना भाइरस निस्केको कुरा चीनले जानकारी गरायो। तर हामी अनभिज्ञ थियौँ यसबारे त्यति वेला। जब नेपालमा पहिलो लकडाउन २०७६ चैत ११ गते लागू भयो, त्यसपछि मूलतः हामी बन्दीसरह जीवन बिताइरहेका थियौँ, आफ्नै घरमा आफूले आफैँलाई बन्द गरेर।
धेरैपछि ‘कफी टाइम’ भनेर खुला बगैँचामा बस्न थाल्यौँ। यस क्रममा यो पोखरा भ्रमण त हाम्रा लागि एउटा छलाङ नै भयो त्यो बन्धन तोडेर। कोभिड गएको छैन तर हामी हिम्मत गरेर निस्क्यौँ घरबाट। उडेर पुग्यौँ ’आजाद’ भएको जस्तो मन र नयाँ अनुभव गर्ने कुतूहल लिएर। यसको आफ्नै सुन्दरता छ।
पोखरामा सबै त्यही नै थिए जहाँ छन्। तर होटेलले पठाएको गाडी चढेर हामी लेकसाइडतिर जाँदा त्यो चहलपहल केही थिएन। सहर कहिले सुत्दैन भन्छन् तर लामो समय सुतेर भर्खर चलमलाउन लागेको जस्तो देखिन्थ्यो। तर हामी दंग थियौँ। पोखरा गएर दंग नपर्ने को होला र? एकातिर पूर्वपश्चिम फैलिएको फेवाताल, उत्तरतिर अन्नपूर्ण शृंखलामा टक्रक्क देखिने माछापुच्छे अनि तालमाथि दक्षिण हरियो जंगलको डाँडो।
टुप्पोमा गजुरजस्तै गरी देखिने शान्ति स्तूप। ताल पर ड्याम साइड, पार्दी बिरौटा हुँदै पावर हाउस जसको सिँढी झरेर एकपटक उक्लिने हो भने पूरा एक्सरसाइज पुग्छ। जताततै धक्कमधक्का नगरेर हिँड्न पाइने। मुख्य कुरो काठमाडौंको तुलनामा धेरै सफा र शुद्ध हावा सास फेर्न पाइने। घुम्न जाँदा तनावरहित भएर घुम्न पाइने।
यसपटक हामीले त्यो फोटो खिचाएनौँ जुन हामी सधैँ गथ्र्यौ फेवातालको पहिलो दर्शन पाउनेबित्तिकै। त्यो ठाउँ हो गौरी घाटको हिमगृह कट्नेबित्तिकैको सानो पार्क। यसपटक सिधै होटेल गइयो। दिउँसोको २ बजिसकेकाले भोक निकै लागेको थियो। त्यसैले नजिकैको बुमर्याङ रेस्टुरेन्टमा छिरिहालियो।
फेवाको ठीक अगाडि हेर्दै खाना खाँदै थियौँ जब मेरो श्रीमान्लाई कविता फुर्यो। तत्काल निस्कियो एउटा लामो ‘कविता नदी र ताल’ शीर्षकको, जुन दुई दिनपछि छापियो दृष्टि अनलाइनमा। त्यसको केही लाइन सम्झनामा यस्तो छ:
यात्राको मान्छे
यात्रामा रमाउँछ।
मलाई हतारो छैन
यात्रा अझै जारी छ।
बेलुकी हिँड्यौँ लेक साइडमा, केही बात मार्यौँ त्यहाँका मान्छेहरूसँग। पर्यटनले चलायमान पोखरा कोभिडले गर्दा शिथिल र लामो बिरामीबाट बौरिन खोजेको मान्छेको जस्तो अवस्थामा देख्यौँ। केही होला कि भन्ने आशा भए पनि पहिलेकै जस्तो होला र भन्ने अनुत्तरित प्रश्नमा रुमलिरहेका मान्छेहरू पसलचाहिँ सबै खोलेर बसेका थिए। हामी उनीहरूको मनोभाव महसुस गरिरहेका थियौँ।
प्रत्येक नयाँ दिनले हामीलाई खुसी दिएको थियो, एउटा नयाँ अनुभूति दिएको थियो। ठाउँ पुरानो र हामी पुरानो भएर नयाँ उमंग र नवीनतम तृप्तिको आवेग रोकिएको थिएन। डुंगा लिएर ताल परसम्म घुम्दा होस् या ताल तरेर वाराहीको दर्शन गर्न जाँदा होस्,तालको बदलिँदो स्वरूप जस्तै बदलिँदा आवेग स्पर्श लिँदै हामी गइरहेका थियौँ।
हामी कुरा गर्दै थियौँ एकापसमा इतिहास र हाम्रो विगतलाई सम्झँदै यसरी– यो १५औँ शताब्दीको मूर्तिलाई कसरी नदीको प्रवाहले यो ठाउँमा ल्याइपुर्यायो होला, जब कास्कीका राजाले एउटा छाप्रो बनाएर राखे र महेन्द्रले २०१७ सालमा मन्दिरभित्र।
२०३८ मा फेवा बाँध फुटेर यो मन्दिरको वरिपरि पानीको सट्ट गेगरले भरिएको थियो जसलाई छिचोल्दै हिँडेर हामी दर्शन गर्न आएका थियौँ। २०५३ सालमा पुनर्निर्माण भएपछि पनि वर्षमा करिब ६ पटक अनवरत आइरहेका छौँ यो मन्दिरमा हामी दुई। विगत र वर्तमानको यस्तै साँघुबाट गुज्रियौँ हामी विन्ध्यवासिनी माताको दर्शनपछि पनि जब दक्षिण फैलिएको सहर हेर्दै थियौँ।
ती दर्जनौँ पाटनहरू थिए कुनै वेला, अर्थात् वस्तुहरू चर्ने फाँटहरू, जसमा अहिले पोखरा सहर बनेको छ। माता विन्ध्यवासिनीको दर्शन गर्न कैयौँपटक हामी चिप्ले ढुंगाबाट रामकृष्ण टोल हुँदै हिँडेर आएका थियौँ मन्दिरको अगाडिबाट। र, जहिले पनि ट्याक्सी या बस चढेर आउँदा बाग्लुङ हाइवे भएर पछाडिबाट। जताबाट आए पनि सिँढी त चढ्नैपर्ने। यसैगरी सम्झियौँ दशैँको टिका लगाएको यो मन्दिरमा पूजाआजा गरेर।
हरेक भ्रमणमा हामी सराङकोट जाँदैनथ्यौँ। यसपटक गयौँ। अलिअगाडि जाँदा प्याराग्लाइडिङ स्टेसनसम्म मात्र गाडी जान्थ्यो। त्यहाँबाट करिब ४० मिनेट उक्लिनुपथ्र्यो भ्युटावर पुग्न। केही वर्षदेखि टावरको फेदसम्म गाडी जान्छ र करिब १० मिनेट सिँढी चढेपछि पुगिन्छ। यसपालि जाँदा त्यहाँ एउटा ठूलो कलात्मक भवन बन्दै गरेको देख्यौँ।
टावरमा पुगेर हेर्दा सबैतिर घरैघर छन् र फाँटहरू सकिँदै गएका। निर्माणको अलि व्यवस्थित नै झलक आयो। पहिले हेर्दा त्यहाँबाट कुनै राजाको दरबारको भग्नावशेष कसैले देखाइदिएको थियो। सायद त्यस्तो जानकार आगन्तुक नभेटिएर हो वा अरू कारणले हो, त्यो भग्नावशेष देखिएन।
पञ्चासे भञ्ज्याङबाट हामफाल्दै तल झरेको हर्पन खोलाको घाँटीछिन्नाबाट पोखरा उपत्यका छिरेपछि फेवातालमा मिसिएसम्मको बांगोटिंगो यात्रा प्रस्ट देखिँदा हामीलाई रमाइलो लाग्यो। नदीको सिंगो शरीर नै देखिएकोजस्तो लाग्यो। फेवालाई बचाउने नदी यही हो।
प्याराग्लाइडिङको ल्यान्डिङ ठाउँ पनि टक्रक्क देखियो, जसको अगाडिको ‘दुना टपरी’ पनि देखियो जहाँ हामी अघिल्लो दिन मात्र गएका थियौँ र दिनभरि फेवालाई हेरेर बिताएका थियौँ। तलबाट आँखाअगाडि हेर्दा सराङकोटबाट नौ डाँडामा बाग्लुङ हाइवे जोड्ने सडक तयार भएको रहेछ। यस्तै जापानी होटेल भनेर चिनिने त्यो भव्य होटेल पनि चालू रहेछ। र, केबलकार चालु हुने अवस्थामा।
आइतबारको दिन हामी दिउँसोसम्म कहीँ निस्केनौँ। बिहानदेखि नै मेरो श्रीमान् कम्प्युटर लिएर बस्नुभयो, उहाँको स्तम्भ ‘समय प्रवाह’का लागि सोमबार छापिने लेख लेख्न।
हामीले यो बसाइँमा पनि पोखराको जलमा जति शान्तिको कान्ति देख्यौँ त्यत्तिकै शान्ति त्यहाँको कणमा पनि। हामी नियमित रूपमा जाने गरेका अरू ठाउँहरूमा जान सकेनौँ यसपटक। कारण हो हामी धेरै वरिपरि नै हिँड्यौँ। नौ दिनको पोखरा बसाइँमा यति धेरै हिँड्यौँ तर हामी थाकेनौँ।
प्रकाशित: २५ मंसिर २०७८ ०२:१७ शनिबार