२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

औषधि

लघुकथा

खगेन्द्र बस्याल

कक्षामा पढाइरहेको बेला एकजना विद्यार्थी निकै निरास देखेपछि शिक्षकले सोधे, ‘भन त तिमीलाई के भयो? पढाइमा ध्यान दिएका छैनौ।’

उसले भन्यो, ‘सर,मलाई पेट दुखेको छ।’

उनले भने, ‘चिन्ता नगर। हामीले विद्यालयमा केही औषधि पनि राखेका छौँ। म ल्याइदिन्छु नि।

ऊ केही बोलेन।

शिक्षकले  पुनः सोधे– किन चुप रहेको।

उसले भन्यो, ‘मेरो पेट दुखेको औषधि विद्यालयमा छैन सर। तपाईंले दिएको दबाई खाए त झन् दुख्ने छ।’

उनी अचम्म मान्दै सोधे, ‘तिमीलाई थाह छ,त्यो औषधिको नाम अनि त्यो कहाँ पाइन्छ? म ल्याइदिन्छु।’

उसले भन्यो, ‘सर,अहिले पढाइ सक्नुस्। टिफिन समयमा पाए पुग्छ।’

शिक्षकले उसको कुरा सुनेर भने, ‘हुन्छ, पहिले यो  त भन। त्यो औषधिको नाम अनि नजिकै पाइने ठाउँ?’

उसले घोप्टो मन्टो पारेर भन्यो, ‘पाउरोटी,जुन हाम्रै विद्यालय अगाडिको चिया पसलमा पाइन्छ।’

प्रकाशित: २१ मंसिर २०७८ ०८:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App