१३ मंसिर २०७९ मंगलबार
कला

अहिले लेखक बालबालिका बन्न थालेका छन्

नेपाली बालसाहित्यमा लोकप्रिय व्यक्तित्व शेखरकुमार श्रेष्ठ पेशाले शिक्षक हुन्। उनले दर्जनौं पुस्तक र पाठ्यपुस्तक सम्पादन गरिसकेका छन्। उनले प्रौढ तथा बालसाहित्यमा पनि उत्तिकै कलम चलाएका छन्। उनै बालसाहित्यकार श्रेष्ठसँग बालसाहित्यसम्बन्धी गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ–

१. बालसाहित्यको अवस्था कस्तो छ?

पहिलेको समयमा पाठ्यपुस्तकभित्र रहेका सामग्रीलाई मात्र बालबालिकाले पढ्न पाउँथे। अहिले बजार, विद्यालयमा भएका बालपुस्तकालय र प्रविधि विकासका कारण बालसाहित्य प्रत्येक बालबालिकाको नजिक पुगेको छ। यसैका कारण बालसाहित्य लेखनले पनि विकास हुने मौका पाएको छ।

अहिले बालसाहित्य बालसाहित्यकारले मात्र नभई बालबालिका स्वयंले पनि आफूले देखे, सुने र भोगेका कुरा लेख्न थालेका छन्। यसका साथै साहित्य सिर्जना के कसरी गर्न सकिन्छ भन्ने विषयमा छापा र प्रविधि दुवैका माध्यमबाट सिकाउन थालिएकाले पनि बालसाहित्य पठन र लेखन दुवै अगाडि बढेको छ।

यति हुँदाहुँदै पनि ग्रामीण क्षेत्रमा भने बालबालिका साहित्यसँग भन्दा पनि भर्खरै मात्र सबैको हातहातमा पुगेको मोबाइलसँग नजिकिने क्रममा खेलतिर आकर्षित भएका छन्। यो कुरा भर्खरै प्रविधिसँग नजिकिएका बालबालिकामा लागु हुन्छ। ती बालबालिका भने बालसाहित्यबाट अलि टाढा भएको महसुस मलाई हुन्छ तर लेखनका दृष्टिले बालसाहित्य पहिलेको तुलनामा धेरै विकास भएको देखिन्छ।

२. बालगीत, बालगजल र बालकवितामा के फरक छ?

बालगीत, बालगजल र बालकविता तीन ओटै कविताका रूप हुन्। कवितामा हुने लय तत्त्वका कारण यिनमा समानता देखिए पनि लेखन र पठनका दृष्टिले फरक छन्। बालबालिकाले ताली बजाएकै भरमा गाउन मिल्ने रचना बालगीत हो। यस सन्दर्भमा नेपाली लोकगीतलाई आधार बनाएर लेखिएका गीत भने बालबालिकाको मनमा बढी भिज्न सकेको देखिन्छ।

गजलका शेर (दुई पङ्क्तिका श्लोक), रदिफ र काफिया जस्ता आफ्नै विशेषता हुन्छन्। लयका दृष्टिले पनि गीतभन्दा गजल फरक देखिन्छ। त्यसैगरी बालकविताका सन्दर्भमा भन्नुपर्दा कवितालाई गाएको खण्डमा गीत हुन्छ भने पनि कतिपय कविता गाउँदा असहज हुन सक्छ। छन्दोबद्ध कविताको आफ्नै लय हुने भएकाले यसलाई पाठ गर्दा छन्दकै नियम हुने गर्दछ। त्यसैले बालगीत र बालकवितामा फरक छ। यस क्रममा गीत लेख्दा स्थायी र अन्तरा समेतमा ध्यान पुर्‍याइने भएकाले  बालगीत र बालकवितामा फरक देखिन्छ।

३. बालकविता कस्तो हुनुपर्छ?

कविताको आफ्नै तत्त्व हुन्छ। तिनै ततत्त्व बालकवितामा पनि हुन्छ। कवितामा जस्तै बालकवितामा विषयवस्तु, भाव, लय, बिम्ब, प्रतीक र अलङ्कार, भाषाशैली तथा शीर्षक र संरचनाजस्ता तत्त्व हुन्छन्। यी तत्त्वहरूलाई आधार मानेर लेख्दा बालबालिकाको बोधक्षमतालाई भने ध्यान दिनु आवश्यक छ।

बालकविता लेख्दा बालबालिकाको उमेर, घुलमिल, खेलाइ, सम्पर्क आदिको ख्याल गर्नुपर्छ। यही कुरालाई ख्याल गरी उमेर समूहअनुसार विषय, भाव, बिम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्नुपर्छ। यसका साथै बालबालिकाका लागि लेख्ने कविताको भाषा उनीहरूकै मस्तिष्कको क्षमताअनुसार प्रयोग हुनु राम्रो हो। पङ्क्तिमा रहने अक्षर पनि साना उमेरकालाई थोरै राम्रो हुन्छ। बालकविता धेरै श्लोकमा लेखिनु राम्रो हुँदैन। सकेसम्म लोकलयमा आधारित हुँदा उपयुक्त हुन्छ। बालकविता लेख्दा खास विषयलाई उनीहरूकै भाषामा पूरा जानकारी दिने गरी लेख्दा राम्रो हुन्छ।

बालबालिकाले विषय बुझे पनि भाव पक्ष अलि बोध गर्न नसक्ने हुन्छन् तथापि उमेरक्रमअनुसार साना बालबालिकालाई लयका माध्यमबाट विषय सिकाउने र चढ्दो उमेरसँगै लयका माध्यमबाट विषय र शब्दका माध्यमबाट व्यक्त हुने भावसमेत सिकाउने कविता लेखन हुनुपर्छ।

४. पाठ्यक्रममा बालकविताको अवस्था कस्तो छ?

वर्तमान नेपालको पाठ्यक्रमले विषयलाई लयका माध्यमबाट सिकाउने नीति अवलम्बन गरेको छ। त्यसैले कक्षा एकदेखि तीनसम्म स्पष्ट रूपमा सिकाइको क्षेत्र तोकी सोहीअनुसारका कविता एक क्षेत्रमा कम्तीमा दुई ओटा राख्नुपर्ने गरी पाठ्यपुस्तक निर्माणमा पाठ्यक्रमले जोड दिएको छ। यसले बालकवितालाई हरेक विषयक्षेत्रसँग जोडेको छ।

चार कक्षादेखि माथि पनि विषयक्षेत्रअनुसार एउटा कक्षाको पाठ्यक्रममा न्यूनतम् चार ओटा राख्ने व्यवस्था गरेको छ भने पुनरावृत्ति र सुनाइसमेतमा चारचार ओटा राख्न मिल्ने भएको छ। यसबाट नेपाली पाठ्यक्रममा बालकविताले बालसाहित्यको अन्य विधा खास गरी कथाकै तुलनामा प्रवेश पाएको देखिन्छ।

५. बालकविताको महत्व के छ?

कविता विषयको सूत्रगत प्रस्तुति हो। जसरी एउटा सूत्रमा पूरै विषय प्रस्तुत हुन सक्छ, त्यसै गरी बालकवितामा पनि एउटा विषय प्रस्तुत हुँदा त्यस विषयमा बालबालिका जान्ने हुन्छन्। बालकविता लयमा लेखिने भएकाले बालबालिकाले शब्द र विषयलाई सजिलै सम्झेर बोध गर्छन्। त्यसैले पनि बालबालिकालाई सिक्ने र सिकाउने क्रममा बालकविताको महत्व देखिन्छ।

६.बालकविताको माध्यमबाट नानीहरूमा के कस्तो परिवर्तन ल्याउन सकिन्छ?

लय कविताको शक्ति हो। यसले विषयलाई सजिलै बुझ्न सहयोग गर्छ। यस सिलसिलामा संसारका सबै विषयलाई कविताबाट प्रस्तुत गर्न सकिने भएकाले व्यवहार परिवर्तनमा पनि यसलाई प्रयोग गर्न सकिन्छ।

७. नेपाली साहित्यमा बालकविताको अवस्था कस्तो छ?

नेपाली साहित्यलाई एकै स्थानमा राख्ने हो भने आख्यान, नाटक र निबन्ध विधाको तुलनामा कविता धेरै लेखिएका छन्। बालसाहित्यमा पनि अन्य विधाका तुलनामा कविता धेरै लेखिएका छन्। यस क्रममा केही दशकअघि बालबालिकालाई नै भनेर कविता लेख्ने क्रम थोरै भए पनि अघिल्लो दशकको मध्यतिर अर्थात् रुम टु रिडले उमेर समूहअनुसार बालसाहित्य सिर्जना गर्न थालेपछि कविता लेख्ने क्रममा विकास भएको छ। अहिले बालबालिकाको सिकाइ क्षेत्र, सङ्गत जस्ता सूक्ष्म कुरालाई पनि ध्यान दिएर बालकविता लेखिएको छ। यसले गर्दा बालकविताको अवस्था बिस्तारै राम्रो बन्दै छ।

८. बालसाहित्यको बजार कस्तो छ?

साहित्य ज्ञानको बजार हो। ज्ञानका लागि पैसा होइन मन चाहिन्छ। त्यसैले अरू सामानको तुलनामा किताबको व्यापार कम छ। यही कुरा बालबालिकामा पनि लागु हुन्छ। किताब किन्न बालबालिकाको इच्छा र ज्ञानको भोकभन्दा पनि अभिभावकको रुचि, आम्दानी, शिक्षक र विद्यार्थीको साहित्यप्रति रुचिले प्रभाव पारेको हुन्छ। वर्तमान समयमा विभिन्न एनजिओ र आइएनजिओले कापी, कलम, स्कुल पोसाक, विद्यालयको भवन आदिमा जत्ति जोड दिएको छ त्यति पुस्तकमा जोड दिएको छैन। त्यसैले लेखक बाँच्ने र बचाउने हिसाबले बालसाहित्यको बजार देखिँदैन तर सिकाइ सहज बनाउने चासो शिक्षक र अभिभावक दुवैमा बिस्तारै बढ्दै गएकाले पाठकका दृष्टिले बजार राम्रो हुँदै गएको छ।

९. बजारमा आएका सबै बालकविताले आफ्नो धर्म निर्वाह गरेका छन् त?

साहित्य लेखकले साहित्य सिर्जना गर्दा आफ्ना कुरालाई जति सहज रूपमा प्रस्तुत गर्दछ, त्यति साहित्यको प्रभाव विस्तार हुन्छ। साहित्यका माध्यमबाट लेखक चिनिन्छ। यसरी चिनिँदा प्रौढ साहित्य पढ्नेभन्दा बालसाहित्य पढ्ने धेरै छन् तर धेरै लेखकले बालबालिकाका रूपमा आफूलाई चिनाउन नसकेको आभास केही वर्षअघि भए पनि अहिले बिस्तारै चिनाउन थालेको देखिन्छ।

अहिले लेखक बालबालिका बन्न थालेका छन्। अहिले लेखकमा आफ्नो परम्परा चिनाउने गुणको विकास भएको छ। अहिले आफ्नो धर्म, संस्कृति, परिवेश र लयलाई महत्व दिन थालेका छन्। यस परिप्रेक्ष्यमा लेखनको क्रममा पूर्णत  धर्म निर्वाह नभए पनि बालबालिकाको उमेरअनुसार विषय, शब्द, वाक्य र लयमा लेखिन थालेकाले बालकविता लेखनमा लेखकले आफ्नो लेखकीय धर्म निभाउन थालेको देखिन्छ।

१०. प्रौढ साहित्यको तुलनामा बालकविता लेख्न सजिलो छ?

यही प्रश्न नै प्रौढ र बालसाहित्य लेखनको फरक हो। प्रौढ कविता प्रौढले पढ्ने भएकाले यसमा विषयको क्रम, विषयको गहिराइ, उचालपछार केही तलमाथि भयो भने पनि असर पर्दैन तर बालसाहित्यमा विषयक्रम, त्यसले दिने सन्देश, भाषाका रूपमा आउने शब्द शब्दमा रहने अशुद्धि आदि समेतले बालबालिकाको मस्तिष्कमा प्रभाव पार्छ। यो प्रभाव बिर्सने हुँदैन। बालकविता लेखन सहज छैन। बालसाहित्य लेखनमा हुने सामान्य त्रुटिले पनि बालबालिकाप्रति असर पार्छ। त्यसैले बालकविता लेखन सजिलो छैन।

११. बालकविता लेखनमा अर्तीउपदेश र नैतिक शिक्षाको अवस्था कस्तो छ?

साहित्यको एउटा विधाले निर्वाह गर्ने धर्म अर्को विधाले पूर्ण रूपमा बहन गर्न सक्दैन। यसैका लागि साहित्यका विविध विधा जन्मेका हुन्। अर्तीउपदेश र नैतिक शिक्षा जत्ति कथाबाट दिन सकिन्छ त्यति कविताबाट सकिन्न। यति हुँदाहुँदै पनि बालकवितामा अर्तीउपदेश र नैतिक शिक्षा नभएका होइनन्। कवितामा यी कुरा विषयका रूपमा भन्दा पनि भावका रूपमा आएका छन्। यो नै कविता लेखनको विशेषता पनि हो।

१२.बालकविता लेख्नेहरूलाई तपाईँको केही सुझाव छ कि?

म सिक्दै छु। म बालसाहित्यका किताब पढ्दै छु। त्यसैले लेखकलाई यसै गर्नुपर्छ भनेर भन्न सकिँदैन तथापि बालबालिकालाई बालसाहित्य लेखेर दिनुभन्दा अगाडि लेखक स्वयंले धेरै पढ्नुपर्छ। लेखकले लेखेर विषय दिनुभन्दा पनि पहिले बालमनोविज्ञान अध्ययन गर्नुपर्छ। पहिले बालबालिकालाई पढौँ अनि लेखौँ भन्ने सुझाव मात्र अहिले म दिन सक्छु।  

प्रकाशित: ४ मंसिर २०७८ १३:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App