१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दुबोसरी माया फैलाएका गीतकारको 'खुम्च्याइ'

सुन्दर रमणीय जिल्ला दोलखामा २०२७ सालमा जन्मिएका त्रिविक्रम पाण्डे नेपाली सांगीतिक आकाशका उज्याला तारा हुन्। उनले लेखेका हजारौँ गीत शहरदेखि गाउँका कुनासम्म गुन्जन्छन्।  

‘फैलियो माया दुबोसरि’ उनको चर्चित गीत हो। त्यही गीतको उनको सफलतामा दरिलो खम्बा भयो र नेपाली सांगीतिक आकाशमा उनलाई चम्कायो।

आफ्नो सफलताको हिस्सेदार उनी आफ्नो परिवारलाई मान्छन्। श्रीमान्को सांगीतिक यात्रामा साथ दिएर उनकी श्रीमती सावित्रा सिवाकोटी (पाण्डे)ले उनको गीत प्रकाशन गरिदिएकोमा उनी गौरवबोध महसुस गर्छन्। संग्रहमा २०४० देखि २०६० दशकको गीत प्रकाशित छ।

उनी बाल्यकालदेखि नै प्रतिभाशाली र मेहनती थिए। आफ्नो गाउँठाउँमा हुने कार्यक्रममा उनी सधैँ भाग लिन्थे। पछि तिनै व्यक्ति जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरमा पुगे। गाउँघरको स्थानीय भाषालाई टपक्कै टिपेर कलात्मक बिम्ब भर्ने पाण्डेको गीतले धेरैको मुटुमा चस्का पस्छ।

‘फैलियो माया दुबोसरि’ २०४८ सालमा लेखिएका गीत हो। त्यसबेला उनी लक्का जवान थिए। ती दिनको सम्झना गर्दै उनले भने, ‘त्यतिबेला म तन्नेरी थिएँ। कहिलेकाहीँ मन बरालिन्थ्यो। मायाको कल्पनामा पनि कहिलेकाहीँ हराइन्थ्यो। कोही युवती देखे झट्ट त्यत्तै आँखा जान्थ्यो। त्यसबेलाको आफ्नै अनुभूति समेटेर यो गीत लेखेँ। पछि शिलाबहादुर मोक्तानको संगीत र कुन्ति मोक्तानको स्वरमा रेकर्ड पनि भयो।’

फैलियो माया दुबोसरि कहिल्यै घटेन,

कहाँ राखूँ तिम्रो याद दिलमा अटेन।

प्रेम र दुबो उस्तै हुन्। जति उखेले पनि त्यसको जरा कतै न कतै गडेर बसेको हुन्छ । कुनै न कुनै माध्यमबाट जीवित रहन्छ र फेरि पलाउँछ र क्रमशः फैँलदै जान्छ। यही जीवनदृष्टिबाट प्रभावित भएर उक्त गीत लेखेको उनी बताउँँछन्।

यस गीतले उनको उचाइ बढायो। २०६१ सालमा उनले ‘फैलियो माया दुबोसरि’ सङ्ग्रह पनि प्रकाशनमा ल्याए। उक्त संग्रहमा चालिसदेखि पचासको दसकमा रचना गरिएका १ सय ५५ ओटा गीत सङ्गृहीत छन्। हालसम्म उनले सयौं गीत लेखिसकेको उनी बताउँछन्।  

गीतसंगीतले समाजमा सकारात्मक सन्देश फैलाउनुपर्छ भन्ने उनको मान्यता छ। उनी भन्छन्, ‘गीत जीवनसापेक्ष, समाजोपयोगी र सन्देशमूलक हुनुपर्छ। साथै गीतमा गेयात्मकता, लयात्मकता, सरलता र मधुरता पनि समेटिएको हुनुपर्छ।’

तर अहिलेको बजारीया गीत देखेर उनको मन चस्कन्छ। अचेलको गीतमा सन्देशभन्दा बढी छाडापन मिसिएको छ। गीतसंगीतमा कोही पनि सचेत र सिरियस छैनन्। पहिलापहिला रेडियो नेपालमा गीत रेकर्ड हुनुअघि शब्द हेरेर मात्रै स्वीकृत हुन्थ्यो। गायक बन्न स्वर परीक्षा पास हुनु आवश्यक थियो। तर, अहिले त जो सम्पन्न छ उही गायक बन्ने प्रवृत्ति हावी छ’ उनले भने। राष्ट्रबोध र जिम्मेवारीपन नभएको गीत रेकर्ड हुनु र सस्तो लोकप्रियताको पछाडि कुद्नु। सञ्चारमाध्यमले पनि तिनैलाई प्राथमिकता दिनु, ठूलो विकृतिजस्तो लाग्छ।

गीतकारको नाम मिडियामा उच्चारण नहुँदा उनको मन दुख्छ। उनी भन्छन्, ‘गायकगायिका प्रष्ट रूपमा चिनिएर चर्चित हुन्छन् तर गीतकार सधैँ पर्दा पछाडि नै हुन्छन्। गायकगायिकाको नाम अगाडि आएर स्रष्टाको नाम पर्दा पछाडि रहेकोमा उनी गुनासो गर्छन्। त्यसकारण रचनाकार सधैं ओझेलमा परेकोमा उनलाई दुःख लाग्छ।

उनी आफ्नै विगत सम्झन्छ्न् ‘त्यसबेला दरबारमा पनि गीतसंगीतिको माहोल जमेको थियो। स्थापित र चाकडी गर्नेहरू सधैँ अग्रस्थानमा आउँथे। त्यसकारण मजस्ता सामान्य मान्छेले गीतकारको रूपमा स्थापित हुन निकै कठिन थियो जसका कारणले यो स्थानमा आइपुग्दा धेरै संघर्ष र चुनौतीका कैयौँ पहाड छिचोल्नुपर्यो। गीत लेखे पनि हामीजस्ता सामान्य मान्छेलाई रेकर्ड गर्न निकै गाह्रो थियो। रेकर्ड भैहाले पनि मिडियाले गीतकारको नामै उल्लेख नगरी गीत प्रसारण गरिदिन्थे।’

यो स्थानमा आउन उनले धेरै मेहनत गरेका छन्। दोलखाको सुनखानीदेखि राजधानीसम्म उनको यात्रा निकै कठिन थियो। उनले त्यस अवधिमा धेरै दुःख, धेरै संघर्ष र धेरै अँध्यारोसँग जुध्न परेको थियो। तर, कालो रातपछि अवश्य बिहान हुन्छ भन्ने कुरामा उनी विश्वस्त थिए।

उनी भन्छन्, ‘सबै मान्छेले सफलता मात्र देख्छन्। त्यहाँ आइपुग्न गरेको मेहनत, कालो रात र त्यसभित्रको दर्दनाक पीडा–वेदना कसैले पनि नदेख्ने उनी बताउँछन्।

सञ्चार माध्यमले पनि उनको नाम उच्चारण नगरी धेरै पटक उनको गीत प्रसारण गरेका छन्। तर उनले रोयल्टीको नाममा एक पैसा पनि पाएका छैनन्। नामै उच्चारण नगरी गीत बजाउने मिडियाबाट रोयल्टी पाउनु त उनलाई चुनावअघि नेताले दिएको आश्वासनजस्तो लाग्छ।  

अमृतभन्दा मीठो लाग्छ मधुर त्यो बोली,

बग्न थाल्यो जिन्दगीमा उमङ्गको खोली।

यो गीतमा नायिकाको आवाज बग्न थाले पनि नायकको आवाजमा उमंगको खोली बगेको उनी बताउँछन्।  

भेटूँभेटूँ लाग्छ तिमीलाई गोधूलि साँझमा,

रम्दैन यो मन जब फूलै फूलको माझमा।

गीतसंगीतले मानिसलाई विक्षिप्त हुनबाट बचाउने कुरामा उनी विश्वास राख्छन्। प्रेयसीबाट टाढा हुन परेको अवस्थामा आफूले स्वर्ग नै पाए पनि रमाइलो नलाग्ने उनको अभिव्यक्ति छ। गीत–संगीतले मानिसलाई जीवन दिने कुरामा उनी विश्वस्त छन्। मानिस लगायत मानवेत्तर प्राणीमा पनि गीतको महत्त्व उच्च रहेको कुरा विज्ञानले समेत स्वीकारेको छ।

उनी बाल्यकालदेखि नै साहित्य र संगीतमा रुचि राख्थे। ४० को दशकमा क्याम्पस पढ्न थालेपछि उनीमा बेग्लै ऊर्जा आयो। रेकर्डिङका सोचले कनीकुथी गीत कोर्थे। उनका साथीहरूले पनि उनलाई गीत लेख्न खुब हौस्याउँथे। हाल सडक विभागमा इञ्जिनियर रहेका साथी आर. वि. गुरुङले उनलाई बेलाबेलामा खुब हौस्याउँथे। उनी बेलाबेला नारायण गोापालले मेरो गीत गाएको सपना देखाउँथे। त्यसैकै प्रेरणाले पनि ममा थप हौसला भरिन्थ्यो।

गीतकार हुन मैले गीत लेखेको होइन। गीत लेखेर गीतकार भएको हुँ। कुन्ती मुक्तानपछि राजेशपायल राईले गाएको ‘फैलियो माया दुबोसरि’ ले तत्कालीन नवोदित गायक राजेशपायल राईलाई पनि चर्चाको शिखरमा पुर्‍याएको यथार्थ पनि जीवित छ। उनी लेख्न कुनै समय छुट्याउँदैनन्। मनमस्तिष्कले जे अह्राउँछ त्यही लेख्छन्। गीत फुर्‍यो भने ज्यादै छोटो समयमा पनि उनी लेख्न सक्छन्। मुड चलेन र थिम मन परेन भने उनी खासै लेख्न पनि सक्दैनन्।

लेखनले उनको जिन्दगीलाई धेरै कुरा सिकाएको छ। उनी अहिलेसम्मको भोगाइमा जिन्दगीलाई संघर्ष मान्छन्। कहिलेकाहीँ जीवन अँध्यारो हुन्छ, दुःख पर्छ तर कहिल्यै गलत बाटोमा हिँड्न नहुने उनको धारणा छ। असल बाटोमा हिँड्न मान्छे नै गन्तव्यमा पुग्न सफल हुने उनी बताउँछन्।

आफ्नोभन्दा अरूका लागि बढी बाँच्ने मानिसको जिन्दगी सार्थक हुन्छ भन्ने कुरामा उनी विश्वास राख्छन्। उनी भन्छन्, ‘आदर्शवादी र चरित्रवान् भएर जिन्दगी जिउनुपर्छ। मानवीय धर्म निर्वाह गरेर सर्वजन हिताय सर्वजन सुखायका लागि दत्तचित्त भई निस्वार्थ भावले मानिसलाई सहयोग गर्नुपर्छ। तर, त्योभन्दा विपरीत धारमा अचेलका मानिस लागेकाले समाज भ्रष्ट हुँदै गएको उनको बुझाइ  छ।

जीवनमा सफल बन्न सकारात्मक सोच, सत्यपथ, असल कर्म, धैर्य, समयसापेक्ष शिक्षा, चेतनाका साथै कडा कानुनी राज्य व्यवस्था हुनुपर्छ। राज्यका नीतिनियम पालना गरे राज्यलाई सबल र सक्षम बनाउन सकिन्छ। हार्नहरूको इतिहास लेखिदैन। प्राकृतिक सौन्दर्यले भरिएको स्वर्गजस्तो देश यो नेपाल आज भ्रष्टाचारीहरूको हातमा परेको छ। हुनेखाने र हुँदा खानेको बीचमा ठूलो खाडल छ।

प्रकाशित: २ मंसिर २०७८ ११:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App