जितेन्द्र बस्नेत
आकाश सधैँ हाम्रो मात्र हुँदैन,
आकाश बादलहरूको बगैँचा पनि हो,
बादलको प्रेम पनि,
निष्फिक्री घुमेर हाम्रो
ईर्ष्यालाई समेत
ईर्ष्या लाग्ने गरी
ढाकिदिन्छ बादलले त्यो आकाश
मानौँ,
प्रेमले
अँगालोमा बाँधेर
न्यानो बनाउँदै छ आकाशलाई त्यो बादल
खास हो नि
आकाश सधैँ हाम्रो मात्र हुँदैन।
मान्छेले ओत लागेको छानो त्यो आकाश
ताराहरूको रंगमञ्च पनि हो,
धर्तीमा टेकेर आकाशको घमण्ड गर्नेहरूको
घमण्ड चुर हुने गरी,
अलिकति पनि ठाउँ नदिएर
कालो रातमा पूरै आकाश ढाकेर
जब ताराहरू चम्किन्छन्,
धर्तीतर्फ फर्केर,
सायद भन्दो हो आकाश,
तिम्रो घमण्ड त्यो धर्तीमै सीमित छ,
अनि ताराहरू पनि गिज्याउँदा हुन् हामीलाई
चिमचिम गरेर।
शान्त, धीर र स्थिर ती सागरहरूले
मौनताबाटै बोलिरहेछन्,
मैले आफ्नो गर्भबाट,
प्राण छुटाएर
साइनो जोडेको छु आकाशसँग
जब मेरो प्राण आकाशसँगको मिलनपछि,
हर्षाँसु बनेर धर्तीमा बर्सिन्छ,
म गर्वले भन्छु, त्यो आकाश मेरो
प्रेम हो,
अनि तिम्रो जीवन मेरो प्रेमको प्रतिफल,
म अझै विश्वस्त हुन्छु,
आकाश सधैँ हाम्रो मात्र हुँदैन।
मैदान मेरै, पहाड मेरै, क्षितिज मेरै,
ती गुराँस, ती हरियाली, झर्ना पखेरा,
सबै मेरै भन्नेहरूलाई भन्दैछन् ती चराहरू,
उफ् मान्छे,
म उड्दै गरेको यो खुला आकाश
मेरो खेल्ने आँगन हो,
बेकार छ यो शून्यता, तिमीले कब्जा गर्न खोज्नू,
तिमीलाई तिम्रो धर्तीमा विश्वास होला
तर,
मलाई मेरो पखेटामा,
मेरो घर ढालिदियौे तर पखेटा
मसँग मात्रै छ, जहाँ तिमीभन्दा म
स्वतन्त्र छु, उड्दै छु यो आकाशमा, माथिमाथि
अनि झनै लाग्छ,
यो आकाश सधैँ हाम्रो मात्र हुँदैन।
जमिनमुनि रोपेका बीउहरू,
उम्रिएका बोटहरू, लहराहरू,
हिमालका हिउँहरू,
चिसाचिसा समीरहरू,
यो धर्तीबाट माथिमाथि आकाशतिर लम्किरहन्छन्
आखिर सत्य रहेछ,
यो आकाश सबैका लागि आफ्नो छ,
त्यसैले त,
यो बन्धन, झन्झट र कोलाहल सबैबाट
उम्किन खोज्दै छन् सबैसबै,
खुला, मुक्त र दिव्य शान्तिको त्यो आकाशतिर,
परम् स्वतन्त्रतातिर,
वास्तवमा ईश्वर नियाल्ने हाम्रा आँखाले पनि त
ईश्वर उतै देख्छन् त्यो आकाशतिर,
अनि ईश्वरको घर त्यो आकाश,
कसरी हाम्रो मात्र हुन सक्छ?
हो, स्वीकार गरौँ,
आकाश सधैँ हाम्रो मात्र हुँदैन।
प्रकाशित: ३० कार्तिक २०७८ ०६:०६ मंगलबार