तुयुकाजी ताम्राकार
यतिखेर पनौतीको चर्चा यसकारण सान्दर्भिक छ कि दुई महिनापछि अर्थात् २०७८ सालको माघ महिनाभर चल्ने बाह्र वर्षे मकर मेला लाग्दैछ। उक्त मेलामा देशविदेशबाट लाखौँ हिन्दू धर्मावलम्वी पवित्र त्रिवेणीघाटको कुण्डमा स्नान, दान, पुण्य कमाउन आउँदै छन्। पनौती यसकारण मात्र होइन चर्चायोग्य यसकारण हो कि पनौती ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रूपले अनुपम, सुन्दर एवं कृषियोग्य भूमि भएको उपत्यकाले गर्दा पनि महत्त्वपूर्ण छ।
पनौती स्वंय एउटा प्राचीन वस्ती हो। केही वर्षअघि पनौतीको लायकु क्षेत्रमा पुरातत्व विभागले उत्खनन गर्दा प्राचीन दरबारका जगहरू, चोकहरू, केही भाँडाकुडाहरू र केही पुराना सिक्का भेटिएका थिए।
वस्तीका गल्ली, चोक, बजार, इनार, ढुङ्गेधारा, कलात्मक झ्याल, ढोका भएका घरहरू, मठमन्दिरहरू आदिले गर्दा पनौती स्वंय एउटा खुला सङ्ग्रहालय हो भन्ने स्वत प्रमाणित हुन्छ भनेर पुरातत्वविदहरू नै बताउनुहुन्छ।
पनौतीबारे जानकारी यो सानो अभिलेख, टिप्पणी सरह मात्र हुनपुग्छ। विस्तृत जानकारीको निम्ति लेखक–साहित्यकार सूर्यप्रसाद लाकोजूद्वारा लिखित पनौती नामक पुस्तक पढ्नुपर्ने हुन्छ। उक्त पुस्तकमा पनौतीको विविध विषयमा धेरै व्याख्या, विश्लेषण गरेको पाइन्छ।
लेखक–साहित्यकार लाकोजूको जन्म पनौतीमा नै भएको हो। किसान परिवेशको मातापिता भएकाले उहाँहरूको प्रमुख काम भन्नु नै माटोसित खेल्नु थियो। कुटो, कोदालो चलाउन मन पराउनुहुन्थ्यो तर जेठो पुत्र सूर्यप्रसाद लाकोजू भने सानैदेखि कलम उठाई अक्षरसित खेल्न मन पराउनुभयो। अक्षरसित खेल्दाखेल्दै कहिले कविता जन्माउनुहुन्थ्यो भने कहिले मुक्तक, गजल, हाइकु जन्माइदिनुहुन्थ्यो। साहित्यको खेतीमा खेल्दाखेल्दै कथा, निबन्ध, नियात्रा आदि रसिला फलफूलरूपी पुस्तकहरू जन्माउनुभयो। यस्तै क्रममा २०६५ सालमै पनौतीबारे जानकारीमूलक पुस्तक प्रकाशन गरिसक्नुभएको हो।
शिक्षण पेशामा रमाउँदै साहित्यको आकाशमा कावा खाइरहनुभयो । क्रमश उचाइ लिइरहनुभयो। त्यसैकारण छोटो समयमै ३० वटा जति विविध विषयका पुस्तक प्रकाशन गरिसक्नुभएको छ। उहाँका पुस्तकहरू सङ्ख्यात्मक मात्र होइन गुणात्मक पनि छन्।
जुनसुकै साहित्यिक विधामा कलम चलाउनुभए पनि उहाँका सिर्जनाहरू समय सान्दर्भिक, मार्मिक र उपदेशप्रद हुन्छन्। निम्न वर्गको किसान परिवारमा जन्मेका मान्छेले त्यत्रा पुस्तक लेख्नु र लेखेका कृतिहरू छपाउन सक्नु भनेको सामान्य र ठट्टाको विषय होइन। उहाँले नेपाली साहित्यका कथा, कविता, निबन्ध, मुक्तक, हाइकु, बालसाहित्यमा निरन्तर कलम चलाइरहनुभएको छ।
यसका साथै आफ्नो जन्मथलोलाई माया गरेर खोजअनुसन्धान र अध्ययन, मेहनतपूर्वक लेखिएको लाकोजूको परिमार्जित र पुनर्लिखित हालै प्रकाशित, कात्तिक १८ गते एउटा समारोह बीच पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले विमोचन गनुभएको हो। एउटा गतिलो उपाधि पाउन त्यो पनौती नामक पुस्तक नै काफी हुनसक्छ भन्नेमा अत्युक्ति नहोला।
पनौती नगरपालिकाको नाम, पहिचान, ज्ञान र महत्त्व बोकेको पनौती परिचयात्मक पुस्तकले सिङ्गो नगरको धर्म, संस्कृति, कला, रीतिरिवाज, परम्परा, इतिहास, साहित्य आदि विषयको प्रतिनिधित्व गर्न सफल मान्नुपर्दछ। नगरपालिकाको बढेको क्षेत्रमा रहेका मठमन्दिर एंव जात्रापर्व आदि समेटिएका छन्।
नगरपालिकाभित्र रहेका साहित्यकारहरू र साहित्यप्रतिको अनुराग र साहित्यको पनि उत्थान हुनुपर्छ भन्ने मान्यता भएको नगर प्रमुखको सहायताले गर्दा पुनर्लेखन एवंं परिमार्जित पनौती पुस्तकको प्रकाशक पनौती नगरपालिकाले सम्पूर्ण खर्च व्यहोर्नु साहित्य उत्थानकै क्रममा अग्रसर हुनु हो भन्ने लाग्छ।
विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुने क्रममा रहेकाले पनौतीबारे जान्न, बुझ्न र घुम्न स्वदेशी तथा विदेशी नागरिकहरू पुगेका हुन्छन्। गाइडहरूले विदेशीहरूलाई पनौतीका मठमन्दिर एवं कला संस्कृतिबारे बताइरहेका दृष्यहरू देख्न सकिन्छ। त्यसरी बताउनुपर्ने गाइडहरूको निम्ती पनौतीको नयाँ सस्करण हेर्नुपर्ने हुन्छ। त्यसका लागि पुस्तक सहजै प्राप्त गर्न सक्ने अवस्था प्रकाशक नगरपालिकाले मिलाउनु आवश्यक हुन्छ।
फ्रान्सेलीहरू पनौतीलाई विशेष मन पराउँदा रहेछन् भन्ने कुरा अस्ति भर्खरै युनेस्को फ्रान्सको कार्यालयमा कार्यरत डा. वि. आर. न्यौपानेबाट थाहा पाएको थिएँ। उनी नेपाली भन्ने थाहा पाएपछि नेपालमा पनौती भन्ने ठाउँबारे सोधेर हैरानै पार्थे रे। त्यही भएर दशै मान्न काठमाडौं आउँदा पनौतीबारे बुझ्न उहाँ पनौती आउँदा भेट्ने क्रममा उहाँले सुनाउनुभएको हो। फ्रान्सेलीहरू पनौतीलाई सहयोग गर्न तत्पर छन् तर नगरपालिकाको सम्पर्क र पहुँचको कमी रहेको बताउनुहुन्थ्यो। पनौती नामक पुस्तक उहाँलाई थम्याउन पाएको भए फ्रान्स बसीबसी पनौतीको थप प्रचार गरिदिनुहुन्थ्यो भन्ने लाग्यो।
धेरैले दाम कमाए। बैंकको खातामा दाम राखिन्छ र ढुक्क हुन्छ। केहीले नाम कमाए। चारैतिर नाम फैलियो। धेरैथोरै दाम सबैले कमाउन सक्छ तर नाम सबैले कमाउन सक्तैन। दाम कमाउन अनेक कामजस्तै नाम कमाउन पनि अनेक क्षेत्र जस्तो गीत, सङ्गीत, गायन, साहित्य, संस्कृति, विज्ञान आदि।
साहित्यको क्षेत्रमा लागेर नाम कमाउनेहरू महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम आदि मरेर पनि अमर छन्। विश्वव्यापी नाम वा त्यस्तैगरी आज साहित्यको आकाशमा काभ्रे जिल्लामा क्रियाशील व्यक्तित्वहरूमा वरिष्ठ साहित्यकार मोहन दुवाल बनेपा निवासी भएर पनि राष्ट्रव्यापी मात्र होइन राष्ट्र बाहिर पनि उहाँको नाम फैलिएको छ। त्यस्तै पनौतीबाट सूर्यप्रसाद लाकोजूको नाम पनि राष्ट्रवाट क्रमश बाहिरिदैँ छ।
आज उहाँहरू नै हुन् जसलाई हजारौले चिनेका छन्। उहाँहरूको पुस्तकले नै नाम पनि बोकेर जाने गर्दछ। हाम्रो महाकवि, हाम्रो मोहन दुवाल हाम्रो सूर्यप्रसाद भनेर सम्बोधन गर्दा हामीलाई खुशी र गौरव लाग्ने अवस्था आइसकेको छ। साहित्यिक इतिहास निर्माताहरूको उज्ज्वल भविष्यको कामना गर्दछु। फेरि एकपल्ट पनौती पुस्तकको गान गाएँ। पनौतीलाई बुझ्न चाहनेहरूका लागि यो अत्यन्त उपयोगी छ।
प्रकाशित: २९ कार्तिक २०७८ ०४:११ सोमबार