नवराज शर्मा
ऊ थला पर्यो।अस्पताल पुयाइयो। औषधि उपचार भयो। सञ्चो भयो।
मनमनै भन्यो,‘क्या काइदाको अस्पताल रहेछ!’
बिल आयो। झण्डै मुर्छा परेन।सोच्यो,‘गरिबको कोही हुँदा रहेनछन्।’
पैसा तिर्न नसकेपछि ऊ अस्पतालको बन्धकमा पर्यो। घरकाले हारगुहार गरे। उजुरी गरे।
सबैले एकैस्वरमा भने,‘लिएपछि तिर्नुपर्छ। खाएपछि हग्नुपर्छ भन्ने थाह छैन?’
‘हो त नि’, उसको मनले भन्यो। उसलाई लाग्यो पहिलोचोटि उसको ज्ञानचक्षु खुल्यो।
ज्ञानचक्षु खुलेपछि उसले धनको महत्त्व जान्यो। उद्योग गर्यो। उद्यमी बन्यो। मनग्यै कमायो। अरूलाई सरसापट दिने भयो। गाह्रोसाँगुरोमा काम लाग्ने भयो।सहयोगी भयो।
लगानी डुब्ने भएपछि आसामीलाई समाएर ल्यायो। पैसा नतिरून्जेल बेगारी गर्नुपर्ने, कतै जान नपाउने भनी उर्दी जारी गर्यो। उजुरी परेपछि प्रहरी आए। उसलाई समाए। अरूलाई बन्धक राख्नाको कारण सोधे।
सापट लिएर तिरेन, त्यसैले।’ उसले भन्यो।
सबैले मुखामुख गरे। मरीमरी हाँसे।
‘कस्तो उल्लू मान्छे रहेछ। ‘हकारे’ कानुन हातमा लिने?
अस्पताल कृत्रिम व्यक्ति ऊ नैसर्गिक। ऊ कता अल्झियो, कता चुक्यो त? नैसर्गिक व्यक्तिलाई खाए पनि शूल हुने,खुवाए पनि शूल हुने कृत्रिमलाई न हुने किन?
ऊ अचम्ममा परे। उसलाई लाग्यो उसको ज्ञानचक्षु त खुलेकै रहेनछ!
प्रकाशित: २७ कार्तिक २०७८ ०५:०५ शनिबार