सुदर्शन भट्टराई
‘ ए, कान्छा बा ! कान्छा बा !!’मैले बोलाएँ।
‘भात खान आउनु।’ मैले भन्दा पनि भाइले अझै जोडले करायो।
कान्छा बा र हाम्रो घर वारिपारि पर्थ्यो। पारि बोलाउँदा पनि सुनिने दुरीमा। घर भन्नुको मात्र थियो। कान्छा बा एक्लै बस्नुहुन्थ्यो। आइमाई नभएको घर कस्तो हुन्छ भन्ने प्रमाण कान्छा बाको घर थियो। त्यसैले खाना पाकेपछि हामी उहाँलाई बोलाउँथ्यौं। भाइले कान्छा बासँग मभन्दा धेरै उठबस गथ्र्याे। ऊ कान्छा बासँग रत्तिएको थियो। त्यसैले कान्छा बाको ऊ प्यारो पनि थियो।
हाम्रो घर गाउँको माझमा थियो। हाम्रो गाउँलाई बाहुनगाउँ भन्थे। घरको माथितिरको आधाजति भाग सेतो कमेरोले र तलतिरको भागमा रातो माटोले पोतेको हेर्दा नै बेग्लै किसिमको देखिने एकै प्रकारका घरहरूको गाउँ नै बाहुनगाउँ थियो। वारिपारिबाट हेर्दा नै मनमोहक लाग्ने अरू समुदायका घरहरूभन्दा बेग्लै पहिचान झल्किन्थ्यो।
हाम्रो घरबाट दशपन्ध्र मिनेट जति सल्लाघारीको ओरालो लागेपछि खेतको फाँट थियो जसलाई बाहुन बेंसी भनेर चिन्ने गर्थे। त्यहाँ हाम्रो करिब पचपन्न साठी मुरी धान फल्ने खेत थियो। त्यहाँ मौसमअनुसार खेती हुन्थ्यो। हामी त्यहीँ गाईगोरु चराउन पनि लान्थ्यौं। फाँटको तलबाट बग्ने भुग्देउँ खोलाको पानीले त्यो फाँट सिञ्चित गरिएको हुन्थ्यो।
भुग्देउँ खोला र मेरो दुस्मनी छ भन्दा पनि हुन्छ।
प्यारो भाइको आमालाई त्यही खोलाले निलेको थियो। जुनबेला हामी ३ वर्षका मात्र थियौं। खोलामा पुल थिएन। खोलामा पानीको सतह कम हुँदा ढुंगाहरू थुपारेर फड्के बनाउँथे। वर्षा याममा खोलाको पानी बढेपछि पानीले फड्के बगाउँथ्यो अनि मानिसहरू खोला नै तरेर वारिपारि गर्थे। ठूली आमाले खोला तर्दा खोलाले बगाएको थियो। म अझै पनि खोला देख्दा झस्किने गर्छु। त्यो खोला तरेर आधा घन्टाको उकालो हिँडेपछि कान्छा बाको घर आउँछ। कान्छा बाको घरमा पुग्दा लाग्थ्यो गाईभैंसी राख्ने गोठमा आइपुग्यौं।
हाम्रो गोठ र कान्छा बाको घर उस्तैउस्तै थियो। ढुंगामाटोको गाह्रोले बनाएको त्यो घरको लिपपोत नभएको कारण गाह्रोको माटो वर्षाको पानीले बगाएर करङ मात्र भएको दुब्लो मानिसको पिठ्यूँजस्तो देखिन्थ्यो। पानी पर्दा पानी घरभित्र पस्थ्यो। त्यही भएर कान्छा बा प्रायः घर बाहिरै बस्ने गर्नुहुन्थ्यो। उहाँको घर अगाडि एउटा ठूलो ओखरको बोट थियो। भाइ र म कान्छा बाको घरमा जाँदा कान्छा बा हामीलाई ओखर दिनुहुन्थ्यो। हामी खुशीले उफ्रन्थ्यौ। फर्किंदा बाटोभरि ओखरको खोपी खेल्दै घर पुग्थ्यौँ।
मेरी ठूली आमा मेरो प्यारो भाइकी आमा थिइन्। हामी ३ वर्षको हुँदा उसकी आमालाई खोलाले बगाएको थियो। गाउँदेखि तल पारि गाउँ जाने बाटोमा पर्ने रोशी खोलाले बगाएको थियो। खोलाले लाश बनाएर बगरमा हुत्याइदिएको थियो। त्यसपछि भाइ झनै सबैको प्यारो भयो। आमा नभएको भनेर उसलाई माया गर्थे। कान्छा बा झन् उसलाई प्यारो मान्थे। त्यसैले उसको बोली सुन्नासाथ कान्छा बाको उत्साहजनक आवाज सुनिन्थ्या।
भाइ चञ्चले स्वभावको थियो। उसलाई चकचक गरिरहनु पर्थ्यो। गाईगोरु चराउन जाँदा पनि भाइ खेतका कान्लाहरू नाघ्दै दौडन्थ्यो। उफ्रिनु उसको स्वभाव थियो। हामी त्यस्तै ४–५ महिनाको फरकमा जन्मेका थियौं। तैपनि हामीमा केही अन्तर थियो। म अलि लुरे थिएँ। भाइ अलि होचो, डल्लो र मोटो थियो। टिमिला, खन्यूँ, आरुजस्ता गाउँघरतिर पाइने मौसमी फलफूल हुने याममा ऊ झन् घरमै बस्दैनथ्यो। अझ काफल पाक्ने मौसममा त स्कूलबाट आएपछि किताब ओछ्यान नजिकैको आटमा राखेर दौडिएर कहाँ पुग्थ्यो, कहाँ ? बेलुका खाना खानेबेला मात्र ऊ टुप्लुक्क आइपुग्थ्यो।
दशैंको अष्टमीको दिन। नयाँ लुगा लगाउन पाउने दिन। हामी बालकका लागि यस्तै लाग्थ्यो। नयाँ लुगा लगाउन पाएर दंग हुन्थ्यौं। त्यसपछि जहाँ जाँदा पनि सँगै जाऊ भन्थ्यो भाइ। म उसले लगाएको नयाँ लुगा हेरेर फुरुङ्ङ हुन्थें भने ऊ मैले लगाएको हेरेर दंग पथ्र्याे। हामी नयाँ लुगाको बारेमा मात्र कुरा गर्न मन पराउँथ्यौं। मलाई लाग्थ्यो– यो नयाँ लुगा पनि नभएको भए मलाई उसले हेर्ने पनि थिएन होला।
‘आज त दशैं, घिउ र भात खाने हगि?’ ऊ मलाई भन्थ्यो।
हाम्रो परिवारमा माछामासु खाने चलन थिएन। हामी दशैंतिहार जस्ता ठूला चाडपर्वमा घिउ र भात खान्थ्यौं। आमाले भात दिनुहुन्थ्यो अनि त्यसैमाथि जाईफल, ल्वाङ, सुकुमेल, मरिच अनि खै केके मिसाएर धूलो बनाएको मसला भातमा छरिदिनुहुन्थ्यो। त्यो मसलामाथि तातो उम्लेको घिउ हालिदिनुहुन्थ्यो। मगमग बास्ना आउन थाल्थ्यो। मीठो हुन्छ भन्ने अनुमानले भाइ र म खुशीले उफ्रिन्थ्यौं। अनि मेरोमा धेरै घिउ हाल्दिनु आमा भनेर हामी दाजुभाइ भन्न थाल्थ्यौं। हाम्रो उत्साह र खुसी देखेर आमा झन् दंग पर्नुहुन्थ्यो।
हाम्रो पुर्ख्यौली सम्पत्ति भन्नु नै खेतबारी थियो। त्यो पनि धेरै। ब्राम्हण परिवारले गोरु जोत्न हुँदैन भन्ने चलन थियो। आज पनि हाम्रो त्यस गाउँमा ब्राम्हणले गोरु जोत्ने चलन छैन। भएको बारी त्यसै बाँझै राख्ने चलन पनि थिएन। बाँझै राख्नु भनेको एक किसिमको पाप बोक्नुहुन्थ्यो। त्यसैले हाम्रो खेतबारी जोताउन पारि डाँडामा घर भएको तामाङलाई जिम्मेवारी दिइएको थियो। जो सोझो थिए। हाम्रा बाउबाजेको नजरमा इमानदार र परिश्रमी व्यक्ति नै चाहिएको थियो। त्यसैले उनलाई यो जिम्मेवारी दिइएको थियो।
हाम्रो परिवारलाई सघाउने भएकाले हामी दाजुभाइ उहाँलाई कान्छा बा भनेर बोलाउँथ्यौं। हामीलाई उहाँ हाम्रै परिवार हो जस्तो लाग्थ्यो। त्यसैले प्रायः हामी कान्छा बालाई खाना उहाँकै घरमा पुर्याइदिन्थ्यौं। धेरैजसो भाइले नै पुर्याउने गथ्र्याे। हाम्रो खेतबारीमा उहाँ दिनहुँ काम गरिरहेको हामी देख्थ्यौं। उहाँको परिश्रम देखेर गाउँका सबै भन्ने गर्थे, ‘कामचाहिँ कति गर्न सकेको होला।’
साँच्चै नै उहाँ निकै मेहनती हुनुहुन्थ्यो।
तर, हाम्रो घरदेखि पारि रहेको कान्छा बाको घर जहिल्यै सुनसान हुने गर्थ्यो। त्यहाँ हामीले थाहा पाएदेखि कान्छा बा बाहेक अरूलाई देखेका थिएनौं। त्यसैले घरआँगनचाहिँ जहिल्यै फोहर हुन्थ्यो। कहिलेकाहीँ कान्छा बाले आँगन बढारकुँडार गरेको मैले देखेको पनि थिएँ। हाम्रो घरमा चाहिँ आमाले घरआँगन बढारेको देखेको थिएँ। कान्छा बाको घरमा चाहिँ जहिल्यै कान्छा बाले बाहेक अरू कसैले सरसफाइ गरेको देखेको थिइनँ। त्यसैले एकदिन आमालाई मैले सोधें, ‘आमा, कान्छा बाको घरमा किन कोही पनि नभएको?’
मेरो प्रश्नले आमालाई पहिले अचम्म लागेछ। मलाई पहिले त एकोहोरो हेर्नुभयो। त्यसपछि के सोच्नुभयो कुन्नि लामो सुस्केरा तान्दै भन्नुभयो, ‘विचराकी श्रीमती एउटा छोरा जन्मिएपछि झाडापखालाले लग्यो। भएको त्यही सन्तान पनि पछि दैवले चुडेर लगिहाल्यो नि।’
एकछिनको मौनतापछि आमाले थप्नुभयो, ‘एउटा सानो भूलले त्यो बच्चाको पनि प्राण गयो।’
आमाको अनुहार अँध्यारो भइसकेको थियो। मेरो अचानकको सोधाइले कान्छा बाको घरको रहस्य खुल्दै थियो। तर आमा भने विगत सम्झेर रुनुहुन्छ कि जस्तै लाग्यो।मलाई भने कान्छा बाको छोरा कुन भूलले बित्यो भन्ने कुतुहलताले व्यग्र बनायो अनि मैंले सोधेँ – ‘कान्छा बाले के भूल गर्नुभयो?’
आमाले भन्नुभयो– ‘असारको दिन थियो। बच्चाले पातलो दिसा गरेछ। बच्चालाई चिसो लाग्यो भनेर तेरा कान्छा बाले मसिना दाउराहरुको चाङ लगाएर आगो बालेछन् र केहीबेर दाउरा बालेपछि त्यहीमाथि बच्चालाई राखिदिएछन्। बच्चा निस्सासिएर धेरै रोएपछि अब त चिसो गयो होला भनेर केहीबेर काँधमा बोकेर आँगनतिर खेलाएछन्। त्यति गर्दा पनि बच्चा चुप लागेनछ। रातभरि रोइ नै रह्यो भनेर भोलिपल्ट हाम्रो घरमा लिएर आ।’
आमा एकछिन चुप लाग्नुभयो। आमाको अनुहार रुन खोजेझैं भयो। म चूपचाप कुरा सुनिरहेको थिएँ। तर, आमा चुप लाग्नु भएपछि मैले आमालाई हेरेँ।
मलाई हेर्दै आमा बोल्न थाल्नुभयो, ‘बच्चाको पछाडिको भाग पूरै जलेको रहेछ। हामी छक्क पर्यौं। अनि तेरा बाले स्वास्थ्य चौकी लैजानुभयो। त्यहाँ पुगेपछि बच्चा बचाउन सकिँदैन भन्ने कुरा थाहा भयो। तेरा बा रुँदैरुँदै घर आउनुभयो।’
म चूपचाप सुनिरहेको थिएँ। त्यो कुरा सुनेर मेरो आङ सिरिङ्ग भएर आयो। कति डरलाग्दो कुरा। बिचरा त्यो बालकको अवस्था मेरो बालमनमा अलिअलि भए पनि चित्रण भएको थियो। मैले डराईडराई सोधेँ,‘त्यसपछि के भयो आमा?’
‘त्यसको २–३ दिनपछि कान्छाको छोरा मर्यो। बिचरा नाबालकले कष्ट व्यहोरेर आफ्नो इहलीला त्याग्यो।‘ आमाले लामो सुस्केरा लिँदै भन्नुभयो।
त्यसबेला हाम्रा बा धेरै रुनुभयो रे। हाम्रा बा केटाकेटीलाई औधी माया गर्ने स्वभावका हुनुहुन्थ्यो। त्यसमाथि कान्छा बाको सन्तानलाई उहाँ झन् रुचाउनुहुन्थ्यो। कान्छा बाको एक मात्र बाँकी रहेको साथी पनि साथ छोडेर यो संसारबाट बाटो लागेकाले पनि उहाँलाई रुवाएको हुनुपर्छ। त्यहीमाथि त्यो बालकको प्राण आगोले डढेर गएको सोच्दा पनि कति मन दुख्थ्यो होला।
रिजल्ट लिएर सदरमुकामबाट आउँदा हेडसरले बाटोमा भेटिएका मेरा बालाई भन्नुभएछ,‘अलि सोचेर लेख बरु म समय थपिदिन्छु भन्दा मानेन। दुई नम्बरले गर्दा तपाईंको छोरा तेस्रो भयो।’
३ कक्षाको जिल्लास्तरीय परीक्षा थियो। त्यसैले जिल्लाभरिको परीक्षाको नतिजा एकैपटक आउने र सबै स्कुलको चासो हुने गरेको थियो। मलाई चाहिँ भीमलाल के भयो भन्ने चासो थियो। ऊ चौथो भएको रहेछ।
भिमलाल मसँग मिल्थ्यो। उसको पढाइ राम्रो थियो। त्यसैले हामी कक्षामा आफ्नो पढाइको कुरा गथ्र्याैं। उसले चौथो स्थान ल्याएपछि चाहिँ कतै मलाई उछिन्ने हो कि भन्ने डर पनि लाग्थ्यो तर उसलाई मलाई भन्दा कम गणित आउँथ्यो। ऊ मसँग सिकी माग्थ्यो।
हामी ५ पास भएर ६ कक्षा पढ्न सदरमुकाम वरपरका हाईस्कूलतिर लाग्यौं। तर भीमलालको बुबाले उसलाई पढाउन सक्ने कुरै भएन। उसका बा हाम्रोमा मेलापात गर्नुहुन्थ्यो। यसरी नै त्यो परिवारको गुजारा चलेको थियो। त्यसैले ऊ सदरमुकाम गएर पढ्न नसक्ने भयो।
८ कक्षामा पढ्थें। जेठको बिदामा घर पुगेँ। सदरमुकामको स्कुलमा पढ्न भनेर कोठा लिएर बस्ने गरेको थिएँ। घर छोडेर बस्नुपर्ने भएकाले विद्यार्थी जीवन एक किसिमले कष्टकर थियो। त्यसैले बिदा हुनासाथ घर पुगेको थिएँ। मकै गोड्ने काम रहेछ। म खेतालालाई खाजा लिएर बारीमा जाँदा भीमलाल पनि रहेछ। उसले अलि लाज मानेजस्तो ग¥यो। उसलाई मैले निकैबेर हेरेँ। ऊ झन् लजायो। खाजा खाने समयमा गफ गर्ने मौका मिल्यो। मैले उसलाई सोधेँ,‘भीमलाल, तिमी पढ्न गएनौ?’
उसले जवाफ दियो, ‘कसरी जानु र ? तिम्रोजस्तो हाम्रो सम्पत्ति छैन। कोठा लिएर बनेपामा बसेर पढ्ने हैसियत हाम्रो कहाँ हुनु र? आफू त गरीब परियो।’
उसको कुरा सुनेर मलाई नराम्रो लाग्यो। मलाई जस्तै उसको बाले पनि पढाउन सकेको भए हामी सँगै एसएलसी पास गर्थ्यो अनि हामी एउटै विद्यालयमा शिक्षकको पेशामा लाग्ने छौं भनेर बाल्यकालदेखि गरेको सल्लाह पनि चकनाचुर भएको मैंले आज मात्र थाहा पाएँ।
दिनहरू बित्दै गए। एसएलसी पास गरेर घरदेखि टाढाको विद्यालयमा अस्थायी शिक्षक भइसकेको थिएँ। महिनामा एकदुई पटक मात्र घर आउन पाउँथेँ। विद्यालय टाढै भएकाले आइरहन पनि मन लाग्दैनथ्यो। विद्यार्थी धेरै भएको विद्यालयमा काम पाइएको थियो। म निकै खुशी थिएँ। एसएलसी सकिनासाथ आफ्नो योग्यताको सदुपयोग गर्न पाइरहेको थिएँ। आफ्नो क्षमतालाई पनि तिखार्नु थियो। त्यसैले पनि विद्यालयमा धेरै समय दिन्थें।
असारको एकदेखि श्रावण पन्ध्र गतेसम्म वर्षे बिदा हुन्थ्यो। विद्यालय बिदा हुने भएपछि म लामो समयका लागि घर जाँदै थिएँ। बिदा पनि डेढ महिनाको थियो। घर बसीबसी डेढ महिनाको तलब आउने कुराले म अचम्म र दंग दुवै परेको थिएँ। त्यही दंगदास स्थितिमा म आफ्नो गाउँ फर्किएको थिएँ।
आफ्नै घर पनि अनौठो लागिरहेको थियो। आफू खेलेको आँगनले पनि अपरिचितलाई झैं हेरिरहेको अनुभूत भइरहेको थियो। धेरैपछिको लामो बाटोको यात्राले थकाइ लाग्नु स्वाभाविक पनि थियो। बेलुकीपख थाहा भयो, बाले हरेक दिनको काम विभाजन गरिसक्नुभएको रहेछ। मलाई पनि खेतीमा सघाउने जिम्मेवारी सुम्पिइएको थियो। यो जिम्मेवारी पाएर मलाई खुशी नै लाग्यो। घरमा उसै बस्नु पनि भएन।
धेरैपछि आमाको हातको खाना खान पाएर मन औधी रमायो । खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। हाम्रो घर ४ वटा भएकाले हामी दाजुभाइ छुट्टाछुट्टै घरमा सुत्ने गथ्र्याैं। दाइ र भाइ गइसकेका थिए। म मात्र बाँकी थिएँ। आमाले मलाई भन्नुभयो,‘बाबु तँ स्कुल पढाउन गइस्। यता कान्छा बा बिते नि। तैले उता यो खबर थाहा पाइस् कि?’
एकछिन त आमा के भन्दै हुनुहन्छ भन्ने लाग्यो। अचम्म लागेर म मुढाझैं भएँ। आफू उभिएको धरातल भासिएझैं लाग्यो। भाइको भन्दा कम गरे पनि कान्छा बा मलाई पनि माया गर्थे। म अक्क न बक्क भएर उभिरहे। एकटक लगाएर आमालाई हेरिनै रहेको रहेछु। बुबाले भन्नुभयो,‘अब काम चलाउन सारोगारो हुने भयो। कान्छो पनि मरिहाल्यो।’ बाको खुइय्य सुस्केरा सुनियो।
यति भनेर बा चिन्तित मुद्रामा देखिनुभयो। कान्छा बा बितेकोमा बा पनि चिन्तितहुनुहन्थ्यो। बाका दाहिने हात नै थिए।जुनसुकै काममा पनि अह्राइपराइ गर्दा सजिलै गरिदिने भएकोले पनि अब उनको कमी महसुस भएको हुनुपर्छ।
‘सुनिस् कान्छा बाले लगाएको लुगाभरि पैसा नै पैसा थियो रे। जलाउँदा त राँको नै नीलो बलेको थियो रे।’ आमाले भन्नुभयो।
कान्छा बाको घर वर्षामा पानी चुहिएर बसी नसक्नु हुन्थ्यो। त्यस्तो हुँदा पनि उहाँले आफ्नो घरलाई वास्ता गर्नुभएन। मर्मत गर्नुपर्छ भन्दा ‘अब कसका लागि बनाउनू’ भन्नुहुन्थ्यो। बारीको काममा मात्रै जोतिरहने कान्छा बालाई चाहिँ कहिलेकाही के हुन्थ्यो कुन्नि। हामी दाजुभाइ उनको आँगनमा पुगेर बोलाउँदा पनि बोल्नु हुन्नथ्यो। हामीले धेरैबेर बोलायौं भने बल्ल झर्किएको मसिनो स्वरमा ‘सुनेको छु मैले’ भनेर बोल्नुहुन्थ्यो। यतिबेला लाग्छ कान्छा बाको एक्लो जिन्दगीले पनि असर पारेको हुनुपर्छ। आखिर जीवनसाथी नभएपछि यो घरको रेखदेख नभएपछि उहाँको मनस्थितिले पनि बेलाबेला हार खादो हो।
कान्छा बा बितेको खबरले म रणभुल्लमा परेँ। बाआमासँग केही नबोली सुत्न अर्काे घरतिर लागे। मनमा केके कुराहरू खेलिरह्यो। कुन बेला निदाएँछु पत्तै भएन। सपनामा पनि कान्छा बासँग आङे टारको खेतमा उहाँले गोरु जोत्दा भाइ र म पछिपछि कुदेको देखेँछ। कान्छा बा भन्दै थिए, ‘पढेर मास्टर भइहाल्यौ। मेरो छोरो पनि बाँचेको भए तिमीसँग पढथ्यो।’
बिहान बिउँझिएपछि घरको आँगनबाट पारि कान्छा बाको घर देखियो। त्यसै त पहिलेदेखिको रित्तो घर । झन् कान्छा बा नहुँदाको रित्तो घरले परैबाट मलाई पिरोलेर ल्यायो। अझै पनि उहाँ घरको आँगनमा बसेर हाम्रो लागि बाँसको डोको बुन्दै हुनुहुन्छ होला भन्ने लागिरह्यो। खेत जोत्न हलो खुर्किदै हुनुहुन्छ होला भन्ने एक किसिमको तर्कना मनमा आइरह्यो तर त्यस घरसम्म पुगेर हेर्ने आँट भने आएन।
म चूपचाप उभिएर कान्छा बाले हाम्रो आङे टारको खेत जोतिरहेको सम्झिएर उहाँसँग बिताएको बालापनलाई पछ्याइरहेँ। मेरा आँखाबाट बलिन्द्रधारा आँसु बगिरहेका थिए।
प्रकाशित: १५ कार्तिक २०७८ ०८:४८ सोमबार





