२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

नामै रह्यो बाग्मतीभाइ

हुतराम वैद्यले आफ्नो एकल प्रयासमा बाग्मती सफाइ अभियान चलाएका थिए।

सुन्दर, सग्लो बाग्मतीको सपना देखेर अभियानमा जुटेका वैद्यले कहिल्यै बाग्मतीलाई सफा र हरियाली देख्न पाएनन्। तर उनको त्यो सग्लो र स्वच्छ अभियान भने अझै जारी छ।

त्यो अभियानमा अझैसम्म एक्लो प्रयासरत रहने अर्काे व्यक्तिको नाम हो, बाग्मतीभाइ। उनको वास्तविक नाम भने सुन्दरमान श्रेष्ठ हो। तर उनी अहिले बाग्मतीभाइका नामले बढी परिचित छन्। 

काठमाडौं महानगरपालिका–११ बाग्मतीसँगै त्रिपुरेश्वर घर भएका उनी अहिले भने काठमाडौं महानगरपालिका– ३२ तीनकुने काठमाडौंमा बस्छन्। ‘मेरो पुरानो घर बाग्मती नदीदेखि एक सय मिटर नजिकै त्रिपुरेश्वरमा थियो,’ बाग्मतीभाइ भन्छन्, ‘घरनजिकैको देशकै पवित्र बाग्मतीको दुर्गतिले मेरो मन रोयो र बाग्मती सफाइमा उहिलेदेखि अहिलेसम्म चिन्तित छु।’

यही चिन्तालाई थोरै मात्रै साकार पार्न उनी उहिलेदेखि अहिलेसम्म सक्रिय छन्, विभिन्न हिसाबले। बाग्मतीको चिन्ता गर्ने बाग्मतीभाइ भन्छन्, ‘बाग्मती सभ्यता हो, यो इतिहास पनि हो।

हाम्रा पुर्खाले बनाएका सम्पदालाई जसरी हामीले उपयोग गरीरहेका छौं, यी धरोहर र सभ्यता जागाउने जिम्मा हाम्रो पनि हो। किनकि भावी पुस्तालाई पनि उत्तिकै बाग्मती प्रयोगको अधिकार छ।’ उनका हिसाबमा बाग्मती नदी हेपिएकी छन्। अनि, उनीमाथि अतिक्रमण भइरहेको छ।

विभिन्न नाममा बाग्मती सफाइको बहानामा यो नदीमा अर्बौं रकम बगिसकेको छ। तर, बाग्मती नदीले आफ्नो स्वरूप पाउन सकेको छैन। बढ्दो आवादी अनि सरकारी बेवास्ताका कारण बाग्मती नदीलाई नियन्त्रण होइन, यसको संरक्षण गर्नुपर्छ भनी निरन्तर लागिरहेका छन् उनी।

कसरी जुर्‍यो नाम?

युवा अवस्थादेखि नै बाग्मती नदीका बारेमा चिन्तित ५६ वर्षीय सुन्दरमान श्रेष्ठ बाग्मतीको सफाइमा निरन्तर लागिरहेका थिए। तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग बाग्मती सफाइकै क्रममा उनको भेट धेरैपटक भयो।

तर तत्कालीन मुख्यसचिव लीलामणिलाई उनको नाम खासै याद रहेन। त्यसकारण सुन्दरमानलाई लीलामणिले सुन्दरमान भनेर कहिल्यै सम्बोधन गरेनन्, बोलाएनन्। बरु जहिल्यै बाग्मतीभाइ भनेर सम्बोधन गरे। त्यसपछि सुन्दरमानले पनि आफ्नो नाम सुन्दरमानको सट्टा बाग्मतीभाइ राखे।अहिले पनि उनी आफ्ूलाई बाग्मतीभाइ भनेरै परिचित गराउँछन्। 

साहित्यमार्फत जनचेतना

बाग्मतीलाई बचाउन उनले अर्काे हतियार चलाइरहेका छन्, त्यो हो साहित्य। साहित्यमार्फत नै उनले बाग्मतीलाई जोगाउनुपर्ने जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्। त्यसका लागि उनले आफ्नै अध्यक्षतामा बाग्मती साहित्यिक केन्द्र स्थापित गरेका छन्। 

केन्द्रले विभिन्न समयमा बाग्मती बचाउनुपर्ने विषयमा विद्यालयस्तरीय साहित्यिक प्रतियोगिता पनि गरिरहेको छ। बाग्मती बचाउनुपर्ने चेतना दिन उनले उत्कृष्टलाई आफ्नै व्यक्तिगत खर्च गरी पुरस्कृत पनि गर्दै आएका छन्। साथसाथै उनले २०७६ सालमै बाग्मती नामक कविता संग्रह प्रकाशित गरी निःशुल्क रूपमा अहिले पनि ठाउँठाउँमा वितरण गरिरहेका छन्।

ब्यानर अभियान

बाग्मतीलाई जोगाउन उनको अर्काे अभियान हो, ब्यानर अभियान। बाग्मती छेउछाउका किनार तथा काठमाडौंका विभिन्न ठाउँमा बाग्मती बचाऔं भन्ने सन्देश लेखिएका ब्यानर टाँग्दै आएका छन् उनले।

साथसाथै उनी बाग्मतीलाई जोगाउनुपर्ने सन्देशसहितका लेख–रचना पनि लेखिरहन्छन्। बाग्मतीलाई जोगाउन आह्वान गर्दै उनी दैनिकजसो सामाजिक सञ्जाल फेसबुकमा पनि आफूले लेखेका साहित्य पोस्ट गरिरहन्छन्।

खुट्टामा समस्या 

उनी अहिले पहिला जस्तो बाग्मतीभित्र पसेर बाग्मती सफा गर्न जाँदैनन्। किनकि उनको खुट्टामा अहिले समस्या छ। ‘पहिला बाग्मती सफा गर्न धेरै बाग्मतीभित्र पसियो,’ उनले भने, ‘यही कारण खुट्टामा समस्या भएको भनी चिकित्सकले बताएका छन्।’ एकजना मानिस बाग्मती सफा गर्न पसेर बाग्मती सफा हुने उनको धारणामा अहिले परिवर्तन भइसकेको छ।

बरु जनचेतनामार्फत बाग्मतीलाई सफा गर्न सकिने उनको विश्वास छ। यही कारण अहिले उनी अरूलाई पनि बाग्मतीभित्र पसेर सफा गर्न नजान सुझाव दिन्छन्।

नेपालकै पहिलो कृषि इन्जिनियर हुतराम वैद्यको शरीरले ९४ वर्षको उमेरमा सन् २०१३ डिसेम्बर २४ का दिन विश्राम लिएको थियो। वैद्य जीवन लीलाबाट अस्ताए पनि उनको संरक्षण अभियान भने अस्ताएको छैन।

अस्ताउनु पनि हुँदैन। काठमाडौं र बाग्मतीलाई सभ्यताको नाममा परिचय दिलाएका वैद्यको अभियानले तब मात्र सार्थकता पाउनेछ, उनको आत्माले तब मात्र शान्ति पाउनेछ, जब बाग्मती नदीमा स्वच्छ पानी बग्न थाल्नेछ,यो फोहोर र ढल मुक्त बन्नेछ, अनि अतिक्रमणकारी र भुमाफियाको चंगुलबाट बाहिर आउनेछ। सरकारी जागिरबाट अवकाश पाएपछि जीवनका अन्तिम क्षणसम्म बाग्मती सरसफाइ अभियानमा होमिएका वैद्यले बाग्मती सफाइको अभियान व्यक्तिगत रूपमै चलाएका थिए।

प्रकाशित: १३ कार्तिक २०७८ ०३:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App