सिर्जनशील मान्छे चुप लागेर बस्नै सक्दैन। एकएक पल समयको सदुपयोग गर्दै केही न केही गरिरहन्छन् सिर्जनशील मान्छेहरू।
एक पल पनि समय खेर जान दिँदैनन्। श्रीराम राई पनि यस्तै सिर्जनशील मान्छे हुन्। उनी केही न केही सिर्जनशील कार्य गरिरहन्छन्। कहिले लघुकथा लेख्छन्, कहिले हाइकु लेख्छन् अनि कहिले बालकथा लेख्छन्। पेसागत रूपमा भन्नुपर्दा उनी एक दैनिक पत्रिकाको अनलाइनमा कार्यरत छन्।
पेसागत व्यस्तता हुँदाहुँदै पनि समय निकालेर श्रीराम राई सिर्जनशील कार्यमा लागिरहन्छन्। त्यसैको परिणाम हो, यो बालकथा संग्रह ‘पोलेको मकै’। यसअघि उनको ‘टोली नेता’ बालकथा संग्रह र ‘आजका लघुकथा’ संयुक्त लघुकथा संग्रह पनि प्रकाशित छ।
उनको यस पछिल्लो पुस्तक ‘पोलेको मकै’ मा विभिन्न समयमा लेखेका र विभिन्न पत्रिकामा छापिएका सातवटा बालसुलभ विषयवस्तुमा आधारित कथा संग्रहित छन्।
विद्यालय तहका बालबालिकाको रुचि र मनोविज्ञानलाई ध्यानमा राखेर लेखिएका कथाहरू रमाइला, रोचक र शिक्षामूलक छन्। यी कथा पढेर विद्यालय तहका सबै बालबालिकाले मनोरञ्जनका साथै व्यवहारोपयोगी शिक्षा पनि हासिल गर्न सक्नेछन्। कथामा बालपात्रको भूमिका अहं रूपमा प्रस्तुत गरिएका छन्।
वयस्कले बालबालिकालाई शिक्षा दिनुपर्नेमा बालबालिकाले नै वयस्कलाई शिक्षा दिने खालका कथा पनि छन्। सिक्ने कुरा सानाबाट पनि सम्भव छ भन्ने तथ्यलाई यो संग्रहका कथाहरूले पुष्टि गरेका छन्।
संग्रहको पहिलो कथा हो, ‘मुनाको अभियान’। यस कथामा २०७२ सालको विनाशकारी भूकम्पले चौरमा बास बस्न पुगेका केही प्रौढ तथा बालपात्रको रोचक र शिक्षामूलक सन्दर्भ छ।
भूकम्पबाट सुरक्षित रहन र भूकम्पबाट हुने क्षति कम गर्न भूकम्पप्रतिरोधी घर निर्माण अभियानमा जोड दिनुपर्ने आवश्यकतालाई यो कथाले जोड दिएको छ।अनि, त्यस्तो अभियानको अगुवाइ मुना नामकी पात्रले गरेकी छन् र उनलाई अरू ठूला मान्छेले सघाएका छन्। त्यसैले कथाको शीर्षक नै ‘मुनाको अभियान’ राखेको सार्थक देखिन्छ।
दोस्रो कथा छ, ‘बलजितको जुक्ति’। यस कथामा घरको सटर भाडामा लिएर होटल थापेका जगमान नामका साहुले अनेक बहाना बनाएर भाडा दिन आनाकानी गर्छन्। उनीबाट भाडा असुल गर्न बलजित नामका बालकले एउटा जुक्ति निकाल्छन् र भाडा असुल गर्न सफल हुन्छन्। कथामा बालबालिकामा शब्दभण्डार बढाउने शब्दहरूको अर्थ समेत दिइएको छ। कथा रमाइलो छ र बालबालिकाकाले पक्कै मन पराउनेछन्।
तेस्रो कथाको शीर्षक हो ‘सुम्निमाको भ्रमण’। यस कथामा भ्रमणको महत्त्व दर्शाउन खोजिएको छ। भ्रमणबाट बालबालिकाले भौगोलिक ज्ञान हासिल गर्नुका साथै उनीहरूको ज्ञानको दायरा विस्तृत बनाउन सघाउने तथ्यलाई पुष्टि गर्न खोजिएको छ। तर, कथाको शीर्षक ‘सुम्निमाको भ्रमण’ भए पनि सुम्निमाकी आमाले भ्रमणमा लाने कुरा मात्रै गरेको, तर कतै भ्रमणमा नगएकाले चाहिँ बालपाठकलाई अलि खल्लो लाग्न सक्छ।
संग्रहकै शीर्षककथा हो, ‘पोलेको मकै’। यस कथामा अचेलका बालबालिकाले खुब मन पराउने जङ्कफुडभन्दा हाम्रो आफ्नै बारीको पोलेको मकै स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै उपयोगी भएको कुरा बालबालिकालाई सिकाउने प्रयास गरिएको छ।
कथामा जङ्कफुड किनेर खान नसक्ने पात्र र पोलेको मकै मन नपराउने तर जङ्कफुड मात्रै मन पराउने पात्रबीचको द्वन्द्वात्मक स्थितिको वर्णन गरिएको छ। तर अन्त्यमा जङ्कफुडभन्दा पोलेको मकै नै सबैका लागि र सधैंका लागि उपयोगी छ भन्ने कुराको जित भएको देखाइएको छ। कथा निकै सन्देशमूलक छ।
अर्को कथा छ, ‘फूल फुलून्, चरी उडून्’। निकै काव्यात्मक शीर्षकको यो कथाको बीचबीचमा सन्दर्भअनुसारको बालगीत पनि राखिएका छन्। जस्तै–
‘उडौं भन्छु पुतलीझैं,
फुलौं भन्छु फूलझैं ।
मह बनाऔं मौरीझैं,
चम्कौं रातको जूनझैं ।’
कथामा स्थानीयता पनि झल्किन्छ। स्थानीय भाषा र लवजले बालपाठकमा कथापठनमा रुचि जगाउनेछ। यो कथाको अन्तिम अनुच्छेदमा भने अलिकति शुद्धाशुद्धि फरक पर्न गएको छ। संग्रहको अर्को कथाको शीर्षक हो, ‘पारुको पढाइ’।
यस कथामा गरिबीका साथै घरमा अशान्ति हुँदा पढ्न नपाएकी पारुको कथा छ। कथाकी एक पात्र सरुले पारुलाई पनि स्कुल पठाउन पहल गर्छिन्। स्कुलमा भर्ना अभियान पनि चलेको हुन्छ। पारुकै पहलमा पारु स्कुल जान पाउँछिन्। पारु पनि अरू साथीहरूसँगै स्कुल ड्रेस लगाएर स्कुल जाँदा सबै खुसी हुन्छन्। कथामा पढाइको महत्त्व दर्शाउन खोजिएको छ।
संग्रहको अन्तिम कथा हो, ‘बुबाको एसएमएस’। यो कथामा कामको सिलसिलामा बुबा घरबाट टाढा बसेका एक पात्र नाम्छिहाङको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ। उनलाई बुबा साथमा नहुँदा निकै न्याँस्रो लाग्छ। किनभने उनलाई बुबासँग बसेर कथा सुन्न औधी मनपर्थ्यो।
एक दिन बुबा गाउँ गएका बेला गाडी दुर्घटनामा परेको खबर आउँछ। नाम्छिहाङ बुबालाई केही भयो कि भनेर रुन्छन्। तर नाम्छिहाङले हातमा लिइराखेको मोबाइलमा बुबाको एसएमएस आउँछ। नाम्छिहाङले बुबा घर जाँदै गरेको र दिक्तेल पुगेको थाहा पाउँछन्। त्यसपछि उनीहरूको मनमा छाएको चिन्ता हराउँछ। हराएको खुसी फर्किन्छ।
यस कथामा आधुनिक प्रविधिको आवश्यकता र त्यसको महत्त्वलाई दर्शाउन खोजेको देखिन्छ। समग्रमा कथाहरू रमाइला छन्। बालसुलभ विषयवस्तुले कथाहरू बालोपयोगी र शिक्षाप्रद बनेका छन्। कथावस्तु सुहाउँदो चित्रले कथामा थप आकर्षण थपेको छ। ‘पोलेको मकै’ कथासंग्रह साँच्चै पोलेको मकैजस्तै स्वादिलो छ।
पुस्तक :पोलेको मकै
विधा :बालकथा
लेखक :श्रीराम राई
प्रकाशक :बुक्स हिमालय
पृष्ठ :३३
मूल्य :रु. ९९/–
प्रकाशित: १३ कार्तिक २०७८ ०२:३१ शनिबार