१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

ननिदाउने सम्झना

कविता

सिरेन वान्तावा

 

उनको सम्झना  

मेरो बिस्तारामा निदाउँदैन कहिल्यै  

बरु आकाशमाथि बादलसँगै  

रातभर लुकामारी खेल्छ  

र बिहानै भास्वर सूर्य भएर ओर्लन्छ।

उजाड पहाडमाथि

एक्लो गुराँसको बोटमा फुलेर  

साँझमा हिउँचुलीको चिसोले मुहार छोपी  

कहिल्यै निदाउँदैन।

अनिदोले सपनालाई अभ्यर्थना गर्दा,

मबाट सधैं रुने क्षितिजलाई नाघेर      

आँखाको नानीभित्र बसी नजिकै आउँछ

र प्रेमको गुराँस फूल टिपेर  

मूल ढोकामा सिउरन्छ।

प्रणय वृक्ष उखेलेर मैले  

तिम्रो बगैंचामा रोपें  

सम्झनाको खाली पानाहरू च्यातेर  

लेखें केही प्रेमिल हरफहरू।

निद्राले उच्छ्वास सुनाउँछन्।

सपनाको रोदनयुक्त सुँक्कसुँक्क,

पीडा बोक्ने अनिदा रातहरूको लस्कर  

उजाड हृदयको मरुभूमि कुल्चेर जान्छन्।

तिम्रो त्यो अगम्य पथहरूलाई  

खिसी गर्छन् बुढा साँझहरूले  

दुःखको दिवामा भेट थिएछ क्यारे!

घृणा उम्रने समयलाई किन बोध नभएको?

तिरस्कृत यादहरूले ममता बोकेर आउँदा पनि।

अबदेखि मेरो झ्यालका मसिना प्वालहरूबाट  

अमिलो अन्धकार बोकेर  

जूनको उज्यालोसँग नछिर्नू

दिनहुँ म झस्कने रातहरूमा,

स्वागत हुनेछैन मबाट,

फर्किनू, जहाँबाट तय भयो

तिम्रो मायावी यात्रा।

उतैउतै जानू र फर्की नआउनू फेरि।

कहिले ननिदाउने सम्झना ...

भास्वर सूर्यसँगै फर्किनू  

त्यो दिव्य आलोकहरूको लोकमा।

प्रकाशित: ८ कार्तिक २०७८ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App