आचार्य प्रभा
–“मम्मी नाईं म त मामाघर टिका लाउन जान्नँ।
–“किन के भो र ? हिजोसम्म मामाघर जाने भनेर खुशी भइरा’को केटो आज एक्कासि के भयो ?”
–“अँ सुदीप र रञ्जुलाई त दशैंमा ब्राण्डेड लुगाहरू किनी दे’का छन् रे। मलाई त जाबो त्यस्तो। लाज हुँदैन मलाई?”
–“हरे, अस्ति चार दिनअघि मात्र बर्थ डेमा त्यति महँगो लुगा हाल्देको होइन? अब ब्राण्डेड लुगा हिजोको आजै फेरि कहाँबाट किन्नु? दशैंको लुगा पनि कम दामको हो र? टिसर्ट–प्याण्टलाई पाँच हजार पर्यो।”
“पैसा जे जति होस् न तर ब्राण्ड त राम्रो हुनु पर्यो नि!”
बाटो लाग्ने बेलामै छोराले कोकोहोलो मच्चाउन थालेपछि शुभद्रा हैरान भइन् र खुइय्य! गर्दै बसिन्। परबाट श्रीमान् आइरहेको देखेर मुहारमा झुटो मुस्कान छर्दै उठिन्।
–“खै! अझ तयार भएका छैनौ ? छोरो खोई?” श्रीमानले सोधे।
–“ब्राण्डेड लुगा भएन रे। सुदीप र रन्जुलाई ब्राण्डेड लुगा किनिदेका छन् , मलाई पनि पनि त्यस्तै चाहियो। लाज हुन्छ मलाई जान्नँ। भनेर ठुस्कि रा’छ।” आमाले यथार्थ पस्किन्।
श्रीमतीको कुरा सुनेर ऊ थचक्क भुइँमा बस्यो र खुइय्य सुस्केरा हालेर भन्यो, “हे दैव! कस्तो समय आयो नि? छोराछोरीको डिमाण्ड (माग) पूरा गर्दागर्दै यो बुढो हड्डी मक्किने भयो।”
अलिक परबाट गाउँकै सन्तेका श्रीमान्,श्रीमती दुईवटा छोराछोरी लिएर सामान्य दामका लुगाहरू छोराले नयाँ सेतो सर्ट र निलो प्याण्ट, छोरीले पनि सेतै शर्ट र निलो फ्रक लाएर खुशीले बुरुक्कबुरुक्क उफ्रिदै जाँदै थिए। श्रीमतीले नयाँ रातो फूलबुट्टे छिट्को साडी र बुढाचाहिँले पुरानै शर्टप्याण्ट सफासँग धोएर चटक्क आइरन लाएको देखिन्थ्यो।
श्रीमान् एकोहोरो भएको देख्दा शुभद्राले सोधिन् –“के भो ? टोल्हाउनुभो त!”
–“ए सन्तेको परिवारलाई पो कस्तो खुशीको चाड आएछ भनेर हेरेको नि! कति खुशीसाथ छोराछोरी पनि बाउआमासँग रमाउँदै टिका लाउन कतै जाँदै थिए।”
–“अँ त उनीहरूका छोराछोरीलाई त वर्षभरिमा दशैंको लुगा स्कुलको ड्रेसमा टार्दा पनि ती केटाकेटी कति खुशी भका? हो रैछ, दशैं कि करोडपतिहरूलाई रमाइलो कि यस्तै बनीबुतो गर्नेहरूलाई। हामीजस्ता साधरण जागिर खानेलाई त धौधौ! छोराछोरीको मागले नै थलो बसाउँछ। सन्तानले पनि बाउआमाको जीवनस्तर कैले बुझ्लान्? ल उठ्नुस् छोरालाई कसरी हुन्छ मनाएर लैजाउँ।
प्रकाशित: ४ कार्तिक २०७८ ०६:१३ बिहीबार