१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

विद्यार्थीको भावनामा आधारित शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण

शैक्षिक उपन्यास ‘कखरा’ लोकार्पण भएको छ। कवि, गीतकार एवं शिक्षक हरिहर तिमिल्सिनाले लेखेको तथा सिकाइ समूहले प्रकाशन गरेको उपन्यास ‘कखरा’ बिहीबार लोकार्पण भएको हो। सो पुस्तकको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरिप्रसाद लम्साल, आख्यानकार नयनराज पाण्डे, शिक्षिका मल्लिका जोशी, शिक्षाविद् मकुण्ड पोखरेल तथा विद्यार्थीहरुले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरेका हुन्।

अन्तरक्रियात्मक तरिकाले भएको लोकार्पणमा सहसचिव लम्सालले नेपाली शिक्षकहरुले निराशामात्र सिकाएको बताए। उपन्यास ‘कखरा’ विमोचनपछि पुस्तक पढेपछिको धारणा राख्ने क्रममा उनले शिक्षामा सुधारका लागि कसको भूमिका के हुने? भन्ने जवाफ फेला पार्न कखराले सघाउने बताए। ‘शिक्षकले निराशा मात्र सिकाए। आशा सिकाउन सकेन’ उनले भने, अब शिक्षकले राजनीतिक व्यक्तिले जस्तै विद्यार्थीमा आशा जगाउने काम गर्नुपर्छ।’  सो क्रममा उनले शिक्षामा कायम रहेको द्वैध धारणाले शैक्षिक सुधारमा अवरोध खडा गरिरहेको समेत बताए।

उनले शिक्षामा बद्लाव ल्याउनका लागि शिक्षक आफै लाग्नुपर्नेमा जोड दिँदै शिक्षकले अध्ययन गर्न जरुरी रहेकोमा जोड दिए। उनले साहित्यलाई मात्र नभएर शिक्षालाई मन पराउने र शिक्षामा परिवर्तन चाहनेहरुले सो पुस्तक पढ्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा शिक्षिका मल्लिका जोशीले स्कुले शिक्षामा भएका उत्पीडन केलाउँदै बाल मनोविज्ञानमा परेको प्रभावको चित्रण, अनुशासनका नाममा लाडिएको नियम शिक्षण प्रणालीका कमजोरीलाई उपन्यासकारले औंल्याएको बताइन्। उनले बालबालिकाको रूचिलाई ख्याल गर्ने गरी शिक्षा प्रणाली विकास गर्न र असल नागरिक उत्पादन गर्ने शिक्षा प्रणालीको आवश्यकता उपन्यासको विषय बनेको बताइन्।

कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले कखरा उपन्यास सबैले पढ्नुपर्ने, बुझ्नुपर्ने विषय उत्थान गर्न सफल भएको चर्चा गर्दै सजिलो र सरल भाषामा लेखिएको उपन्यास भएकाले शिक्षक, अभिभावक र विद्यार्थीले समेत सहजै बुझ्ने बताए। उनले पाठकलाई जिज्ञासा जगाउँदै उपन्यास अघि बढेकोमात्र नभएर शिक्षाले बिराएको बाटो पहिल्याउनका लागि समेत उपन्यास उपयोगीसिद्ध रहेको बताए।

कार्यक्रममा लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल एवं लेखक मुकुन्द पोखरेल शिक्षामा नभई चेतनामा सुधार आएको उल्लेख गर्दै शिक्षामा सुधारका लागि चिन्तन गर्नुपर्नेमा जोड दिए।  विद्यालयमा अनुशासनको नाममा पढाइलाई निरस बनाइरहेको उल्लेख गर्दै हालको शिक्षा प्रणालीको पुरातन सोच भत्किन जरुरी रहेको सन्दर्भ उपन्यासमा पाएको बताए। शिक्षामा नवप्रवर्तनको विषयको आवश्यकता नैउपन्यासको सार भएको उनको भनाइ छ।

सोही अवसरमा ज्ञानको वास्तविक खोजमा लागेका विद्यार्थीलाई उपयोगी पुस्तक, ज्ञानका लागि पाठ्यपुस्तकले मात्र नपुग्ने विमोचनमा सहभागी विद्यार्थीहरुले जोड दिएका थिए। विमोचनपछि पुस्तकबारे कल्याणविक्रम अधिकारीले शिक्षाका थुप्रै विद्यार्थी सुलभ जिज्ञासाहरूलाई समेटेको बताए। विद्यार्थी जीवनका दैनिकको जीवन्त अनुभूति उपन्यासमा रहेको विद्यार्थी अधिकारीले चर्चा गर्दै उनले नेपालको शिक्षा प्रणालीमा सुधारका पाटोलाई स्पष्ट गरिएको बताए ।

विद्यार्थी स्नेहा झाले आफ्नै कथा बताएको अनुभव गरेको बताइन्। उनले उपन्यासले विद्यार्थीलाई रचनात्मक बनाउनुपर्ने सन्देश रहेको बताइन्। त्यस्तै विद्यार्थी अर्जुन मिजारले उपन्यासले नेपालको शिक्षाको चित्र देखाएको बताउँदै शिक्षाका साँघुरा दायराहरूबारे चर्चा गरे ।

कार्यक्रम सञ्चालक वसन्त बस्नेतले पुस्तकले लेखक तिमिल्सिनाको लेखनीको नयाँ आयाम थपिएको बताए। सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले कखरा शैक्षिक उपन्यास प्रकाशन गर्नुपर्नाका कारण प्रष्ट पारे। उनले नेपाली शैक्षिक र साहित्य क्षेत्रमा योगदान पुर्याउने विश्वास जनाए।

कार्यक्रममा लेखक तिमिल्सिनाले शिक्षा क्षेत्रमा लेखनीमार्फत् पनि सहयोग गर्न उपन्यास लेखेको बताए। उनले सो उपन्यास अभिभावक, शिक्षक र विद्यालयको अनावश्यक दबाब र पेलानमा परेका समस्त विद्यार्थीको भावनामा आधारित रहेको बताए।

प्रकाशित: २१ आश्विन २०७८ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App