७ वैशाख २०८१ शुक्रबार
कला

स्यानी मैले नपढेकै भए हुने थियो कि !

पुस्तक परिचय

नगेन्द्रराज रेग्मी

संसारमा कैयौ मानिसले यो धरतीमा जन्म लिइरहेका छन् र मृत्युवरण पनि गरिरहेका छन्। तर ती सम्पूर्ण व्यक्ति मननीय, स्मृतियोग्य बनिरहन सक्दैनन्। शारीरिक यात्राको अवसानपछि पनि जो आलोकित भइरहन्छन् त्यस्ता मान्छे नै आफ्नो समयका, आफ्नो युगका असल, सफल र महत्वपूर्ण व्यक्ति कहलिन्छन्। 

यस्ता व्यक्तिका स्मृति, विशेषांक र जीवनी सदैव, सबैका लागि सुरुचिपूर्ण हुन्छन्। तिनै व्यक्तिका संस्मरण, जीवन कहानी समाज तथा पाठकले सहज रूपमा ग्रहण पनि गर्दछन् र अरूका लागि समेत प्रेरणा, जानकारीमूलक र अनुकरणीय दस्तावेज बन्न पुग्छन्। यही क्रममा जोडिन आइपुगेको एउटा कृति हो– स्यानी।

आमाको निधन भएको शोकमा लेखिएको यो उपन्यासका लेखक हुनुहुन्छ– खगराज बराल। यो उहाँको पछिल्लो कृति हो। योभन्दा अगाडि उहाँका दुईवटा कृति सीप र सिकाइ तथा सिकाउने शैली मैले आद्योपान्त पढ्ने मौका पाएको थिएँ र त्यसबारे केही प्रतिक्रिया पनि प्रकाशित गरेको हुँ। यदि मैले यी दुई कृति नपढेको भए निकै पछुताउने रहेछु र अहिलेचाहिँ प्रस्तुत उपन्यास स्यानी पढेर पछुताइरहेछु। यसको कारण अरू केही होइन, मात्र मेरो संवेदना हो, पुस्तकले पारेको प्रभाव, असर र पीडा हो। पुस्तकभरि खगराज बराल जत्तिकै म पनि तीव्र भावनामा बगेँ, उहाँसँगै मैले पनि आँसु पुछेँ।

यी रोए पनि दुख लाग्छ यिनले सम्झे कि आमा भनी

यी हाँसे पनि सुख्ख छैन यिनले बिर्से कि आमा भनी।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको गौरी शोककाव्यमा आमाको महत्व यसरी प्रखर र सघन रूपमा प्रस्तुत गरिएको छ। रुँदा पनि आमा सम्झे भन्ने पीर हाँस्दा पनि आमा बिर्से भन्ने पीर। हुन त रोएरै हामी आमाको काखमा पदार्पण भयौ र आमाकै काखमा हाँस्न पनि सिक्यौ। हाँसो र रोदनको यो जीवनरूपी उहापोहमा हेलिन र पार पाउन सिकाउने पहिलो पाठशाला भनेको नै माताको काख हो भन्ने कुरा स्पष्ट छ। यही तथ्यलाई स्यानी उपन्यासले एकपटक फेरि स्मरण गराउन पुगेको छ।

‘आमाको काखमा रहेको बच्चा कहिल्यै दुखी हुँदैन’ अमेरिकी राष्ट्रपति अब्राहम लिंकन भन्ने गर्नुहुन्थ्यो रे। अनि त्यस्तो प्रिय व्यक्तिलाई गुमाउनु पर्दाको पीडा कति अत्यासलाग्दो र विश्मयकारी हुनपुग्छ। यसमा उपन्यासकार मात्र कसरी अपवाद बन्न सक्नुहुन्थ्यो र? 

त्यसैले पुस्तकभरि आमाकै मात्र प्रतिच्छाया देख्न पाइन्छ। आमासँगै लुटपुटिनु भएको छ लेखक, आमासँगै डुल्न जानुभएको छ, आमासँगै मेलापात, घाँसदाउरा, बजार, अस्पताल जताततै डुल्नुहुन्छ उहाँ। क्यामेराले जसरी सर्लक्क सम्पूर्ण कुरा दृश्यमा उतार्छ, त्यसैगरी यो उपन्यासले पनि नेपालको गाउँलाई सर्लक्कै उतारेको छ, कत्ति फरक नपारी जस्ताको तस्तै। 

आञ्चलिकता झल्कने भाषागत चालचलन र बोलीचालीबाहेक नेपालका कुनै पनि ग्रामीण बस्तीका लागि यहाँ प्रस्तुत घटनाक्रमहरू नौला लाग्दैनन्, मानौ उहाँले मेरै गाउँघरका विषयवस्तु टिपिदिनुभएको छ, लेखिरहनुभएको छ।

कतिपय पश्चिमा राष्ट्रका महिलाहरूका लागि स्यानी उपन्यासले धेरै अर्थ नराख्ला तर हाम्रो जस्तो समाजका हरेक आमा स्यानी हुन्। हुन त हामी सबैलाई आफ्नी आमा ठूलो र महान् लाग्दछ। तर यो लाग्दालाग्दै पनि उनीहरूले गरेका दुख, पीडा, कष्ट, बलिदानी, त्याग, संघर्ष र शोषणलाई हटाउनेतर्फ भने हामी किन लाग्दैनौ? यो अहम् प्रश्नलाई हामीले खासै गम्भीरतापूर्वक हेर्न सकिरहेका छैनौ । 

आमाले सन्तान जन्माउनु अघि र पछि तिनै सन्तानका निमित्त गर्नु परेको दुख, कष्ट, आफ्ना रहर, आकांक्षा, व्यक्तिगत प्रगति आदिलाई थाँती राखेर आफ्नो सुन्दर भविष्य, आर्थिक सम्पन्नतालाई समेत तिलाञ्जली दिएर गरिएको अथक कथाको हाम्रो समाजमा कुनै मूल्य देखिँदैन। 

त्यसको गहन, अध्ययन, विश्लेषण गर्नु जरुरी भैसकेको छ । कुनै पनि आमाको एकल प्रयासबाट सन्तान जन्मिदैन, तर आमा भने उसको पालन र भविष्यका लागि चिन्तित हुनुपर्ने अनि बाबुचाहिँ त्यही बच्चालाई सडकमा छाडेर पनि हिँड्न स्वतन्त्र हुने? यो कस्तो हाम्रो सामाजिक संरचना र विडम्बना ? भैले स्यानी उपन्यासमा यी कुराहरू देखाइएका छैनन् तर अन्तर्यमा यी कुराहरू मेरो मानसमा यो पुस्तक पढ्दै गर्दा आए र निरन्तर आइरहे।

आमाको निधन भएको दिनदेखि शुध्द नहुञ्जेलसम्म क्रिया बस्दाका तेह्र दिनका यावत् घटनाक्रमलाई यहाँ उपन्यासले सविस्तार वर्णन गरेको छ। प्रत्येक दिन क्रिया बस्दा केके भयो ? अर्थात् शास्त्रीय विधिविधान अनुसार आफूलाई शिव दाइले केके अह्राए, गराए? आफूले गरेका कृत्यहरूको चर्चासँगै गरुड पुराणभित्रका शास्त्रीय र व्यावहारिक कुराहरूको सटिक व्याख्या र विश्लेषण समेत उहाँले गर्नुभएको छ। 

गरुड पुराणलाई आलोचनाभन्दा समय सापेक्ष रूपमा बुझेमा त्यसभित्र भएका सकारात्मक कुराहरूलाई मनन गर्दा फाइदा नै हुन सक्ने कुरा पनि बडो चित्त बुझ्ने किसिमले उहाँले यसभित्र समेट्नुभएको छ। 

उपन्यासमा आफ्नी आमा स्यानीसँगका अन्तरघुलनहरू प्रत्येक परिच्छेदको फय्ल्सव्याकमा राखिएको छ। उपन्यासको यो नवीनता हो, खास विशेषता पनि हो। यसले गर्दा पाठकले उपन्यासलाई निरन्तर रूपमा जोड्न सफल बनाएको छ, अनि उ विचलित नभई पानाहरू एकपछि अर्काे पल्टाइरहन्छ।

उपन्यास पढ्दा पाठक पनि आफ्नो बाल्यकाल सम्झन पुग्छ । त्यहाँभित्र विभिन्न बालक्रीडा छन्, सांस्कृतिक पक्षका कुराहरू छन् स्वस्थानी व्रत लिएको, बालन, भजन र कीर्तनहरू गाएका, गाई गोठाला गरेको, दाईँ गरेको, विश्वासका कुराहरू छन् कतै त कतै अन्धविश्वास र परम्पराका कुराहरू पनि छन्। 

तत्कालीन समाजको अध्ययन गर्न स्यानीले ठूलो मद्धत दिन्छ भन्ने मेरो ठम्याइ छ। यति हुँदाहुँदै पनि यस उपन्यासभित्र उपन्यासकी नायिकालाई किन तिमी सम्बोधन गरिएको होला? आफ्नी ममतामयी मातालाई आदरार्थी शब्द प्रयोग गर्न उपन्यासकार किन हिचकिचाउनुभयो होला भन्ने मेरो जिज्ञासा रहरिह्यो। 

त्यस्तै स्यानीले चुरोट पिएको कुरा पनि मलाई अलि नराम्रो लाग्यो। शिक्षक जस्तो गाउँको प्रतिष्ठित, ज्ञान र चेतना प्रदान गर्ने त्यो उच्च खानदानकै एक वरिष्ठ सदस्यले चुरोट खाँदा किन कसैले सम्झाउन सकेन भन्ने कुरा मेरो मानसमा उत्पन्न भइरह्यो।

अन्त्यमा खगराज बरालको लेखनमा एउटा छुट्टै विशेषता छ। उहाँ हाम्रो समाजका ससाना कुराहरू टिपेर त्यसमाथि सूक्ष्म परख गरी कलाम चलाउन सिपालु हुनुहुन्छ। हामीले त्यसलाई कहिल्यै देख्दैनौ वा देखेर पनि वास्ता गर्दैनौ, जुन कुरा अत्यन्त महत्त्वपूर्ण हुन्छ। यो उहाँको विशेषता हो। यस्ता ज्ञानवर्धक कृतिहरू पाठकलाई रुचिपूर्ण हुनेछन् भने नेपाली साहित्यका फाँटमा महत्त्वपूर्ण खुराकका रूपमा लिइन्छन्। उहाँको कलमले विश्राम नलिई निरन्तरता पाइरहोस्, हार्दिक शुभकामना सहित।  

कृतिको नाम – स्यानी (उपन्यास)

प्रकाशक – सांग्रिला प्रकाशन प्रालिकाठमाडौं, नेपाल

आवरण – टाइम्स क्रिएसन

संस्करण –पहिलो २०७७ चैत

पृष्ठ –२५७।

प्रकाशित: २१ आश्विन २०७८ ०५:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App