२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

वय पुगेपछि

निबन्ध

बोधराज पौडेल

घामको एक धर्सो छैन। तीन दिन भो कोदे झरी लागेको, अझै कति दिन लाग्ने हो टुङ्गो छै। असोजको पहिलो हप्ता बितिसकेको छ। खेतको धान पोटाउने तरखरमा देखिन्छ। निस्कन थालेका छन् गोदावरीका कोपिलाहरू। एक हुल केटाकेटी दशैं आउन लाग्यो भन्दै रमाएर खेिलरहेका छन्। कोही हाम्रो बाबा काठमाडौंबाट आउँदै हुनुहुन्छ भन्दै साथीहरूलाई सुनाएर मजा लिँदैछन्।

थपिनी काकीलाई चिन्ता लाग्न थालेको छ। वर्षाको समयले धेरैको ज्यान लियो, बाढी पहिरोमा मर्नु दुखद् कुरा हो भन्दै फतफताइ रहेकी छिन् । अब रहे त हुने हो, यो सिमसिमे झरी चिन्ता सबैको यस्तै छ। तर, यो हामीले भनेर कहाँ रहन्छ र अझै कति बिगार गर्नु परेको छ। त्यो नगरी यस्को चित्त बुझ्दैन जस्तो। थपिनी काकीको रोष पनि छ।  यसको मुख्य कारण तीन वर्ष विदेश बसेको छोरो घर फर्किदै गर्नु पनि हो।

गाउँमा खसी बोकाको मोलतोल हुन थाल्यो। धान, चामलको जोहो भएरहेको छ। परदेश गएकाहरूको घर आउन खबर सुनिन थालेको छ । केटाकेटीहरू मेरो बाबा, मेरो काका फलानो दिन आउने भनेर उत्साहमा छन्। विद्यालय बन्द हुनै लागेको छ। नयाँ लुगा र नयाँ नोटको चर्चा हुँदैछ घरमा। जमरे औँसी आउन केही बाँकी छ तर पनि लाग्छ दशैं आइ नै सक्यो जस्तो।

झरीले गर्दा जंगलका जुकाहरू घरमै आइसकेको छन्। ओभानो कुनै ठाउँ छैन्। मुसाहरूले घर खनेर चाल्नो पारेका छन्। मकैका घोगा र खोयाहरू लगेर मुसाले प्वाल भरिसकेका छन्। यस्तो झरीमा पनि खत्री आमाको मनमा आगो बलेको छ। शान्त छैन मन। खत्री आमाले बा केही लागो पो छ कि भनेर धामी बलवीरलाई जोखाना हेर्न लगाइन्। धामीले कुनै दोष नरहेको बतायो।  उनले फेरि अहेवलाई आफ्नो विवरण सुनाइन्, अहेवले सबै राम्रो छ, तपाईंले चिन्ता लिनु भए जस्तो छ, कम गर्नु भने। बाबू दूध उम्लिएझैं उम्लिएर आउँछ, मेरो भित्र के छ ? कसैले पत्ता लगाउन सकेन। म के गरौँ भनेर सुँक्कसुँक्क रोइन्। विचरा अहेवसँग यस्तो कुनै उपाय थिएन्। जुन कुराले उनको मन शान्त होस्।बाहिर  जाडो  भएको अनुभव भएर न्यानो कपडा लाइरहेकी छु। तर भित्र यति जलन छ सबै भिजेको ठाउँ सुकाइसक्यो। मलाई किन यस्तो भएरहेको छ? चिन्ताग्नि जलेको धेरै भो। अझै निभ्ने छाँट छैन। खत्री आमा बर्बराइरहेकिछिन्। पानीले पूरा धर्ती जलमग्न भएको अवस्थामा खत्री आमाभित्र यो ज्वालामुखी कसरी विस्फोटनको तयारी गर्दैछ, त्यो कसैले बुझ्न सकेनन्।

गलेको भुइँ भत्कनु नौलो कुरा भएन। वर्षौ पहिला लगाएको पर्खाल खत्री आमा विवाह गरेको आएको साठी वर्ष पुग्यो र पनि उस्तै थियो। त्यो आज बीच भागबाट भत्कियो। पानीले गरेर भत्केको ठानियो।  त्यस बारेमा कसैले कुनै चासो र शंका लिएनन्। तर, खत्री आमा भने यसरी कहिल्यै नभत्केको पर्खाल कसरी भत्क्यो भन्ने चिन्तामा परिन्। उनको मनले भन्छ, यो अनिष्टको संकेत हो तर परिवारका सदस्य यस कुरालाई मान्न तयार छैनन्। यो पानीले गलेर हो भन्ने सम्झाउन तल्लीन छन्।

परदेश गएकाहरू आए। चौतारामा पिङ हल्लाउन थाल्यो। नयाँ लुगामा पुतलीजस्ता देखिए नानीहरू। कस्को खसी कत्रो र कस्तो छ नानीहरू तर्क गर्न थाले। अब टीकाको दिन आउन यति बाँकी छ सबै जना हातका औँलाहरू गन्न थाले। तर खत्री आमामा कुनै उत्साह र परिवर्तन छैन। सबै उस्तै छ, चैत्रको उराठी दशैंको रौनकले छोएको छैन।

बादलको एक हुल कोसीबाट उठेर माथि जुरेको टाउकोमा पुग्न लागेको छ।  विश्वास छ जुरेले फेटा बाँध्यो भने अझै पानी पार्छ। परापूर्व कालमा किरातीहरूले यसलाई लिब्जु उपो मानेर माले गोरुको भोग दिन्थें रे तर  अहिले सेतो हाँसको चढाउने चलन छ। यहाँ सेतो फूल, अक्षता र सेता पंक्षी मात्र चढाइन्छ। यसको आफ्नै धार्मिक अस्तित्व छ।

सप्तमीको तयार हुँदैछ। फूलपात भित्र्याउन सबै तयारी पूरा भएको छ। त्यसै त केटाकेटी त्यहाँमाथि दशैं रमाउने नै भए। आज पानी अलि रोकिएको जस्तो भएको छ तर हावाहुरी र चट्याङ भने पर्दैछ। वर्षा केही कमी भयो, तर खत्री आमाको मुहार उस्तै छ। बुहारीले नयाँ लुगाका लागि कर गरिन। अहँ उनले मानिनन्। यो सफा छ। मैलो भएको छैन। लुगा मैलो नभईकन अर्को फेर्नु हुन्न। यस्तै भनेर पन्छिन खोजिन्।बुहारीले पनि कर गर्नुको फाइदा नहुने देखेर चुप लागिन्।

बिस्तारै दशैंको नयाँ श्रृङ्खला सुरु भयो। भोलि त घरघरमा खसी काट्ने दिन। नानीहरू खुब रमाएका छन्। कस्कोमा पहिला काट्ने, कोको हेर्न जाने, कस्ले कसरी काट्छ, त्यसको रमितामा रमाउने दिन। (बलीप्रथा राम्रो होइन, तर परम्परादेखि मानिआएको भएर मान्ने चलन छ।) यही चर्चा छ उनीहरूको। भोलि कतिबेला उठ्ने केके गर्न तालिका पनि बन्दैछ। जुठो परेको भैरव काकाकोमा काटमार हुँदैन। विसन र शान्तालाई ककस्कोमा निम्ता गर्ने पूरा तयारी केटाकेटीको हुँदैछ। आनन्द मानेर धर्म बा चोटाबाट केटाकेटीका संवाद सुनिरहेका छन्।

पुराना मान्छेमा एउटा विशेषता हुन्छ। उनीहरू सपनामा देखेको कुरा सार्थक हुन्छ भन्छन्।  माइला बा आफै सधैं गोठमा बस्ने मान्छे। उनको परिवार भनेको नै घरका जहान र वस्तुभाउ थिए। उनको देशपरदेश भनेको यही खेती थियो। उनी यसैमा रमाएका थिए। केही वर्ष पहिला उनीले एउटा कुराको उजागर गरे। गोठबाट हतारहतारमा बिहानका राति घर आए।  उनी घर आउँदा जहान केटाकेटी सुतिरहेका थिए। हैन तिमीहरूले  थाहा पाएनौ कि क्या हो? कान्छाको छोरो जन्मेको बाउले त मलाई गोठमा भन्नुभएको हुनाले म त गोठधन्दा सकेर आएको। माइला बाको कुराले घरका सबै छक्क परे।  गोठ र घरभन्दा धेरै टाढा छ। त्यहाँ कसैले बोलाएको पनि सुनिँदैन र देखिँदैन पनि। यस्तोमा यो राति यो सन्देश कसरी पाए? घरका सबै छक्क परे।

माइला बाले अझ सुनाए छोराको शरीरमा प्रष्ट दाग छ भन्ने। त्यो कुराको अड्कल कसैले अन्धकारमा गरेका थिएनन्। भोलिपल्ट हेर्दा छोराको छातीमा दाग देखियो। बितेका बाले यसरी सपनामा भनेको कुरा कसरी मेल खान आयो। अहिले पनि यो कुराको चर्चा हुने गरेको छ।

धुम्मिएको मौसमजस्तै धुम्मिएर बस्दाबस्दै आज पूर्णिमाको दिन आइपुग्यो। बिहान सबै जना नुहाइधुवाइ गरेर टीका विसर्जनको तयारीमा लागे। टीका विसर्जनको शंखध्वनिसँगै आकाशमा मेघ गर्जियो। यो वर्ष अचम्म भो। यस्तो हिले दशैं कहिल्यै चाल नपाएको बुढाहरूले तमाखुको सर्कोसगै अनुभव बाँडे। धनपति बाले भने दशैंमा यसरी वर्षा हुनु राम्रो मानिन्न। यो अनिष्टको संकेत पनि हो। यसलाई देवी रोएको भन्थें हाम्रा बाजेहरू उनले पुरानो आफूले सुनेको कुरा सुनाए।

चट्याङको झिल्को देखेर सानो नाति डरायो। आमा आगो आयो भन्दै हजुरआमाको काखमा गएर लेपासियो। क्षणभरमा ढोडको थाङ्ग्रो सहित बडहरको रुख जलेको दृष्य आँगनको डिलबाट देखियो। चराहरूले चीत्कार भरें। भुकिरहेका कुकुरहरू शान्त भए। कुनै हलचल भएन। सबै स्थिर भयो। यहीबेला खत्री आमाको चीत्कार निस्कियो, मरे मेरो बाबा। उनले च्यापिरहेको नातिलाई भुइँमा फालेर आफूले लिएको सबै पीरचिन्ता बिसाइनँ। बूढापाकाहरूले भने–  मान्छे धुम्मियो भने यसको वय पुगेको हुन्छ।

प्रकाशित: १२ आश्विन २०७८ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App