११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

भेट्नै नपाई टुंगिएको मेरो ‘लभ एट फस्ट साइट, फस्ट पार्ट’

कथा

सुवास न्यौपाने

उनीसँग एक्कासि त्यो दिन भेट भयो।  डिस्कभर १२५ स्टीलाई बिल्डिङमुनिको पार्किंङ हलको अँध्यारो कुनामा अड्याएर हेल्मेट नै सिउरिएर तलकै गेटबाट हतारहतार माथि चढेको म पहिलो तल्लाकै अन्तिम सिंढी चढेपछि उनीसँग ठोकिन पुगें। हतारहतार हेल्मेटको लक फुकाल्दै विजी मलको भुइँतल्लाबाट पहिला दायाँ अनि त्यसपछि बायाँ घुमेको १०/१२ ओटा सिंढी चढेर माथिल्लो तलामा पहिलो पाइला राख्दै थिएँ। हेल्मेटलाई देब्रे हातमा लिएर दाहिने हातले रेबनको कालो चस्मा टाउकोमा अड्याएर हिँडाइकै गतिमा निलो जिन्सको ज्याकेट र पाइन्टको धुलो झार्दै थिएँ। यो काठमाडौंको धुलो त्यसमाथि बाइकको हिंडाइ के कुरा गरी साध्य र। अचानक कसैसँग ठोकिन पुगेछु अनि कतै परिचित जस्तो लाग्ने आवाजले गाली गर्यो कस्तो मान्छे होला आँखा हेरेर हिंड्नु पनि छैन।

आवाजपट्टि त्यति धेरै ध्यान दिन नपाउँदै फोनको घन्टी बज्यो। पाइन्टको दायाँ खल्तीबाट मोबाइल निकालेर हेरे। चार  मिसकल देखायो दिदीले गर्नुभएको रैछ। कामको भ्याईनभ्याई छ आउने हप्ता मेरो बिहे थियो। रिंग टोनको भोलुम सानो भएर होला थाहा पाइएन। त्यत्तिकै काटियो। एकैछिनमा यसो पछाडि फर्केर मात्रै के हेरेको थिएँ थाहा पाएँ कि अघिको त्यो परिचित आवाज आफैतिर आउँदै थियो पछिपछि, एकछिन अलमलमा परे आश्चर्यचकित भएँ। विश्वास गर्नै सकिन। एकछिनसम्म स्थिर भएर हेरेपछि बल्ल विश्वास भयो कि त्यो आवाज मात्रै परिचित थिएन।  त्यो सम्पूर्ण मानव नै चिरपरिचित थियो। कुनै समयको या भनौँ कुनै समयदेखि कुनै समयसम्मको मेरो सबैभन्दा धेरै परिचित।

र त्यो आवाज त्यही आवाज थियो जुन आवाज मैले मेरी आमाको बाहेक नजिकबाट अनि धेरै पटक सुनेको आवाज हुँदो हो। बिहान उठ्नुअघि अनि राति निदाउनुभन्दा पहिला निरन्तर सुनेको आवाज थियो। कैयौं हिउँदका लामा औंसीका रातहरूमा अनि गर्मीका छोटा पूर्णिमाका रातहरूमा निमेषभर ननिदाईकन सुनेको आवाज थियो। त्यो त्यही आवाज थियो जस्लाई सुन्नका लागि म हरबखत लालायित भैरहन्थे, जुन आवाज सुन्न नपाउँदा मन आहत हुन्थ्यो भने त्यही आवाजको सानो झल्कोले मात्रै ठुलो राहत मिल्थ्यो। त्यो आवाज जो सुनेर न पेट भरिन्थ्यो न नसुनेर मन मान्थ्यो। त्यो आवाज जसलाई न चाहेर भुल्न सकिन्थ्यो न नचाहेर नसम्झिन नै।

दुई घडी फोन अफ भएर त्यो आवाज सुन्न नपाउँदा दुई युग बिते जस्तो भान हुन्थ्यो। १०४ डिग्रीको ज्वरो आउँथ्यो शरीरका पाटपुर्जाहरूले काम गर्दैनथे भोक हराउँथ्यो निद्रा भाग्थ्यो । प्यास टरेर जान्थ्यो अनि मनमा अनेकन शंका पिर र चिन्ताहरूको उदय हुन्थ्यो।

त्यही आवाज सुन्न अनि आवाजसँगै रमाउन कति मिनपचासको चिसो शीतमा कठ्यांग्रियो, कति बर्खे भेल तरियो कति पानीमा भिजियो कति घाममा रापियो, कतिका मकैबारीमा लुकियो, नर्कट घारीमा फसियो कति बनमा बसियो अनि कति पार्कमा पसियो। कलेजका कति क्लास छोडियो कति पटक घरमा ढाँटियो । साथीको आँखा छलियो। आमाको थैलो छामियो। बाउको लात्ती त कति खाइयो कति। ती दिनहरूमा लाग्थ्यो त्यो आवाज बस त्यही आवाज नै एक अभिन्न अंग हो प्राण हो।  जीवन जिउनुको अर्थ बाँच्नुको सार अनि यात्राको आन्नद र जीवित रहनुको सार्थकता हो, लाग्थ्यो त्यो आवाज या भनौं आवाज दिने मान्छेबिना म बाँच्नै नसक्ने त होइन तर बाँच्न मुस्किल हुने परिस्थिति बनिसकेको थियो त्यो आवाज अनि आवाजकी धनीसँग म यति निकट भैसकेको थिएँ कि यस्तो आभास हुन्थ्यो कि उनी नै मेरी हुन्। उनी मात्रै  तर सधैं त्यस्तो रहिरहेन समय बदलियो अनि शक्तिशाली समयको प्रवाहमा हाम्रो सम्बन्ध पनि।

र आज धेरै समयपछि आएर म फेरि त्यही आवाजसँग टकराउन पुगे।नचाहँदानचाहँदै पनि  तर समय बदलिए पनि उनको रूप बदलिएको रैनछ। न मलाई त्यस्तो लागेको पो हो कि, लगभग ३ वर्षपछिको अन्तरालमा द्दण्टठ साल पुसमा म घर पुगेको थिएँ। घर पुगेर झोला बिसाएर खाजा खाइसकेर कौसीमा पुगेँ अनि अगाडिको घरतिर आँखा बढाएँ। त्यहाँ थिइन् उनी। पुसमाघको ठन्डी झन् त्यसमाथि तराईको हुस्सु र बादल अनि समयसमयमा मुटु नै छेड्ने गरी बग्ने चिसो बतास, यही बाक्लो हुस्सुको बिचबाट लुकामारी खेलेर आइपुगेको घाममा आफ्नो चिसो कपाल सुकाउँदै रैछिन्, मेरो तिर, हाम्रो घरतिर पिठ्यूँ फर्काएर। मैले पनि यसै बिचमा एकाएक सम्झिएँ, आफूले त ननुहाएको पनि ७ दिनअघि नै एक हप्ता पुगिसकेछ।हिजो चौधौं दिन पार भएछ। कति योजना बनाएर अनि साहस बटुलेर आज त नुहाउँछु भनेर तम्तयार हुँदा पनि बिहानैदेखि धेरै बादल र थोरै घाम लागेपछि नुहाउने कार्यक्रम हिजो दोस्रो हप्तामा पनि रद्द हुन पुगेथ्यो अनि फेरि मनमनै सम्झिएँ, यहाँभन्दा त उतै तातो थियो। कम्तीमा दिउँस त घाम लाग्थ्यो। उता त नुहाउने ताकत देखाइएन। यहाँ आएर त खोई तर केटीहरूचाहिँ नुहाउँछन्। जति नुहाउँदिन भने पनि महिनाको चार दिन ननुहाई सुखै छैन उनीहरूलाई।

सुवास माताजीले तलबाट बोलाउनुभयो, खै किन थियो कुन्नि मैले एकछिनमा आउँछु भन्दिएँ। धेरै चिसो हावा र  थोरै तातो घामले कपाल सुकाएपछि अनि मलाई आफ्नो पाश्र्वदर्शन गराएपछि उनी उठिन् र कतै नहेरी तल गइन् अनि रातो एउटा ऐना र काइँयो लिएर आइन् र पहिलेकै मुढामा विराजमान भइन् तर यो पटक पूर्वतिर फर्किएर अर्थात् मतिर फर्किएर र मैले उनलाई देखेँ पहिलोपटक बिलकुल नयाँ थिइन् उनी मेरा लागि योभन्दा अघि मैँले पहिले कहिल्यै नदेखेको मैले उनलाई देखेँ पहिलोपटक। क्रमश ...।

प्रकाशित: ११ आश्विन २०७८ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App