लक्ष्मी उप्रेती
कहिले,
जुलुसको झुन्ड हेरेर दम्भ गर्छ
कहिले नारा र भाषणको आवाजमा थर्किन्छ
पैदलयात्रीका लात र वाहनका चाप सहँदै
पेटीका व्यापारीहरूको आश्रय बनेर
भीडमा कोलाहलको गीत गाउँछ।
जिउनुको जिजीविषामा मधुमास फुलाउँदै
सडक गल्ली र पेटीमा वृक्षको उचाइबाट
असरल्ल बैजनी फूल ओकल्दै
धर्तीलाई उदिप्त बनाएर बैंस फुलिरहेछ।
आहा !
यो अनुरक्ति पल
मधुहोस भरेर नशालु गीत गाउँछ
झरीमा रुझ्दै र घामको तापमा रापिँदै
सौन्दर्यको रंगले धर्तीलाई चुमिरहेछ
बैजनी फूलको गलैंचामा जीवन स्पर्श
यसबेला स्निग्ध शान्त छ।
उफ !
रत्नपार्क तिम्रो नियति
दृश्य, स्पर्शको सौन्दर्य भन्नै नसकिने
समयको तरंगमा उभिएर उदांगो
निस्फ्रीकी बाँचिरहेकी स्वास्नीमान्छेजस्तै।
प्रकाशित: ४ आश्विन २०७८ ०७:१५ सोमबार