रामधन वेदना
गाजलु आँखा, लजालु नजर बैंसले भरेकी,
शिरपाउ पहिरन, प्रकृतिजस्तै श्रृंगार गरेकी।
पहाडी पाखामा मनै सिँगार्ने सुनगाभा फुलेझैं,
आफ्नै रूपलाई चिहाई हेर्न आफैले भुलेझैं।
चरक्कै मन चर्काउने गरी लरक्कै परेकी,
शिरपाउ पहिरन प्रकृतिजस्तै श्रृंगार गरेकी।
हेरिरहूँ जस्तो, भेटिरहूँ जस्तो मोहनी लगायो,
मायालु मन मिसाउँदाखेरि भोकतीर्खा भगायो।
यो मन जल्दा चन्द्रमाजस्तै शीतल भई झरेकी,
शिरपाउ पहिरन प्रकृतिजस्तै श्रृंगार गरेकी।
–खोटाङ।
प्रकाशित: २ आश्विन २०७८ ०७:५१ शनिबार