७ वैशाख २०८१ शुक्रबार
कला

मित्रेश्वर अरबपति

लघुकथा

लक्ष्मण अर्याल 

मेरो नाम मित्रेश्वर अरबपति।

म दुःसाध्य रोगको शिकार भइसकेको थिएँ। एक महिनाअघि डाक्टरले मेरो लाइफ लाइन तोकिदिएका थिए। मलाई लाग्यो — म डाँडामाथिको जून हुँ। बिहानीपखको उज्यालोले मलाई अब खर्लप्प निल्नेछ। लगभग छोटो समयभित्र नै म ओछ्यान पर्नेछु। यसैले ओछ्यान पर्नुअघि नै मैले इच्छामरण मन्त्रालयबाट एउटा आवेदनपत्रको नमुना ल्याएँ। डाक्टरको सिफारिसका साथ नाम,थर , ठेगाना, जन्म, जन्मस्थान, पारिवारिक स्थिति, इच्छामरण चाहनुको कारण, इच्छामरणको मिति (साल, महिना, गते, समय) सबै आफ्नै हातले भरेर बुझाएँ। हुन त सुटुक्क आत्महत्या गर्न पनि सकिन्थ्यो, जीवनकालमा धेरैले आत्महत्याबाट जीवनत्याग गरेको पनि देखेको हो तर त्यो लाइनको म सदैव विरोधी हुँ।

आवेदन दिएको लगभग पन्ध्र दिनपछि मैले इच्छामरणको स्विकृति पाएँ। अनुमति पाएको दिन मैले आफूलाई निकै भाग्यमानी पनि महसुस गरें किनकि निवेदन दिएका सबैले यो अनुमति प्राप्त गर्दैनन्। रेकर्डअनुसार बोल्ने हो भने यो विरलै पाइने मध्येको स्विकृति हो।

मेरो देहत्यागको तोकिएको मितिभन्दा एक हप्ताअघि नै कार्यालयबाट दुई जना कर्मचारी आए र निर्णय परिवर्तन गर्न चाहे गर्न सकिने जानकारी पनि सुनाए तर मैले यो चाहिन र उनीहरूले ल्याएका कागजमा सहीछाप गरिदिएँ।

तोकिएको मितिमा म इच्छामृत्यु सदनभित्र प्रवेश गरें। सदनभित्रको विचित्रता अपारको थियो। ॐकार ध्वनिले सदन प्रतिध्वनित बनिरहेको थियो। भित्ताभरि हिमालय पर्वतका सेता शृंखलाहरू थिए। चराचुरुङ्गीका कलरव, झरनाहरूका झरझर र शीतल पवनलहरले एउटा स्वर्गीय आनन्दको प्रत्याभूति ममा भइरहेको थियो। मलाई लाग्यो — मृत्यु डरलाग्दो मात्र हुँदैन रहरलाग्दो पनि हुन सक्छ।

मलाई जानकारी गराइएअनुसार अब मैले मृत्युकक्षमा प्रवेश गरेर एउटा बटन अन गर्नुपर्छ। भित्र पस्नुअघि मैले मेरो अनुभव हस्तान्तरण गरेर जानुपर्छ भन्ने ठानेको छु — यसैले यो लेखनलाई बिट मारेर मात्र मृत्युकक्षमा पस्नुपर्ला। मैले ॐकार ध्वनिको लामो निनाद गुञ्जन गरें। अब म भन्छु — आत्महत्या कायरहरूको रोजाइमा पर्ला तर म कायर होइन। यसैले इच्छामरणको स्वतन्त्रता उपभोग गरेर जाँदै छु। हे सुन्दर धर्ती, तिम्रो अनन्त यात्राको चाहना राख्दै विदा हुन्छु। तिम्रो भलो चाहने – मित्रेश्वर अरबपति।

मित्रेश्वर अरबपतिको यो मृत्युवृत्तान्त पढेर इच्छामरण सदनको नयाँ कर्मचारी जीवन दिनभर तनावग्रस्त बनिरहेको थियो।

प्रकाशित: १ आश्विन २०७८ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App