११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

‘सौन्दर्यमा आमा’माथि चौराही नजरिया

समीक्षा

खेमराज पोखरेल

संयोग

संयोग हो जिन्दगी । आकस्मिक घटनाको परिणति हो जीवन सञ्चालन। त्यस कारण यही संयोगीय आकस्मिकताका कारणले गर्दा मैले ‘सौन्दर्यमा आमा’ लघुकथासङ्ग्रहका सम्पादक ममता मृदुललाई छापा तथा सामाजिक सञ्जालका फलकमा पनि भर्खरभर्खर मात्र याने कि २—४ वर्षदेखि चिन्दैछु। भौतिक रूपले त अझै भेट्ने अनुकूल परेको छैन। गोरखापत्र संस्थानले गरेको लघुकथा प्रतियोगितामा मसहित ममता मृदुल पनि पुरस्कृत भएका रहेछौं। मैले त त्यो पनि बिर्सेको रहेछु । मान्छे चिन्ने सवालमा आफू फेच्चा भएको कुरा मलाई ज्ञात छ। त्यसैले पनि होला हाम्रो भेट भएन। पछि त्यसैउसै सामाजिक सञ्जालमा भेटियौं। ग्फियौं र आफन्तियौं।

अब प्रसङ्ग बदलौँ। प्रभातमणि दीक्षितले सञ्चालन गर्नुभएको डालसस्थित स्रष्टा साँझ अमेरिकाले विविध साहित्यिक कार्यक्रमहरू बग्रेल्ती गरिरहन्छ। यदाकदा म पनि निम्तालुमा पर्छु। कहिले श्रोता वा पर्यवेक्षक, कहिले वाचक त कहिले समीक्षकको विविध भूमिकामा। त्यो भूमिकाका लागि संस्थाले ‘चई’ गरेपछि म पनि हौसिहाल्छु। यो पल्ट विराटनगरलाई मुकाम बनाउनुभएकी ममता मृदुलले सम्पादन गर्नुभएको ‘सौन्दर्यमा आमा’ नामक लघुकथा सङ्ग्रह बारेको कार्यक्रममा समीक्षकको भूमिकामा निम्तिएको थिएँ। कार्यक्रम सञ्चालक अमेरिकाको ओक्लोहामाका प्राध्यापक विश्वराज अधिकारीको यो सदासयताप्रति कृतज्ञ हुँदै निम्तो मान्न उभिएको थिएँ।

सम्पादककै इमेलबाट पुस्तकको पिडिएफ रूप मेरा कम्प्युटरमा उदायो । यो उपलब्धताका लागि आभार व्यक्त गर्दछु। म सोही पीडीएफ पुस्तक उघारेर केही बोल्ने÷लेख्ने जमर्को गर्दैछु। मैले लघुकथा कृतिको समीक्षा गर्न हुने हो वा होइन, त्यो पनि मलाई थाहा छैन। कुन दिन शास्त्रीय पण्डितको फेला परिने हो के थाहा? त्यो बेला म भन्नेछु कि मैले समीक्षा वा समालोचना केही गरेको होइन। पाठकीय अधिकारको प्रयोग गरेको मात्र हुँ। किनकि स्रष्टा र द्रष्टा जत्तिकै सार्वभौम हुन्छ पाठक। यही सार्वभौम पाठकीय अधिकारको पैयाभित्र बसेर गुड्दैछु । अड्कोफड्को तेलको धूप हाल्दैछु। तेलको धूपबाट निस्कने नाक पोल्ने धुवाँको रागका लागि क्षमायाचना गर्दछु। यही प्रसङ्गमा प्रस्तुत कृतिमाथि मेरा चार नजरिया पस्कँदै छु। यसो गर्दा यो सङ्ग्रहमा उनिएका ११२ वटा नै लघुकथाको प्रवृत्ति केलाउने प्रयत्न गरेको छु। तर पनि कुनै लघुकथा आँखामा ओझेल परेर छुटेका भए क्षमा माग्नुको विकल्प मसँग नरहेको व्योहोरा सहृदय अवगत गराउँछु।

पहिलो नजर– कायाको हिसाबमा

मेरो पहिलो नजर कृतिको कलेवर याने कि भौतिक स्वरूपमा परेको छ। किनभने सबैभन्दा पहिले देखिने कुरा नै भौतिक स्वरूप हो। शरीर हो। कया हो। यो वैश्य युगमा भौतिक काया सुन्दर हुनु पहिलो सर्त हो। सामानभन्दा प्याकिङ राम्रो हुनु भनेको वैश्य युगको मान्यता हो। किनकि यो सौन्दर्य पहिचानको युगमा असल विज्ञापन बजार व्यवस्थापन भनेको गुणको मापक हो।

आवरण पृष्ठको अग्रभागमा प्रसिद्ध स्केच कलाकार कृष्ण मर्सानीको एउटी हाँस्तै गरेकी आमाको र छेउमा फुटबल लिएर रमाएको बच्चाको स्केच तस्बिर छ। यो चित्रले शीर्षकको भाव मजाले बोकेको छ। त्यसको मुन्तिर सम्पादन ममता मृदुल भनेर लेखिएको छ। आवरण पृष्टको पश्च भागमा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, डा. विष्णुविभु घिमिरे, सुमन सौरभ तथा सम्पादक ममता मृदुलको भनाइको कटपिस छ। प्रकाशक लघुकथा समाज नेपाल लेखिएको छ। आइएसबीएन ९७८—९९३७—०९२४३२ रहेको यो पुस्तकको प्रकाशन २०७८ सालमा भएको देखिन्छ। मूल्य नेपाली रुपियाँ ३५० लेखिएको पुस्तकमा भित्री १३८ र बाहिरी २२ पेज गरी १६० पृष्ट छन्। ११२ लघुकथा सङ्कलित छन्। विषयसूची वर्णनानु क्रममा राखिएको छ। ऋाफ्नो भूमिकामा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले धेरै व्यक्तिको लघुकथा समेटिएको विषय केन्द्रित पहिलो लघुकथा सङ्ग्रहभन्नुभएको छ। डा. विष्णुविभु घिमिरेले आफ्नो भूमिकामा आमाको शास्त्रीय  महत्त्वमाथि प्रकाश पार्नुभएको छ। त्यसैगरी लघुकथाविज्ञ प्राडा कपिल लामिछानेले सङ्ग्रहभित्रका लघुकथाहरूका प्रवृत्तिमाथि सूत्रात्मक दृष्टि पुर्याउनुभएको छ। यो कर्मले सङ्ग्रहको ओज बढाएको छ। सम्पादक समेत रहनुभएकी ममता मृदुलले आमाको सम्मानका लागि यो काम गरेको भन्दै संलग्न सबैलाई धन्यवाद दिनुभएको छ। पुस्तकको पुछारमा लघुकथाकार सुमन सौरभ, दीपक लोहनी र पर्शुराम घिमिरेका शुभकामनाहरू छन्।

माथिका फिहिरिस्तबाट प्रस्ट हुन्छ कि सङ्ग्रहले भौतिक स्वरूपको बाना पुर्याएको छ। नेपालको सरदर तथा परम्परागत पुस्तकको काया यसले बोकेको छ। राम्रो आवरण छ । लघुकथा इतर सामग्रीको व्यवस्थापन पनि मिलाइएको छ । त्यसकारण कायाका हिसाबमा यो कृति सुन्दर छ। एक दम खोट लाइहाल्नुपर्ने देखिँदैन।

दोस्रो नजर – कृत्य महत्ताको हिसाबमा

नेपाली लघुकथाको संसारमा एउटा अलग पहिचानका साथ यो कृति आएको छ। यो कृत्यलाई स्तुत्य मात्र भनेर पुग्दैन। लघुकथा सङ्कलन गर्ने, सम्पादन गर्ने, शुद्ध पार्ने, सेटिङ गर्ने, छाप्ने, रकमको व्यवस्थापन गर्ने, विमोचन गर्ने तथा लघुकथाकारहरूलाई लेखकप्रति उपलब्ध गराउने, बजार व्यवस्थापन गर्ने, बजारबाट पैसा फिर्ता आउने कृत्य सोचेभन्दा गाह्रो काम हो। गाह्रोभन्दा पनि अस्मेल पहाड हो। यो पुस्तक प्रकाशनको यो जटिल काम सम्पन्न गर्नुभएकाले सम्पादक ममता मृदुलको यो काम भौतिक रूपमा पनि स्तुत्य छ।

मनोवैज्ञानिक रूपमा यो कृत्यलाई महापुराण लगाएको जस्तै ठान्छु म। सम्पादकको मनोवैज्ञानिक धड्कन आमाको मायामा गएको छ।  आमा विषय केन्द्रित कुनै सामाजिक सार्वजनिक काम गर्ने अठोट सम्पादकमा आएको कारणले यो पुस्तक प्रकाशन गर्ने काम भएको छ।सम्पादकको यो अठोट र सार्वजनिक काम गर्ने चेत जस्तो सङ्ग्रह गर्भलाई नमन गर्नै पर्छ। यो समाजमा सबैका आमा छन्। बाउ छन्। ममता मृदुलको यो आमाप्रतिको माया, सदभाव तथा सुकार्य समाजमा नमूना भएको छ। त्यसकारण यो अुनकरणीय कार्य हो।

नेपाली लघुकथा साहित्यको उन्नयनको कडीका रूपमा यो पुस्तक कोसेढुङ्गा भएको छ। याने कि लघुकथाले विधाकेन्द्रित पाटीबाट विषय केन्द्रित बाटाको सुरुवात गरेको छ। धेरै लघुकथाकारलाई एउटै विषयमा डोर्याएर सङ्ग्रह प्रकाशन भएकाले यो कार्य अग्रणी कार्य हो। यसअघि छापिएका विषय केन्द्रित भनिएका एकआध लघुकथा सङ्ग्रह व्यक्तिका निजी मात्र थिए। सामूहिक तथा सार्वजनिक सुखायका लागि थिएनन्। त्यसैले यो ऐतिहासिक कार्य पनि हो । यो सबै झन्झट बोक्नुभएकाले सम्पादकलाई म नमन गर्दछु।

सङ्कलन गर्ने क्रममा केही लघुकथाकार अखडिने कुराको बोझ पनि बोक्नु नै पर्ने हुन्छ सम्पादकले। स्रष्टा स्वाभाविक रूपले घमण्डको पुरिया हो। ऊ आफ्नै कल्पलोकको अन्तरङ्गमा पुक्पुकिएको हुन्छ। यो समस्या सङ्कलक तथा सम्पादकले बोक्नै पर्ने हुन्छ। त्यसपछि सम्पादन कार्य झन् जटिल हुन्छ। सम्पादकको विषयशिल्प, सैद्धान्तिक ज्ञान, सम्पादन चेत तथा विष पिउन सक्ने क्षमता एकै ठाउँमा एकीकृत हुनु आवश्यक हुन्छ। याने कि यो प्राज्ञिक चरण पनिपार गर्नु पर्ने हुन्छ।

कम्प्युटरमा सेटिङ कार्य पनि निकै अपजस्याहा हुन्छ। पीडीएफ बनाउँदा वा फन्ट परिवर्तन गर्दा बिग्रने स्वरूपको जिम्मेवार पनि सम्पादक नै बन्नुपर्ने हुन्छ। त्यसमाथि नेपाली भाषाको भताभुङ्गे हिज्जे प्रणालीले पनि समस्या पारि नै हाल्छ। छाप्ने खर्च, विमोचन खर्च जस्ता खर्चहरूको व्यवस्थापन पनि निकै पेचिलो हुन्छ। त्यसमाथि पुस्तक तयार भएपछि लेखकप्रतिका लागि झन् धेरै समस्या बोक्नुपर्छ सम्पादकले। यी सबै समस्यालाई बोकेर, झेलेर तथा पर्गेलेर यो पुस्तक आएको छ। त्यसैले यो कृत्य नेपाली लघुकथाको फाँटमा एक स्तुत्य कृत्य हो।

 ‘सौन्दर्यमा आमा’ लघुकथा संग्रह

तेस्रो नजर – कृति गुणको हिसाबमा

कृतिको मूल थिम नै आमा हो। आमालाई विविध स्रष्टाले आआफ्ना नजरियाले हेरेका छन्। आमा विषयभित्र रहेर स्रष्टाले आमाका बारेमा अनेकन् पाटोबाट कथावस्तु बुनिएको छ। स्वाभाविक रूपले आमाको बहुरूपमाथि चर्चा गरिएको छ। त्यसकारण कृतिको गुण पक्षको हिसाबमा यो बुँदामा चर्चा गर्ने प्रयत्न गरेको छु।

गुणवत्ताकै हिसाबमा पनि सबै लघुकथाको बारेमा अलगअलग चर्चा गर्न यहाँ सम्भव छैन। यसो गरियो भने अलग ग्रन्थ बन्न सक्छ। त्यसकारण सङ्ग्रहभित्र समेटिएका लघुकथामा प्रस्तुत  भएका आमा विषयभित्रका अनेकन पक्षहरूलाई वा आमा विषयभित्रका मूल प्रवृत्तिलाई मात्र यहाँ उल्लेख गरेको छु।

आमालाई भगवानको रूप मान्ने हाम्रो मान्यता हो। त्यसैले मातृ देवो भवः भनिन्छ। यही थिममा विविध स्रष्टाले आमालाई भगवानको रूपमा चित्रण गरेका छन्। अंकुर चन्द, चिन्तु गिरी, दीपक समीप, राजु क्षत्री अपुरो, विनोद नेपाल जस्ता सशक्त लघुकथाकारले यो कृतिभित्र आमालाई भगवानको रूपमा चित्रण गरेका छन्। त्यसै गरी केही लघुकथाकारले आमाको प्रशव वेदना तथा त्यसले आमालाई दिएको असीमित खुसीलाई आफ्नो लेखनीको प्रवृत्ति बनाएका छन्। अदिति श्रेष्ठ, अनन्त अर्याल, अनुग्रह राना मगरले यो प्रवृत्तिलाई पछ्याएका छन्।

आमाको सन्तानप्रतिको बिनासर्तको मायाको विषयलाई धेरै लघुकथाकार स्रष्टाले विषयवस्तु बनाएका छन्। वास्तवमा आमाको आफ्ना सन्तानप्रतिको माया बिनासर्त हुन्छ भनेर आमाको त्यो मायालु चरित्रलाई उजागर गरिएको छ। आमाको माया तथा मातृत्वको महत्व, मातृस्नेह जस्ता आमाका विश्वविख्यात गुणलाई चित्रण गरेर लघुकथा लेख्ने स्रष्टाहरूमा ईश्वरी राज निर्दोषी, ऋषि तिवारी, उमा सिजापति, प्राडा कपिल लामिछाने, कल्याण पन्त, करुणा ढकाल, कुमुद प्रसाद शर्मा, गोपालबहादुर बस्याल, डा. विदुर चालिसे, पुष्षा सायरा, भीम कोइराला, ममता मृदुल, लक्ष्मी उप्रेती, शारदा घिमिरे भैल, शिव शर्मा, सरण राई, सीता रेग्मी, त्रिलोचन ढकाल, अनु विज्ञाति, कौशिला अधिकारी, खेमराज पोखरेल, जनक सिग्देल, नवराज शर्मा, पर्शुराम घिमिरे, मिलन समीर, लक्ष्मी प्रसाद पौडेल आदि छन्।

अम्बिका खरेल उप्रेतीले आमाको सहनशील रूपको चित्र गरेकी छिन्। विदेसिएका सन्तानकी स्वदेशी आमाको पीडालाई अवतार ढकाल, कुमार काफ्ले, कृष्ण बजगाई, गङ्गा खड्का आदिले उजागर गरी आफ्नो लघुकथाको सामल बनाएका छन्। वास्तवमा यो प्रवृत्ति भनेको वर्तमान आमाको मात्र नभएर पूरै नेपाली समाजको जटिल समस्या हो। इन्दिरा गौतमले आफैं कल्पनामा आमामा रूपान्तरण हुँदाको क्षणलाई मार्मिक तरिकाले उल्लेख गरेकी छिन्। गृहयुद्धमा सन्तान गुमाएकी आमाको पीडालाई इन्दिरा देवकोटाले विषय बनाएकी छिन् भने सासूमा आमाको रूप देख्ने असल सन्देशयुक्त कथानक इन्दु तोदी र निर्मला मुरारीको रहेको छ।

केही लघुकथामा आमाको संस्मरण गरिएको छ। आमालाई संस्मरण गर्ने लघुकथाकारहरूमा कृष्णप्रसाद भण्डारी, कोषवल्लभ रेग्मी, दीपक लोहनी, मधुसुदन घिमिरे, लक्ष्मी बडाल, लोचन रिजाल, विधान आचार्य, हरिगोविन्द भोमी, हेमलता उप्रेती छन्। निकै राम्रो र बान्की मिलेको लघुकथा लेख्ने नवस्रष्टा हेमलता उप्रेतीको हालसालै स्वर्गवास भएको छ । हार्दिक श्रद्धाञ्जली हेमलता!

आमाको रौद्र रूपलाई कृष्ण प्रसाईं तथा लक्ष्मी पोखरेलले आफ्नो लघुकथाको विषय बनाएका छन्। यसै क्रममा प्रगतिशील आमा याने कि समाजमा अग्रगमन चाहने आमाको स्वरूपको चित्रण गर्ने लघुकथाकारमा गङ्गा कर्माचार्य पौडेल, टीकाराम रेग्मी, ध्रुव मधिकर्मी, लक्ष्मण अर्याल आदि छन्। लघुकथा संसारमा आमालाई वृद्धाश्रममा लगेर राख्ने नवप्रचलनमाथि धेरै लेखिएका छन्। यो सङ्ग्रहमा वृद्धाश्रमकी आमाका विषयमा गणेश घिमिरे मार्मिक, चेतनाथ दाहाल, जीवन दाहाल, दीपक खनाल अगम, माधव बिडारीका लघुकथाहरू आएका छन्। गणेश नेपालीको लघुकथामा आमाको विछोडमा तडपाइ छ।

गोपाल निर्भीक, गोम विक्रम, टुकादेवी आचार्य, बाबुराम न्यौपाने उत्स, रामकुमार पण्डित क्षत्री, ललिता दोषी, विश्वराज अधिकारी, विष्णु भण्डारी आचार्यका लघुकथाहरूमा आमाको त्यागको कथा छ। यसैगरी आफ्नो देशलाई आमाको रूपमा चित्रण गर्दे छविरमण सिलवाल, राजेश भट्टराई तथा सुमन सौरभ देखापरेका छन्।

टङ्कबहादुर आले मगर तथा हेमन्त निरौलाका लघुकथामा आमालाई लोककथाको माध्यमबाट देखाइएको छ। विधवा आमालाई विषयवस्तु बनाएका छन् लघुकथाकार दिव्य गिरीले। अन्धविश्वासका चपेटामा परेकी आमाको चित्रण छ तुलसीहरि कोइराला, रञ्जुश्री पराजुलीका लघुकथामा।

यसै गरी कृतघ्न सन्तानकी आमाका पीडा लघुकथाभरि छताछुल्ल भएर आएका छन्। यस्तो आधारभूमिमा लघुकथा लेख्ने लघुकथाकारमा देवेन्द्र अर्याल, नारायण पौडेल, नारायण मरासिनी, बालकृष्ण गजुरेल, वनमाली निराकार, मञ्जुश्री गिरी, महेश प्रसाईं, मुनाल पोखरेल, रचना शर्मा, रेणु अधिकारी, शुषमा चित्रकार, त्रिपुरा पोखरेल खरेल आदि देखिन्छन्। वास्तवमा यो विषय वर्तमानकालको निकै ठूलो चुनौतीका रूपमा देखापरेको समस्या हो।

सन्तानले माया गर्ने आमाको अवस्थाका बारेमा प्रेम पुन मगरले कलम कुदाएका छन् ।

राधा दुलाल कार्कीले आमालाई न्यायको प्रतिमूर्तिका रूपमा चित्रण गरेकी छन्। निशा केसीले आमालाई आफ्ना पतिप्रति समर्पित नारीको रूपमा प्रस्तुत गरेकी छिन्। यसैका क्रममा विद्वेलित आमाको चित्रण पाइन्छ मनिषकुमार शर्मा समितको लघुकथामा। दाइजो प्रथामा आमाको भूमिकाका बारेमा तिखो दृष्टि पुर्याएका छन् पवन आलोकले। प्रिन्स प्रमोदकुमार ढकालले आमालाई दानी पात्रका रूपमा चित्रण गरेका छन्।

कोरोना कालमा आमाको विविध भूमिकालाई उजागर गरेका छन् डा. पुष्करराज भट्ट, रमेन्द्र कोइराला, वन्दना घिमिरे र सीताराम नेपालले। मन्दिरा मधुश्रीको लघुकथामा आमाजस्तो सानीमा हुँदैन भन्ने सन्देशप्रवाह गरिएको छ। बिहे पूर्व सन्तान जन्माउने आमाले पनि चुपचाप कसैले थाहा नपाउने गरी दायित्व पूरा गरेको परिवेश र आमाको महत्तामाथि लघुकथा लेखेका छन् रमेश सुवेदीले। राजन सिलवालले संंस्कारी आमाको याने कि पहाडकी आमाको विषयवस्तु रोजेका छन्। गरिबीले आक्रान्त आमाको कथा रामहरि पौडेलले लेखेका छन्। घर—व्यवहारमा पोख्त आमाको विषय उठान गरेका छन्  रिमबाबु राना मगर तथा श्रीराम राईले।

आमालाई अर्को कोणबाट पनि हेरेका छन् लक्ष्मण नेवटियाले। परपुरुषसँग सम्बन्ध गर्ने आमाको चरित्र उनको विषयवस्तु रहेको छ। विष्णु उप्रेतीले गरिब भएकै कारणले मातातीर्थे औंसीमा आमा भेट्न नजाने छोरीको कथा बुनेका छन्। लाचार आमाको परिवेश निर्माण गरेकी छिन् सत्या अधिकारीले।

मन परेका लघुकथा —  

कसैको कमजोरी नबताई सिकाउनु तथा परीक्षण गर्नु नवआधुनिक मूल्याङ्कन प्रणाली हो।यही परिपाटीलाई सिरानमा राख्दै यो सङ्ग्रहमा समेटिएका लघुकथाहरूमध्ये म आफूलाई मन परेका लघुकथाहरूको नाम लिनु आवश्यक ठानेको छु। आमा जस्तो गहनतम् विषयका बारेमा विविध तरिका वा कोणबाट विविध विचार प्रस्तुत गरेकाले समेटिएका लघुकथा कमजोर हुने सवालै आउँदैन। त्यसकारण प्रारम्भिक कुरा के हो भने समेटिएका सबै लघुकथा दमदार छन्। तर पनि कुनै लघुकथाका कथावस्तु बेजोड छन्। कसैका प्रस्तुति धमाकेदार छन्। कसैको प्रयोजन सुन्दर तथा सुधारान्मुख छन् भने कुनै लघुकथाका बुनौट घच्चीका छन्। यी सबै माथिका अवधारणाहरूलाई आधार मान्दा म व्यक्तिलाई असाध्य मन परेका केही लघुकथा निम्न छन्। यसो भन्दा अन्य लघुकथा कमसल छन् भन्न खोजिएको भने होइन । यो नजरिया मात्र फरक हो।

अनन्त अर्यालको ‘आमाको उपाधि’, इन्दु तोदीको ‘सासू आमा’, प्राडा कपिल लामिछानेको ‘आमाको पिरलो’, कुमार काफ्लेको ‘सपना कतिपय’, कृष्ण बजगाईंको ‘आमा’, चिन्तु गिरीको ‘देवताको खोजी’, चेतनाथ दाहालको ‘आमा’, दीपक खनाल अगमको ‘सन्तानको चिन्ता’, नारायण मरासिनीको ‘मौन प्रश्न’, बाबुराम न्यौपाने उत्सको ‘मृत्युको उपहार’, मनिषकुमार शर्मा समितको ‘कात्रो’, ममता मृदुलको ‘आमा ख्वै ?’, मुनाल पोखरेलको ‘औंठी’, रेणु अधिकारी मौनताको ‘आमा’, लक्ष्मण अर्यालको‘म आमा हुँ’,वनमाली निराकारको ‘उपहार’, विश्वराज अधिकारीको ‘मेरी आमाको बिहे’, विष्णु भण्डारी आचार्यको ‘मातृत्व’, श्रीराम राईको ‘बिल’, सीता रेग्मीको ‘आमा’ लघुकथा मलाई असाध्य मन परेको लघुकथा हो। यी लघुकथामा कथावस्तुको ओजनका साथ बुनौटको झन्झटिलो पक्षलाई पनि सफलतापूर्वक स्थापित गरिएको छ। यसो भनिनुको तात्पर्य लघुकथामा कथावस्तुका साथ बुनौटका सीमा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन् भन्ने हो।

चौथो नजर –कर्मको चुनौतीका हिसाबमा

लुघकथा सङ्ग्रहको भौतिक स्वरूपका हिसाबमा हेर्दा एकदम धेरै खोट लाइरहनुपर्ने अवस्था छैन। सुसुन्दर भनेर पनि बयान गर्न सकिन्छ वा खोट लगाउन पनि सकिन्छ तर राम्रो वा खोटको पनि कुनै मापदण्ड वा जेनिथ छैन। राम्रो भन्नु वा खोट लाउनु तुलना हो। तुलना गर्ने मान्छे याने कि समीक्षकको चेत र निजी विचारको कुरा हो। राम्रो भन्नुको पनि कुनै सार्वभौम मानक छैन। सार्वभौम सत्य होइन। तथापि आवरणको पश्च भागमा भनाइका कटपिस हालेर सुन्दरतामा स्खलन पुगेको हो कि जस्तो लाग्छ मलाई। किनकि तत्तत विद्वानका ती कटपिस भनाइ पुस्तकभित्र नै छन्। नेपालको सामाजिक परिप्रेक्ष्यमा नाम पुजक संस्कृति तथा परम्परा ज्याद्रो भएर नै रहेको छ। यो पुस्तकमा पनि त्यो गुप्त आशय देखिन्छ।

पुस्तकभित्र कतै प्रकाशक लघुकथा समाज भनेर लेखिएको छ भने कतै लघुकथा समाज प्रदेश नं १ भनेर लेखिएको छ। अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा के लेख्ने ? लघुकथा समाज कि लघुकथा समाज प्रदेश नं एक ? अलमलको विषय भएको छ।

यद्यपि नेपाली भाषामा हिज्जेको समस्या धेरै नै छ। विज्ञ भनिएकाहरू नै अलमलिएको अवस्था छ। यस्तोमा शतप्रतिशत शुद्ध छाप्नु निकै चुनौतीपूर्ण काम हो। तर पनि कानुन जानिनँ भन्ने छुट हुँदैन नागरिकलाई भनेजस्तै हरेक नेपाली भाषामा लेखिने/छापिने कृतिमा भाषिक शुद्धता हुनु आवश्यक हो भन्ने ठानिन्छ। यो सङ्ग्रहमा शुद्धाशुद्धिको धेरै ख्याल गरिएको भए पनि नेपाली भाषाको हिज्जेले कतै सताएकै देखिएको छ।

श्रीओम श्रेष्ठ रोदनको भूमिकामा १ सय जना स्रष्टाका लघुकथा भनिएको छ तर पुस्तकमा ११२ जना स्रस्टाका लघुकथाहरू छन्। यो तथ्याङ्कलाई हेर्ने हो भने व्यवस्थापन तहमा केही हतारो वा त्रुटि देखिन्छ। यसको अपजस पनि सम्पादकलाई नै जान्छ।

सम्पादकलाई धेरैवटा चुनौती हुन्छन्। जसभन्दा अपजस नै धेरै हुन्छ। त्यसमाथि लघुकथा सम्पादन निकै जटिल काम हो। अर्काको आख्यानलाई लघुकथा बनाउन निकै गाह्रो काम हो। सङ्ग्रहभित्र समेटिएका आख्यान लघुकथा भयो कि भएन हो वा होइन भनी पर्गेल्नु पर्ने नै हुन्छ। समेटिएका ११२ थान लघुकथाको गुण पक्ष, बुनौट पक्षको जिम्मेवारी सम्बन्धित लघुकथाकारको त हुने भई नै हाल्यो। त्यसमाथि पनि त्यो अपजस सम्पादकले पनि बोक्नै पर्छ । यो बुँदाका आधारमा हेर्दा समेटिएका शतप्रतिशत लघुकथाहरू चुट्किला हुनबाट जोगिएका छन्। यो निकै दर्बिलो विषय हो। यो भनेको लघुकथाको क्षेत्रमा निकै ठूलो उपलब्धि हो। यो सङ्ग्रहमा समेटिएका अधिकांश आख्यान लघुकथा नै बनेका छन्। तर केही लघुकथा भनिएका आख्यानहरू भने लघुकथा बन्न सकेका छैनन्। ती छोटा कथा वा कथांश मात्र भएका छन्। तिनमा कथानक विस्तार भएको छ। उठान, उत्कर्ष रसमापन मिलेको छैन। विपरीत भावमा समापन भएका छैनन्। बुनौटमा बोधा छन्। सम्बन्धित लघुकथाकारले यो कुरा बुझिदिए लघुकथा संसारले झन् शिखर चढ्ने थियो।

उपसंहार –

अब उपसंहारमा आइपुगेको छु। उपंहारमा आइपुग्दा मैले यो कृतिका माध्यमबाट पाएको सारगत तथा रूपगत उपलब्धि निकै महत्त्वका छन्। आमाको विविध स्वरूपका बारेमा विविध तरिकाले लघुकथा लेखिएकाले यो कृतिधन्य छ। यो संसारमा आमा नै यस्तो मान्छे हो जो आफ्ना सन्तानका लागि अनवरत मायाको खानी बर्साउँछन्। त्यसैले आमाको महत्ताको वर्णन गरिएकाले यो कृति स्तुत्य र पठनीय छ। अर्को कुरा के भने नेपाली लघुकथाको क्षेत्रमा नयाँ र स्तरीय लघुकथाकारको जन्म गराउन यो सङ्ग्रहले दर्बिलो भूमिका खेलेको छ। स्थापित भनिएकाको हारमा लपसिक्खा लघुकथाकारले पनि एकदम अब्बल लघुकथा लेखेको पाएको छु। यसो भएकाले यो सङ्ग्रहको प्रकाशनले नयाँ नेपाली लघुकथाको फलकमा दृढ तथा आसलाग्दा लघुकथाकारहरूको उपस्थिति गराएको छ। यसै गरी यो लघुकथा  सङ्ग्रह विषय केन्द्रित विशेष भएकाले यसबाट नेपाली लघुकथालाई माया गर्ने मान्छेलाई अन्य विषय केन्द्रित विषयमा लघुकथा लेख्न प्रेरणा मिल्ने छ। उदाहरणका लागिबा, धरती, महिला, बहिनी, लोग्ने, स्वास्नी, राष्ट्र, राष्ट्रियता, राजनीति केन्द्रित लघुकथाका अलगअलग कृति निकाल्न सकिने बोध भएको छ।

यो कृतिभित्र स्वैरकल्पनाका माध्यमबाट पनि आमाको महिमा गाइएको छ। जुन जटिल कार्य हो। बिम्ब र प्रतीकको प्रयोग भएको छ। यी भनेका लघुकथाका मात्र नभएर सम्पूर्ण साहित्यका गहना हुन्। समेटिएका धेरै लघुकथा उम्दा छन्। फेच्चा ज्यादै कम छन्। यो कुरा भनेको कृतिको याने सम्पादनको सुखद् पक्ष हो। छोटा कथा पनि लघुकथाका नाममा आएका छन्। यसबारे लेखक आफै धेरै सजग हुनुपर्ने देख्छु। सम्पादक पनि सजग हुनुपर्ने देखिन्छ। लघुकथा तथा छोटाकथाका बारेमा बुझियो भने झन् सुन्दर हुने कुरा पनि जाहिर छ। बुझ्नुपर्ने कुरा छोटा हुँदैमा लघुकथा हुँदैन। यो कृतिमा चुटकिला छैनन्। त्यसैले यो उम्दा कृति हो।

नेपाली साहित्यमा लघुकथाले अलग आख्यानको उपविधाको मान्यता पाइसकेको छ। अलग मानक निर्माण भइसकेको छ। यसका लागि धेरै अग्रज स्रष्टा तथा विद्वानबाट धेरै प्रयास भएका छन्। त्यो सामुहिक प्रयासबाट लघुकथाको एउटा स्वरूपको निक्र्यौल भइसकेको छ। यही परम्परालाई उन्नयन गर्ने काममा सघाउँदै यो कृति जन्मेको छ। त्यसैले हजार बाधा पन्छाउँदै यो कृति जन्मेको छ। बधा कति थिए भन्ने कुरा सम्पादक ममता मृदुललाई नै धेरै थाहा छ। जन्माउने प्रसव– वेदना खप्ने सम्पादक ममता मृदुल स्वनाम धन्य हुन्। लघुकथा सङ्ग्रहमा समेटिएका ११२ जना स्रस्टा पनि धन्यवादका पात्र छन्। सम्पादकलाई लघुकथा दिनु वा पत्याउनु पनि निकै ठूलो कुरा हो। सबै स्रस्टामा साधुवाद। भूमिका लेख्ने विद्वान महानुभावहरूले पनि आफ्नो अविचल दायित्वको संस्मरण गरेको झैं प्रतीत हुन्छ।  

यो कृतिको प्रकाशनपछि लघुकथाकार तथा सम्पादकमा लघुकथाको स्तरीयता कायम राख्ने  र स्तरीयता थप्ने चुनौती थपिएको छ। यो चुनौती मात्र होइन, अवसर पनि हो। यो कृतिले धेरै लघुकथाकार तथा सम्पादकलाई हौस्याएको पनि छ र अब अन्त्यमा यस्तो मनोवैज्ञानिक पक्षले पनि उम्दा कृति जन्माउने सबैमा साधुवाद छ। जय लघुकथा

– सेम्टेम्बर ३, २०२१,सानमार्कोस, अमेरिका।

प्रकाशित: २४ भाद्र २०७८ ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App