अमरकुमार प्रधान
यशु श्रेष्ठ नेपाली बालसाहित्य सिर्जनामा कीर्तिमानधारी सर्जक हुन्। किशोरावस्थादेखि हाल तन्नेरी उमेरसम्म उनका बालकथा, बालनाटक, बालउपन्यास, बालगीत, बालकविता गरी एक सय पचास नाघेर पुस्तकहरू प्रकाशित भइसकेका छन्। नेपाली बालसाहित्यमा धेरै नवीन प्रयोगहरू पनि गरेका छन् र ती प्रयोगहरू रुचाइएका छन्। छोटा, मिठा, सरल, सरस र रोचकता उनका कृतिका विशेषता हुन् र यी कृतिहरू बालबालिकाका लागि पठनीय छन्। सँगसँगै शिक्षक र अभिभावकका लागि पनि उतिकै लाभदायी र पठनीय छन् । श्रुतिप्रिय छन्। स्वयं सर्जक यशु श्रेष्ठ बालसाहित्यको श्रीवृद्धि र प्रवद्र्धनमा राम्रोसँग खटेका छन्। नेपाल बालसाहित्य समाजका महासचिवका रूपमा होस् वा कथावाचक समाजका महासचिवको रूपमा किन नहोस्, आफ्ना कृतिका अतिरिक्त अरूका बालसाहित्य सिर्जनाका प्रचारप्रसार र प्रयोगमा पनि दत्तचित्त भएर लागिपरेका छन्। उसो त यशु श्रेष्ठ मात्र कामले वा मात्र नामले वा दुवैले चिनिइसकेका छन्।
‘सर्पको गाउँ’ उनै यशु श्रेष्ठद्वारा लिखित बालकथा सङ्ग्रह हो। यसमा जम्मा ४ वटा कथा छन्। तराईको परिवेशमा जहाँ सर्प वा भनौँ गोमन जस्तो डरलाग्दो विषालु साँपको बिगबिगी हुन्छ, यसैका परिवेश र समस्यामा रचिएको छ यो सङ्ग्रह। चार अलगअलग शीर्षकका कथा भने पनि पात्रहरूको पुनरावृत्ति, एउटै परिवेशले गर्दा लघुउपन्यास भने पनि हुन्छ यस पुस्तकलाई। गाउँको नाउँ किटान गरिएको भने छैन। साँप धेरै लाग्ने तराईको गाउँलाई मात्र चिनाइएको छ।
एउटा पात्रको नाम पुरन छ, जुन मुख्य पात्र नै हो भन्न सकिन्छ। पुरनको आमा अर्थात् माई पनि छिन्। उनको नाम दिइएको छैन। पुरनको छिमेकी, स्कुल पढ्ने साथीहरू निरज, विजुवा, लखनहरू पनि छन्। घाँसदाउरा गर्न जाने बेलामा पुरन र पुरनको माईको मुनिया, मोसी र मोतियाहरू पनि साथी छन्।
पहिलो कथा ‘गम्छा’ शीर्षकको छ। गम्छा लिएर लौका टिप्न जाने पुरनलाई गोमन सर्पले लखेट्छ। डराएर भाग्दै ज्यान कसरी जोगाउँछ त पुरनले ? गम्छा किन चाहियो त त्यहाँ? यसकै कथा छ यो।
दोस्रो कथाको शीर्षक छ, ‘गोमन’। पुरन स्कुल जान ढिला भएकाले खेतको आली हुँदै जान्छ। यसै क्रममा गोमन साँप उसको अघिल्तिर आइपुग्छ। बेकारमा आलीको बाटो आएछु, सर्पदंशको शिकार हुन पो आइएछ क्यार भनेर खुब पिर गरिरहेको बेला पुरन अचम्मले जोगिन्छ। भगवानकै चमत्कार भएछ भन्छन् यो घटना सुन्ने साथीहरूले।
तेस्रो कथाको शीर्षक हो ‘गुँड’। यस कथामा हाम्रा नायक पुरन दाउरा बोकी ल्याउन जङ्गल जान्छ। उसको साथमा आफ्नी आमा, हसिना काकी, रामदयाल चाचा आदि हुन्छन्। दाउराको भारी बोकेर मध्यान्हमा तराईको गर्मी भोक्दै, भोक र प्यास समेतले लखतरान हुँदै एकछिन सुस्ताउन रुखको छहारीमा बस्छन्। पुरनचाहिँ भरसक छिटै घर पुगेर भारी बिसाई, पानी पिएर नुहाउने सुरमा धेरैबेर सुस्ताउँदैन तर उसले बाटामा लखन, बिजुवा, सुरज आदि साथी भेट्टाउँछ, जो रुख चढी, रुखको प्वालमा भएका चराका गुँडबाट बचेरा झिक्न लागिपरेका हुन्छन्। पुरनलाई चाहिँ चराको बचेरा झिक्ने र पोलेर खाने कुरा अलि मन पर्दैन।अर्कोतिर यस्ता गुँडमा साँप पनि हुनसक्छन्, सतर्क हुनुपर्दछ भन्ने धारण पनि राख्छ।
पुरनको माई, रामदयाल चाचा, हसिना काकी सबै जना भारी बोकेर त्यहीँ आइपुगुन्जेल पनि लखनहरू गुँडमा बचेरा पाउने आसमा रुखमै बसी कोसिस गरिरहन्छन्। नभन्दै गुँडबाट साँप निस्कन्छ अनि उनीहरू भाग्छन्। रामदयाल चाचाले रुखमा अड्किएको लखनलाई रुखबाट तल ओराल्छन्।
चौथो कथा ‘गोमन र गाउँ’ हो। यसमा पनि गोमन साँप पुरनकै घरको छानामा देखापर्छ। पुरनकै माई डरले आत्तिएर छरछिमेकलाई गुहार्न पुग्छिन्। राकेश, रामदयाल चाचाहरू भलाले सर्पलाई मार्न खोज्छन् तर साँप प्वालभित्र पसेर यसरी गायब हुन्छ कि धेरै नै खोजी गर्नुपर्ने हुन्छ। खोज्दै जाँदा अर्को गोमन साँप पनि देखापर्छ, त्यो पनि पो हराउँछ। मट्टितेल, फिनेल छर्ने, झासझुस हटाएर त्यसलाई बाल्ने, पिना सल्काउने गर्छन्। खुर्पी, कोदालाले माटो खन्दै, दुला खन्दै जाँदा पनि दुवै साँप फेला पर्दैनन्।
आफूलाई नोक्सान नगरुन्जेल मारिहाल्नु हुँदैन। वातावरण सन्तुलनका लागि साँप पनि चाहिन्छ भन्ने निकिता मिसको भनाइ पनि सान्दर्भिक छ। यद्यपि घरमा साँप घुसेर लुकेको छ भन्ने मनमा लागे डर र त्रासमा बसिन्छ नै। यसैले पुरनको घरमा देखापरेका दुवै वटा साँपको खोजीमा गाउँलेले घर र आँगन सफा गर्दे, मुसाका दुलाहरू सबै खन्छन्। मुसा मारी खान पल्केको साँप मुसाको दुलामा पस्ने कहावत पनि छ। दुवै साँप त पाइएन तर वातावरणचाहिँ सफा भयो।
यसरी ‘सर्पको गाउँ’को कथा रमाइलो तरिकाले टुङ्ग्याइएको छ। बिखालु गोमन साँपकै वरिपरि कथा वा भनौँ लघुउपन्यास घुमे पनि साँपले कसैलाई डस्दैन। सर्पलाई विषय बनाएर एकदमै कम कथाहरू लेखिएका छन्। यो पूर्ण कथा साँपकै वरिपरि छ। सर्जकले असल तरिकाले पस्केका छन्। त्यसैले सर्पको गाउँ सुपाच्य छ।
सुनिल थापाको २५ वटा चित्रले कथाक्रमसहित परिवेश परिचय दिने यो पुस्तक परिचय पब्लिकेशनद्वारा प्रकाशित भएको हो। जम्मा ४० पृष्ठको पुस्तकको मूल्य रु. १३०।– रहेको छ। यो पनि एकदमै समयनुकूल रहेको छ।
भयलाग्दो सर्पको कथा पनि यो कथा पढुन्जेल कतै पनि अनावश्यक भय उत्पन्न हुँदैन। बालसाहित्य भए पनि यसको रोचकता अनुभव प्रौढहरूले पनि उतिकै गर्न सक्छन्। सर्जक यशुको अर्को विशिष्ट विशेषता यो पनि हो।
– दोलखा, हाल –मुम्बई, भारत।
प्रकाशित: २० भाद्र २०७८ ०२:१० आइतबार