१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला

‘बधशाला'लाई फिल्म क्रिटिक्स अवार्ड

काठमाडौं– फिल्म ‘बधशाला'ले २०७० सालको ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड' पाएको छ। चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)ले सालभर रिलिज भएका ९७ फिल्ममध्ये ‘बधशाला'लाई उत्कृष्ट ठहराएको हो। फिक्सनले पहिलोपटक ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड' दिन लाग्दैछ। सशस्त्र द्वन्द्वकालको बेला सैनिक ब्यारेकभित्र राजनीतिक बन्दीहरुलाई दिइएको यातनामा आधारित छ ‘बधशाला।'मनोज पण्डितद्वारा निर्देशित यस फिल्मका निर्माता मोहन डोटेल हुन्। उत्कृष्ट फिल्मको अवार्ड निर्माता डोटेलले प्राप्त गर्नेछन्।
गत जेठमा भएको फिक्सनको बैठकले सात विधामा ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड' प्रदान गर्ने निर्णय गरेको थियो। फिक्सनमा नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत् फिल्म समीक्षक तथा पत्रकारहरुको संलग्नता छ।
फिक्सनका सदस्यहरुको सहभागितामा शनिबार काठमाडौंमा भएको मतदानबाट फिल्म ‘साँघुरो'का जोयस पाण्डे उत्कृष्ट निर्देशक ठहरिएका छन्। सुकुम्बासी बस्तीको झुपडीभित्र नवविवाहित दुलहादुलहीले भोग्नुपरेको ठाउँको अभावमा ‘साँघुरो'को कथा बगेको छ।
जुरी संयोजक अनुप सुवेदीको अध्यक्षतामा सम्पन्न मतदानमा विनोद पौडेलद्वारा लिखित ‘साँघुरो'को पटकथाले अरु दावेदारहरुलाई उछिनेको छ। ‘साँघुरो'को पटकथा पौडेलकै लेखन रहेको छोटो फिल्म ‘अवेकन आइज'को परिमार्जित र विस्तारित रुप हो।
‘मोक्ष'का कोशिस क्षेत्रीले उत्कृष्ट अभिनेता र ‘उमा'की ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाउने भएका छन्। प्रवीण श्रेष्ठको निर्देशन रहेको ‘मोक्ष'मा कोशिसले ‘स्पाइनल कर्ड इन्जुरी'बाट पीडित गायकको भूमिका निर्वाह गरेका छन्। निर्देशक छिरिङरितार शेर्पाको ‘उमा'मा ऋचालाई माओवादी छापामारका रुपमा हेर्न पाइन्छ।
छायांकन विधामा फिल्म ‘बधशाला'का शैलेन्द्रध्वज कार्की उत्कृष्ट साबित भएका छन्। पछिल्लो समय कार्कीलाई राम्रा र बुझेका छायाँकारका रुपमा चिनिन्छ। त्यस्तै ‘कर्कश'का लोकेश बज्राचार्यको सम्पादन उत्कृष्ट घोषित भएको छ। केही दिनपछि एक औपचारिक कार्यक्रममा विजेताहरुलाई अवार्ड वितरण गर्ने योजना फिक्सनको छ।

प्रकाशित: ३१ जेष्ठ २०७१ २३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App