२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

उत्कृष्ट बन्यो नेपाल भाषाको चलचित्र ‘जा मनः गुभाजु’

काठमाडौं–मल्लकालीन तान्त्रिक गुरुको कथामा आधारित नेपाल भाषाको चलचित्र ‘जा मनः गुभाजु’ले नेपाल आदिवासी चलचित्र अवार्ड जितेर १ हजार १ सय ११ डलर नगद पुरस्कार पाएको छ।

नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकाले न्यूयोर्कमा आयोजना गरेको महोत्सवमा यसले उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार जितेको हो।

जा मनः  गुभाजु नेपाल मण्डल (काठमाडौ उपत्यका)का तान्त्रिक गुरु हुन्। उनले आफ्नो तन्त्र शक्तिबाट कान्तिपुरेहरूको दुःख हरण गरेका थिए।

‘उहाँ जीवितै हुनुहुन्छ भन्ने जनविश्वास छ’, चलचित्रका सिनेमेटोग्राफर भवानी शिलाकारले भने।

जेस्सी पेन्नी इन्टरटेनमेन्ट एण्ड वाइल्ड बुल्स प्रोडक्सनले निर्माण गरेको यस चलचित्रका निर्देशक रवि सायमी हुन्। यसमा सुशिल राजोपाध्याय, सरस्वती मानन्धर, उडेन न्यूहँ सायमी, सुलोचना श्रेष्ठ, अन्नपूर्णेश्वरी श्रेष्ठ, पुस्करभक्त माथेमा, ओमशंकर श्रेष्ठ, संघरत्न शाक्य, सुरज व्यञ्जनकार, लक्ष्मीनाथ तिमल्सिना, साकार पन्त र अमिता जोशी लगायत कलाकारले अभिनय गरेका छन्।

यसको पटकथा सुशिल राजोपाध्यायले लेखेका हुन् भने संगीतकार बालकृष्ण वंशी हुन्। त्यस्तै क्यामेरामा भवानी शिलाकार, सम्पादनमा दिपान शाक्य, कलर ग्रेडिङमा श्याम कुँवर र भिएफएक्समा सचिनमान जोशीको समूहले काम गरेको छ।

प्रतियोगितामा विभिन्न भाषाका ७ चलचित्रले भाग लिएका थिए।  महोत्सवमा दश विधामा पुरस्कार वितरण गरिएको थियो जसमा मगर भाषाको चलचित्र ‘ट्याङचालक’की तिला मगर उत्कृष्ट नायिका घोषित भइन् भने लिम्बू जातिको ‘के’ चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ। यस्तै तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट वेशभूषा र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशन पुरस्कार पाएका छन्।

कार्यक्रममा महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए।

प्रकाशित: १४ भाद्र २०७८ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App