१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

प्रयास

लघुकथा

इन्द्रकुमार श्रेष्ठ सरित्

 

ठ्याक्कै चार दिन भइसक्यो सन्तोष इन्तु न चिन्तु  भएर लडेको। उसले चार दिनदेखि पानीबाहेक केही खाएको छैन। दश वर्षीय छोराको यस्तो अवस्थाले यशोदाको आँखा ओभानो छैन। धामीझाँक्री सबैलाई देखाइसकिन् तर व्यथा बिसेक भएन।

लोग्नेलाई दशौपटक हारगुहार गरिन् यशोदाले तर बिरामी छोराको अवस्था देखेन पनि नरबहादुरको मन पग्लिएन बरु ऊ रक्सीको नशामा झुमिरह्यो। दश घर चहारेर यशोदाले कुखुराको खोर रित्याएर पैसा जम्मा पार्दा झमक्क साँझ परिसकेको थियो। कोही साथी नभेटेपछि बिरामी छोरालाई पिठ्यूँमा बोकेर ऊ धरानतर्फ लागी। पछिपछि छोरी सम्झना पनि थिई।

दुई घन्टा जतिको हिँडाइपछि भानुचोक, धरानमा पुगेर यशोदाले रिक्सावाललाई बिन्ती बिसाएर सर्वेश्वरश्री अस्पतालतर्फ लागिन्। रिक्सामा बसे पनि उनको शरीर पसीनाले लपक्क भिजेको थियो। अस्पताल पुग्दा अर्धबेहोसीको अवस्थामा रहेको छोरालाई बोकेर कहिले यता र कहिले उता दौडिँदा–दौडिँदा बल्ल डाक्टर भेटियो। यशोदाले सानातिना थुप्रै ओखती किनार ल्याइन्।

डाक्टर र नर्सले उनलाई बाहिरै बस्न भने। घण्टौं बित्यो। छोरालाई कस्तो छ भनेर उनले पटकपटक सोधिन् तर उनले जवाफ पाइनन्। नर्स निस्केको बेलामा यशोदाले दौडिँदै गएर सोधिन्,‘नानी, मेरो छोरालाई कस्तो छ ? ऊ ठिक त हुन्छ नि?’

‘तपाई धेरै किचकिच गर्नु हुँदो रै’छ, दिदी। के भा’ छ भनेर अइले डाक्टरले भन्नुहुन्छ क्या। अइले चेकअप हुँदैछ।‘– नर्स  गएतिर यशोदाले एकटक हेरेको देखेर छोरीका आँखा पनि टिलपिल भए।

डाक्टर आएको देखेर अश्रुपुरित नजरले हेरिन् यशोदाले।

‘दिदी, हामी प्रयास गर्दैछौ।’ डाक्टरको भनाइ सुनेर यशोदाका दुई हात विनीत मुद्रामा उठे।

प्रकाशित: १३ भाद्र २०७८ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App